मधेशी नेताको होइन मधेशी जनताको भावना बुझ्नुपर्छ: पौडेल

टोकियो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेशका नेताहरुको भन्दा तराई मधेशका जनताको भावनालाई मुख्य राजनीतिक पार्टीहरुले बुझन् जरुरी रहेको बताउनुभएको छ । उहाँले संविधान संसोधन र स्थानिय तहको निर्वाचन गराउनका लागि द्धन्द नभई विपक्षी दल नेकपा एमालेलाई पनि सगै लिएर जानुपर्ने बताउनुभयो।

जापान भ्रमणमा रहनुभएका वरिष्ठ नेता पौडेलको सम्मानमा गैरआवासीय नेपाली संघ जापानले आयोजना गरेको कार्यक्रममा बोल्दै स्थानिय जनताको भावना बुझेर सिमाङकनको बिषय टुंगो लगाउनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो–‘प्रदेशको सिमाङकन हेरफेर गर्दा पनि र स्थानिय तहको सिमाना तय गर्दा पनि स्थानियको भावनाको कदर गर्नुपर्छ अन्यथा समस्या आउछ ।’

वरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयनका लागि संविधान संसोधन आवश्यक रहेको भन्दै सवैले संविधान संसोधनमा सहयोग गनुपर्ने धारणा राख्नुभयो । संविधान जारी गर्ने बेलामा कांग्रेस एमाले र माओवादीका नेताहरुले संसदको रोष्टममा उभिएर संविधान संसोधनको प्रतिबद्धता जनाएको भन्दै संसोधनका लागि तीनै पार्टी एक ठाँउमा आउन जरुरी रहेको स्पष्ट पार्नुभयो।

उहाँले लोकतन्त्र भनेको सवै नागरिक सम्मानित ढंगले बाँच्न पाउने व्यवस्था भएकाले समावेशीताको सुनिश्चित गर्न आवश्यक रहेको बताउदै भन्नुभयो–‘मधेशी जनतामा उग्र भावना छैन, तर लोकतन्त्रमा सवै सम्मानित हुनुपर्छ । त्यसकारण हामीले समावेशीताको सुनिश्चित गर्न आवश्यक छ।’

वरिष्ठ नेता पौडेलले साँघुरो विचार र कमजोर मानसिकताले नेपालमा केहि गर्न नसकिने भन्दै नेपाल विविधता बीचको एकताको देश भएकाले मधेशी जनतामा आफुहरु हेपिएको भन्ने भावनाको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले मधेशी विगतको शासन व्यवस्थामा हेपिएको बताउदै लोकतन्त्रको स्थापना पछि क्रमश हट्न थालेको स्पष्ट पार्नुभयो।

वरिष्ठ नेता पौडेलले नेपालको राष्ट्रियताका बारेमा धेरै पहिले देखि नै थरिथरि कुरा हुने गरेको भन्दै अति राजनीति र अतिवादी राष्ट्रियताले मुलुकको उन्नती संभव नुहने धारणा राख्नुभयो । कार्यक्रममा नेकपा एमालेका नेता किरण गुरुङ, नेपाली कांग्रेसका नेता एंव सांसद राजन केसी, एमाले नेता राजन राईको पनि सहभागिता रहेको थियो। (रासस)





Comments

comments

Leave a Reply

15269