संयुक्त किराँत समाज बेल्जियमद्वारा नेताहरुलाई सम्मान

एचकेपाल डट कम संवाददाता –
बेल्जियम। पूर्बमन्त्री तथा संघिय समाजबादी पार्टी नेपालका महासचिब राजेन्द्र श्रेष्ठले नेपाल जस्तो बिबिध जातजाति भाषा र धर्मसंस्कृति भएको देशमा संघिय राज्य ब्यबस्था नै उपयुक्त हुने बताएका छन्।

बेल्जियमको ब्रुज शहरमा संयुक्त किराँत समाज बेल्जियमले नेपालबाट आएका आदिबासी जनजाति शीर्षस्थ नेताहरुको सम्मान कार्यक्रममा बोल्दै सानो भूगोल भएको यहि राष्ट्र बेल्जियम र स्विटजरल्याण्डलाई बुझ्दा पनि भाषा, जात र भूगोल जस्ता सबै बिषयको आधारमा संघियता सफल भएको उदाहरण दिए। ठूलो संघिय राज्य भन्दा सानो संघिय राज्य सफल भएको थुप्रै प्रमाणहरु पेश गर्दै सानो राष्ट्रमा संघियता आवश्यक छैन भन्ने संघियता बिरोधीहरुलाई राम्रो जवाफ दिएका थिए।

त्यसैगरि युबासंघका पूर्वअध्यक्ष तथासमाजबादी पार्टीका उपमहासचिब अजम्बर काङ्गमाङ्ग किराँतले बसाइसराइ भै बेल्जियममा वस्ने नेपालीहरुले आफ़्नो ज्यान मात्र लिएर आएका छैनन् संगसंगै आआफ्नो भाषा धर्मसंस्कृतिसहित नेपाली पहिचान पनि लिएर आएको बताए। त्यसैले त्यसलाई सधै बचाई राख्न र सधै नेपाललाई माया गर्न अनुरोध गर्दै नेपालमा संघियताले देश बलियो र समृद्दि बनाउछ भन्ने धेरै उदाहरणहरु समेत पेश गरे।

समाजबादी पार्टीका केन्द्रिय सदस्य र विदेश बिभाग प्रमुख चर्चित नेता आङ्गकाजि शेर्पाले शोषित उत्पीडित जाति बर्गसमुदायको हक अधिकारको कुरा गिरिजाप्रसाद कोइरालाहरु र अन्य नेताहरुले गर्दा हुने र तिनै कुरा हामी उत्पीडित आदिबासी जनजातिले गर्दा साम्प्रदायिक र बिखण्डनकारी हुने? त्यसैगरि ति नेताहरुले एकल हिन्दु राष्ट्रको कुरा गर्दा केही नहुने हामीले सबै जाति भाषा धर्मसंस्कृतिले समान हकअधिकार पाउनु पर्छ भन्दा साम्प्रदायिक र एकता बिरोधी हुने? भन्दै यो कुन खाले सोच हो भन्ने प्रतिप्रश्न गरे। आफूलाई क्षेत्री बाहुनको रगत चाट्ने आरोप लगाएर भ्रम फैलाउने प्रयाश गरेको दाबी गरे। मित्रहरुलाई यस्ता कुरा कुन सार्बजनिक ठाउँमा भनें? यसको प्रमाणित गरिदिएमा तुरन्तै राजनीति गर्न छोडी दिने बताए। आफूलाई दशैंमा बलिदिने धम्की आइरहंदा आफू रत्तिभर नडराई उत्पीडित जाति बर्गसमुदायको हकअधिकारको लागि हाँसीहाँसी बलिदानी दिन पछि नपर्ने शेर्पाले बताए।

एभरेष्ट समाज ब्रुजका महासचिब कमल सिटौलाले लिम्बुवान संघिय राज्यमा सबैको लागि समान हकअधिकार सुनिश्चित हुने हो भने संघिय लिम्बुवानमा बस्न मलाई कुनै आपत्ति नहुने बताए। अर्का बक्ता किराँत समाजकै अग्रज मणि कु. राईले हाम्रो किराँत समाज कुनै राजनीतिक पार्टीसंग आबद्द नभै बिशुद्द सामाजिक संगठन हो तथापि हामीहरुले नेपाली जनता र राष्ट्रको हितमा सधै चासो र चिन्ता लिने गरेको हुँदा नेताहरुसंग भेटघाट र सम्मान कार्यक्रमको आयोजना गरेको बताए। अहिले सम्मकै सबै नालायक शासकहरुले बिभेदै विभेदको अन्यायी एकलौटी शासन गरेको कारणले नै आज डा. सिके राउतहरुले छुट्टै तराई राज्यको माग र दिपक रौनियारले नेपाली बोल्न नजान्ने नेपाली हुनसक्छ कि सकदैन? भन्ने जस्ता ज्यादै विचारणीय गम्भीर सवालहरु उठाउने मौका मिलिरहेको बताए। अब पनि शासकहरुले बुद्धि पुर्याएर काम गर्न सकेनन् भने सवालहरु ब्यबहारमा परिणत हुन बेर लाग्ने छैन र देशले ठूलो आपत्ति व्यहोर्नु पर्ने बताए।

बिभिन्न संघसंस्थाका प्रमुख व्यक्तिहरु, बौद्ध धर्मगुरु र पत्रकारहरुको उपस्थितिमा थुप्रै बक्ताहरुबाट नेपालको वर्तमान संक्रमण अवस्थामा गणतन्त्र, संघियता, पहिचान, धर्मनिरपेक्षता, समाबेशिता र संबिधान जस्ता महत्वपूर्ण बिषयहरुमा गहन बिचारहरु व्यक्त गरिएको थियो।

कार्यक्रम किराँत समाजका अध्यक्ष मुना राईको अध्यक्षतामा संस्थाका सल्लाहकार माकुना लिम्बु किराँतले संचालन सञ्चालन गरेका थिए। कार्यक्रममा नेताहरुलाई महिला उपाध्यक्ष इन्द्र माया लिम्बु, महासचिब कविन्द्र लिम्बु र अध्यक्ष मुना राईबाट शीर्ष नेताहरूलाई खादा र सम्मान पत्र प्रदान गरिएको थियो भने संस्थाका अर्का बरिष्ठ उपाध्यक्ष बिमल सुब्बाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए।





Comments

comments

1571