अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध निकासी

अन्नपूर्ण संरक्षण क्षेत्रबाट प्राकृतिक स्रोत साधन अन्य क्षेत्रमा लान पाउने अनुमति छैन । संरक्षण क्षेत्रका स्थानीयले भने अनुमति लिएर उपभोग गर्न पाउने व्यवस्था छ।

अर्जुन गिरी / एचकेनेपाल डट –
पोखरा, १६ मंसिर । नियमनकारी निकायले अनुगमन नगर्दा अन्नपूर्ण संरक्षण क्षेत्रबाट ढुंगा अवैध निकासी हुने गरेको छ । संरक्षण क्षेत्रबाट अवैध रुपमा ढुंगा कटिङ पिस निकासीका क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ । घान्द्रुक लैजाने अनुमति लिएर हेम्जा पुर्याएको भन्ने सूचनाको आधारमा प्रहरीले ट्रकसहित २ जनालाई पक्राउ गरेको हो।

अन्नपूर्ण संरक्षण क्षेत्रबाट प्राकृतिक स्रोत साधन अन्य क्षेत्रमा लान पाउने अनुमति छैन । संरक्षण क्षेत्रका स्थानीयले भने अनुमति लिएर उपभोग गर्न पाउने व्यवस्था छ । तर एक ठाउँ तोकेर अन्यत्र लगि बेचेको पत्ता लागेपछि प्रहरीले दुई जना व्यक्तिसहित ढुंगा कटिङ पिस ल्याएको ट्रक नियन्त्रणमा लिएको हो।

अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा ढुंगा कटिङ पिस बेचविखन भएको भन्ने खबर वडा प्रहरी कार्यालय बगरमा आयो । खबर पाउन साथ वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक किशोर लम्सालले प्रहरी टोली खटाए । घटना मंसिर १३ गतेको हो । प्रहरी टोली सार्दिखोला–१ भुर्जुङखोलाबाट आउदै गरेको एउटा ट्रकलाई पुरुञ्चौर–१ मा रोक्यो । ग१ख ६६६७ नम्बरको ट्रकले ६ हजार २ सय वटा ढुंगा कटिङ पिस ल्याएको रहेछ । प्रहरीले ‘कहाँ लैजाने ?’ भनेर प्रश्न गर्यो । ट्रक चालक घान्दु्रक गाविस–२ फुलिवाङ लाग्ने बताए।

‘होइन होला झुट बोल्ने’ भनेर प्रहरीले थर्काएपछि चालक धनबहादुर रानाले एउटा पत्र देखाए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङको चलानी नं ९५ को पत्र प्रहरीको हातमा पर्यो । पत्रअनुसार सार्दिखोला–१ भुर्जुङखोलाकी यमकुमारी गुरुङबाट २० हजार पिस ढुंगा घान्दु्रक फुलिवाङ लैजान पाउने उल्लेख थियो । निकास गर्नको लागि छुट पुर्जी देखेपछि प्रहरीले पुन ः प्रश्न गर्यो ‘पत्रमा लेखेकै ठाउँमा लैजाने हो त?’ । ‘हो सर त्यही लाने हो’ चालकले उत्तर दिए।

सार्दीखोलबाट लामाचौर बगर, हेम्जा, कास्की नौडाँडा, लुम्ले, नयाँपुल विरेठाँटी हुँदै घान्दु्रक २ फुलिवाङ पुर्याउने रुट रहेछ । मंसिर ९ देखि १३ गतेसम्म (५ दिन ) भित्र २० हजार वटा ढुंगा कटिङ पिस लाग्ने अनुमति इलाका संरक्षण कार्यालय ल्वाङका प्रमुख यमबहादुर गुरुङले दिएका थिए।

पत्रमा उल्लेख गरिएको ठाउँमा नभइ अन्तै अवैध रुपमा ढुंगा निकास भएको पक्को खबर पाएको वडा प्रहरी कार्यालय बगरले चालकसहित ट्रक नियन्त्रणमा लियो । प्रहरीले गलत गरेको भन्दै यमकुमारीको पक्षमा रहेको सार्दिखोलाका व्यक्तिहरु बगर प्रहरी कार्यालय पुगे।

त्यसपछि बगर प्रहरीले पत्रका उल्लेख गरिएको अनुसार घान्दु्रक फुलिवाङमा ढुंगा पुर्याएको छ छैन भन्ने कुरा पत्ता लगायो । हुन पनि घान्दु्रक ढुंगा नपु¥याएर हेम्जामा बेचेको खुल्न आयो । त्यसपछि यमकुमारीका पक्षमा आएका मानिस सुरुक घर फर्किए । यमकुमारी र चालकसहित ट्रकलाई वडा प्रहरी कार्यालय बगरले नियन्त्रणमा लियो।

यमकुमारीले यसभन्दा अघि पनि यसरीनै अन्नपूर्ण संरक्षण क्षेत्रबाट ढुंगा अन्तै बेच्दै आएको स्थानीय बताउँछन् । एउटा ठाउँ तोकेर पुर्जी लिने र अन्तै बेच्ने उनको पुरानो धन्दा हो । सामान्यतय अन्नपूर्ण संरक्षण क्षेत्रमा एउटा ढुंगा कटिङ पिसलाई १६ रुपैयाँ पर्छ भने उनले सो क्षेत्र भन्दा बाहिर लगेर २२ देखि २४ रुपैयाँ सम्म बेच्ने गरेको एक स्थानीय बताउँछन् । ‘पाँच दिनको पुर्जी दिए पनि एक्यापले अनुगमन गर्दैन,’ स्थानीयले भने, ‘एक ट्रिपमा कति लगियो कसले हो अनुगमन गर्ने?’

अवैध रुपमा कटिङ पिस ढुंगासहित दुई जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बगरका प्रमुख किशोर लम्सालले बताए । ‘अन्नपूर्ण संरक्षण क्षेत्रबाट ढुंगा अन्तै बेच्न लगेको भन्ने सूचना पाएपछि पक्राउ गरेका हौ,’ उनले भने । पक्राउ परेका दुई जनालाई एक्यापको जिम्मा लगाएको उनले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङका प्रमुख यमबहादुर गुरुङले नियम पुर्याएर माग गरेपछि छोडपुर्जी दिएको बताए । ‘यमकुमारीले आफ्नो निजी जग्गाबाट निकालेको ढुंगा कटिङ पिस घान्द्रुक आफन्तको घर बनाउन भनेर अनुमति मागेकी थिइन्,’ उनले भने, ‘सबै प्रक्रिया पूरा गरेपछि नदिने भन्ने कुरै भएन ।’ यमकुमारीले सुरुवातमा १ लाख पिस माग गरेकोमा २० हजारको अनुमति दिएको उनले बताए।





Comments

comments

Leave a Reply

15271