राष्ट्रपति भण्डारीको छोरीको बिहेमा यसरी भए पूर्वराजा ज्ञानेन्द्र हिरो…

शीतलनिवासमा अघिल्लो दिनसम्म राष्ट्रपति विद्या भण्डारीकी छोरी र पूर्वसांसद् किरण यादवका छोराबीच हुने बिहेको चर्चा थियो तर सोमबार भने अधिकांश आगन्तुकको जिज्ञासा थियो- निम्ता मान्न पूर्वराजा शीतलनिवास आउलान् कि नआउलान् ?

राष्ट्रपति कार्यालयको कोसीहलमा विवाहित जोडीलाई बधाई र शुभकामना कार्यक्रम भइरहँदा सोमबार धेरैको चासो ढोकाबाहिरै थियो । धेरैजसो पाहुना तथा सहभागी एकआपसमा जिज्ञासा राख्थे, ‘पूर्वराजा कति बजे आउँछन् ? ‘ राष्ट्रपति कार्यालयका कर्मचारी पनि भन्दै थिए, ‘उहाँ आउने कार्यक्रम छ ।’

लामो समय राष्ट्रप्रमुख भएका पूर्वराजा ज्ञानेन्द्र धेरैको उत्सुकतालाई चिर्दै सोमबार मध्याह्न साधारण निम्तालुसरह शीतलनिवास प्रवेश गरेर वरवधुलाई बधाई दिए । त्यसपछिका २० मिनेट पूर्वराजा नै त्यहाँका प्रमुख आकर्षण बनिरहे । उपस्थित धेरैले मोबाइलबाट उनको तस्बिर खिचे ।
….
….
मध्याह्न १२ बजेर ३५ मिनेट जाँदा राष्ट्रपति कार्यालय पुगेका पूर्वराजा गाडीबाट र्ओलिएर सीधै कोसीहल प्रवेश गरे । त्यसबेला राष्ट्रपति भण्डारी विवाहित जोडीसँगै बधाई र शुभकामना ग्रहण गर्न व्यस्त थिइन् । पूर्वराजाले वरबधुलाई बधाई र शुभकामना दिए । त्यसपछि भण्डारीसामुन्ने पुगे । दुवैले एकअर्कालाई नमस्कार गरे । ज्ञानेन्द्रले राष्ट्रपतिलाई पनि बधाई दिए । जबाफमा उनले ‘धन्यवाद’ भनिन् । यत्तिमै सकियो बधाई कार्यक्रम!

राष्ट्रपतिले पूर्वराजालाई दिवाभोजमा सरिक हुन हातले इसारा गरिन् । उनको सचिवालयका सहयोगीले दिवाभोजतर्फ लिएर गए । राष्ट्रपति कार्यालयको पछाडिपट्टिको बगैंचामा दिवाभोजको व्यवस्था थियो ।पूर्वराजा बगैंचातर्फ निस्कनासाथ एउटै टेबुलमा देखिए राप्रपा अध्यक्ष कमल थापा, उक्त पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा र नेता लोकेन्द्रबहादुर चन्द ।

पूर्वराजालाई देख्नेबित्तिकै उनीहरू जुरुक्क उठे र एकसाथ नमस्कार गरे । पूर्वराजा हँसिलो मुद्रामा उनीहरूसँगै एउटै टेबुलमा बसे । अनि सुरु भयो भलाकुसारी । आगन्तुकका लागि सिट वर्गीकृत नगरिए पनि कुर्सी सजाइएको बरण्डा अति विशिष्ट र बगैँचामा राखिएका कुर्सीहरू आम आगन्तुकका लागि प्रयोग भइरहेका थिए ।

सायद पूर्वराजासँग टाढिनैका लागि अति विशिष्ट श्रेणीमा पर्ने भए पनि राजालाई दाम चढाएर आलोचित बन्दै आएका एमाले नेता माधवकुमार नेपालले बगैँचामै बस्न रुचाए । समारोहमा उपस्थित सिविल ड्रेसमा रहेका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आफ्ना पूर्व परमाधिपतिलाई ससम्मान स्यालुट चढाए ।
….

….
बसाइका क्रममा पूर्वराजाले एक कप चिया खाएका थिए । उनले भोजन भने गरेनन् । अन्त्यमा हँसिलो मुद्रामा उठेर सबैलाई नमस्कार गर्दै अगाडि बढेपछि नजिकैको कुर्सीमा रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीले उठेर प्रत्युत्तरमा नमस्कार गरिन् ।

शनिबार बेलुकामात्र राष्ट्रपतिको छोरीको बिहेमा निम्ता पाएका पूर्वराजाका तर्फबाट उनी बरबधुलाई आशिर्वाद दिन आउने सूचना आइतबार नै पठाइएको थियो । यद्यपि सर्वसाधारणमाझ आइतबारसम्म उनी शीतलनिवास आउलान् कि नआउलान् भन्ने अड्कलबाजी थियो भने सोमबार उनी पुगिसकेपछि भने सामाजिक सञ्जालमा त्यसबारे प्रसस्त राजनीतिक टिकाटिप्पणी देखिए ।

कसैले पूर्वराजा शीतलनिवास जानुलाई उनले गणतन्त्र नेपालको उच्चतम ओहदामा आसीन व्यक्तिको निवासमा पुगेर गणतन्त्रलाई स्वीकार गरेको बताए भने केहीले ज्ञानेन्द्रलाई निमन्त्रणा गरेर राष्ट्रपति भण्डारीले निषेध, बहिष्कार र प्रतिशोधको राजनीतिमा तघारो हाल्ने साहस गरेको बताए ।

राष्ट्रपति भण्डारीसँग नजिक मानिने केपी ओलीको अनुमोदनबिना पूर्वराजालाई शीतलनिवासमा निम्ता गरिएको थिएन भन्नेहरू पनि धेरै छन् । तर, पूर्वराजा शीतलनिवास पुगेका बेला ओली त्यहाँ उपस्थित थिएनन् ।’

निमन्त्रणापत्रमा वरवधुलाई आर्शिवाद दिन नगद वा जिन्सी केही पनि नल्याउनू भनिए पनि पूर्वराजाले आफ्नो परम्पराअनुसार आशिर्वादस्वरूप वधुलाई खाम दिएका थिए ।

शीतलनिवास त्यही ठाउँ हो जहाँ ४७ वर्षअघि ज्ञानेन्द्र बेहुलाका रूपमा प्रवेश गरी कोमललाई अन्माएर लगेका थिए । यो भवन कुनै बेला चन्द्रशमशेरका छोरा कृष्णशमशेरको दरबार थियो ।
….

ज्ञानेन्द्रले राप्रपा नेताहरूसँगको भलाकुसारीका क्रममा आफूले ४७ वर्षअघि कोमललाई अन्माएर यही घरबाट लगेको बताए । राप्रपा नेता राणाले ‘यत्रो वर्ष पो भइसक्यो !’ भन्दै जिज्ञासा राख्दा ज्ञानेन्द्रले स्वीकृतिमा टाउको हल्लाए ।

२० मिनेट शीतलनिवास बसेका उनी मध्याह्न १२ बजेर ५५ मिनेटमा बाहिरिए । हँसिलो मुद्रामा शीतलनिवासबाट बा ४ च ३८०७ नम्बरको गाडीमा उनी निस्किएको खबर अन्नपूर्णपोष्टले छापेको छ।

विवाहका लागि सिँगारिएको राष्ट्रपति निवासमा ५१ जनामात्र जन्ती पुगेका थिए । बोलाइएका पाहुनाका लागि राष्ट्रपति कार्यालयले दुई बजेसम्मको समय निर्धारण गरेको थियो । कार्यक्रममा विभिन्न पार्र्टीका नेता, सुरक्षा निकायका अधिकारी, विदेशी नियोगका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । नेपालका लागि भारतीय राजदूत रन्जित रे भने शीतलनिवास परिसरमा झन्डै एक घन्टा बसेका थिए।





Comments

comments

Leave a Reply

15927