नाटक खेल्दाखेल्दै यसरी गयो विष्णुभक्त फुयाँलको ज्यान

काठमाडौं: राजधानीस्थित सांस्कृतिक संस्थानको रंगमञ्चमा पौराणिक नाटक ‘याज्ञवल्क्य’ मा अभिनय गर्दागर्दै मंगलबार पाका कलाकार विष्णुभक्त फुयाँलको निधन भएको छ । सत्यमोहन जोशीकृत नाटकमा ब्रम्हर्षि राजा जनकको भूमिकामा रहेका ७९ वर्षीय कलाकार फुयाँलले रंगमञ्चमै देहत्याग गरेका हुन् ।

सोमबारदेखि मात्र मञ्चन सुरु भएको नाटकमा राजा जनकको ब्रह्मसभा देखाइएको मञ्चमा महर्षिहरू आफूलाई विद्वान् साबित गर्न तर्क दिइरहेका थिए । विद्वान्हरूबीच प्रतिस्पर्धा चलिरहेको थियो । सबैले आफ्नो विद्वता प्रस्तुत गरेपछि राजा जनकलाई अन्तिम सम्बोधनका लागि मन्त्रीले अनुरोध गरे ।

सम्बोधनका लागि जुरुक्क उठेका ‘राजा जनक’ अर्थात् कलाकार फुयाँलको खुट्टा कामिरहेको थियो । उनले मन्त्रीलाई दुईतीनपटक कोट्ट्याए अनि मन्त्रीकै काँधमा टाउको अड्याए । कथाविपरीत फुयाँलको क्रियाकलाप देखेर दर्शक र सहकर्मी कलाकार अचम्मित भइरहेकै बेला अचानक मञ्चलाई पर्दाले छोप्यो । नाटक रोकिएको समाचार आयो । कलाकार फुयाँल मञ्चमै अन्तिम सास लिइरहेका थिए।

राजाको अन्तिम सम्बोधनमा उनले उठेर बोल्नुपर्ने दृश्य थियो । नबोली सँगै बसेका कलाकार आरबी रिजाललाई कोट्ट्याउँदासम्म फुयाँलले नाटकमा ‘इम्प्रुभाइज’ गरेछन् भन्ने सोचेका कलाकारहरू उनी ढलेपछि भने झस्किएका थिए । तुरुन्त नाटक रोकेर साढे पाँच बजे उनलाई वीर अस्पताल पुर्‍याइएको थियो । ६ बजेर दस मिनेटमा अस्पतालले उनलाई मृत घोषणा गर्‍यो । अस्पतालले उनको निधनको कारण हृदयाघात भएको उल्लेख गरेको छ।

मञ्चमा जानुअघि फुयाँल चिया खाँदै ठट्टा गरिरहेका थिए । सहकर्मी तथा कलाकार शिरोमणि दवाडीले अन्नपूर्णसँग भने, ‘दुःख लागेको छ तर उहाँ सधैं नाटकमै मर्न पाए हुन्थ्यो भन्नुहुन्थ्यो । उहाँको चाहना पूरा भयो।’

फुयाँलको निधन उनलाई सपनाजस्तै लागिरहेको छ । उनको सम्बोधन गर्ने पालोभन्दा अघि नाटककै एक महर्षि पात्रको हृदयाघातकै कारण मृत्यु भएको दृश्य थियो । चलचित्र र टेलिचलचित्रमा रुचाइएका उनी हाँस्य टेलिचलचित्र ‘तीतो सत्य’ बाट बढी चर्चामा थिए । ‘तीतो सत्य’ मा ‘योर माई लभ बा’ को चरित्रले उनलाई चिनाएको थियो।

फुयाँलले २०१९ सालमा नेवारी नाटक कर्मया भोगमा ज्यापु केटी र पुरेतको अभिनय गरेर रंगमञ्चयात्रा सुरु गरेका थिए । २०३१ सालमा मुकुन्दकिशोर भट्टराईको लेखन र निर्देशनमा राष्ट्रिय सभागृहमा उनले ‘सुकुलगुन्डा’ प्रहसन गरे । त्यसपछि नाटक ‘भत्केको सपना’ र ‘इज्जत’ मा काम गरे।

पञ्चायतकालमा सरकारको गलत कामहरूको भन्डाफोर गर्ने खालका नाटक प्रस्तुत गरेका फुयाँलले मजदुरका पक्षमा नाटक लेखन र निर्देशन गर्ने काम पनि गरे । २०४४ सालदेखि सुनिल पोखरेलसँग भेट भएर आरोहण समूहमा आबद्ध भए उनी । आरोहण गुरुकुलमा उनको अन्तिम नाटक ‘इडिपस रेक्स’ थियो । साँढे पाँच दशक लामो रंगमञ्चयात्रामा उनले सबैभन्दा बढी सडक नाटकमा काम गरेका छन्।

उनका तीन छोरा छन् । कुसुन्तीस्थित छोराको घरमा पनि कहिलेकाहिँ बस्ने फुयाँल केही समययता महांकालस्थित घरमा बस्दै आएका थिए । फुयाँलको निधनपछि सांस्कृतिक संस्थानले आयोजना गरेको नाटक ‘याज्ञवल्क्य’ मञ्चन स्थगित भएको जानकारी संस्थानका महाप्रबन्धक राजेश थापाले दिए । थापाका अनुसार फुयाँलको पार्थिव शरीरलाई बुधबार बिहान ११ बजेदेखि दुई बजेसम्म श्रद्धाञ्जलिका लागि कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा राखिनेछ। अन्नपूर्णपोष्टमा खबर छ।

हङकङमा नेपाली झाँकी – यो नेपाली शिर उचाली संसारमा लम्किन्छ…(हेर्नुहोस् भिडियो)

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

15775