नरेन्द्रराज प्रसाई –

लेखक

प्रिय जुन!
तिमीसँगको सम्पर्कले हामी नइलाई गौरवीवोध भएको छ। अब हामी तिमी भएको देशमा आउन खुट्टा उचालेर बसेका छौं। तर चाँडै आउन त हामी सक्छौं जस्तो लागिरहेको पनि छैन। हामी सकेसम्म सन् २०२० कै प्रतीक्षामा चाहिं छौं। अनि त्यहाँ आएर म एउटा नियात्रा पनि लेख्ने प्रयास गर्नेछु । मैले कृति लेखें भनें सो को नाउँ “जुन भएको देश” राख्नेछु।

मान्छेहरू भ्रमण त गर्छन् तर हाम्रो भ्रमणचाहिं कमिलाको हिंडाई नबनोस्; किनभने हामी लेखक पनि हौं। त्यसैले म जति हिंड्छु त्यति नै लेख्तै जाने पनि गर्छु। मेरा छालाका आँखाले देखेको कुरा जहाँको त्यहीं नबिलाउन् त्यो बेहोरा भोलिका सन्ततिले पनि देख्न पाउन् र लेख्न पाउन् भन्ने मेरो लेखनको प्रमुख उद्धेश्य हो।

लेखकको पेवा भनेको कलम र कापी मात्र नै रहेछ । यो चिजलाई कसैले खोस्न सक्तैन, कसैले रोक्न सक्तैन र कसैले दवाउन पनि सक्तैन। कतिसम्म भनें जेल परेका स्रष्टाले पनि त्यो कष्टलाई आफ्नो मौलिक सम्पति बनाएको हुन्छ। उदाहरणका लागि भन्ने हो भने भानुभक्त आचार्य, वी.पी. कोइराला, खड्गमान सिंह, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, तारानाथ शर्मा, युद्धप्रसाद मिश्र, मोदनाथ प्रश्रित, नारायणमान विजुक्छे ‘रोहित’, श्यामप्रसाद शर्मा, नरहरि आचार्य, नारायणप्रसाद शर्माआदिले जेलखानामा पनि अमर रचना निर्माण गरे। साँच्चै हो जुन! सृजना भनेको लेखकको चिरञ्जीवी पेवा हो । अनि यो पेवा मात्र अजर र अमर रहन्छ । वास्तवमा हामी लेखकसँग भएको पूर्ण सम्पति नै सृजना नै मात्र हो । त्यसैले हामी यसैमा रमाउन चाहन्छौं, यसैमा गौरव मान्छौं र यसैमा हराउन पनि चाहन्छौं।

हाम्रा इतरहरू अथवा भनौं राजनीति गर्छु भन्नेहरूले हामीलाई गन्तीमा पनि नराख्लान् । उनीहरूले हामीलाई कुवाको भ्यागुत्तो भनिहाले पनि केही फरक पर्दैन। किनभने उनीहरूमा केवल सत्ताको मात चढेको हुन्छ। त्यस्तो बेला उनीहरूका आँखा भुइँमा हुँदैनन्। त्यसमाथि उनीहरूले झैं अनेक बहानामा हामीले देश बन्दक राख्न जानेकै हुँदैन। हो; हामीले लुट्न जानेका छैनौं, भुट्न जानेका छैनौं र लम्पसार पर्न पनि जानेका छैनौं। हामीमा जति चेतना छ त्यो गुण राजनीति गर्नेहरूमा विरलै पाइन्छ। त्यतिमात्र होइन, हामीमा जति माटो प्रेम छ राजनीति गर्नेहरूमा त्यो त्यति नै नपाइन पनि सक्छ। यसको उदाहरण उनीहरूबाटै घरिघरि पेस नभएको पनि होइन।

प्रिय जुन!
बर्तमानमा हामीलाई एउटा कमजोर अथवा अशक्त रूपमा राखिन्छ मानौं हामी केही जान्दैनौं । त्यसैले होला राजनीतिले हामीलाई पत्याउँदैन। तर राजनीतिज्ञबारे हामीले भोलि जति लेखिदिन्छौं त्यति नै मात्र इतिहासले उनीहरूलाई सुरक्षित राखिदिन्छ। बर्तमानमा राजनीतिज्ञले हामीमाथि शासन गर्छन् तर इतिहासमा उनीहरू हाम्रो कब्जामा हुनेछन्।

श्री ५ हरूले पनि सकेसम्म साहित्यकारलाई पन्साएर लठेतहरू आफ्ना अघि राखेका थिए । श्री ५ सरकारका पालामा पनि उनीहरूको विदेश बरियातमा एउटै साहित्यकार छिर्न पाउदैन थिए । त्यसैले उनीहरूको करोडौं रूपियाँको भ्रमणबारेको सग्लो इतिहासै कहाँ लेखिएको छ र ? त्यसपछिका श्री ५ हरूले पनि त्यही पाठ रटे र त्योभन्दा थोत्रो काम गर्न सिके। कतिसम्म भने अहिलेका श्री ५ हरूले त आफ्ना भाट, दलाल र पाउका खुरहरूले साहित्यका नाउँमा कखरा मात्र लेख्न जाने भने पनि उनीहरूलाई लाख हुन्छ। किनभने उनीहरूसँग हैसियत नाप्ने खुबी पनि हुँदैन। त्यसैले जतिसुकै अयोग्य, लम्पट र मूर्ति भए तापनि आफ्ना भरियाहरूलाई मात्र उनीहरूले प्राज्ञका कुर्सीमा पुर्याइदिन्छन् । तर तिनीहरू हाल जतिसुकै महान् प्राज्ञमा घोषित भए पनि इतिहासमा पुल काट्ने सूचीमा मात्र उनीहरूको नाउँ दरिने छ। आखिर उनीहरूमध्ये प्राय:हरू दलहरूका मोजाको टोपी लगाउने न हुन्।

जुन! तिमी बसेको देशमा साहित्यलाई सरकारले कस्तो सरोकार राख्छ मलाई थाहा छैन। तर हाम्रो देशका प्राय: संस्कृति मन्त्रीलाई समेत “साहित्य कुन चराको नाउँ हो ?” भनेर सोध्यो भने उसले सरल उत्तर दिने गर्छ- ‘? “दलका टापहरूलाई मात्र हामी साहित्यकार भनेर चिन्छौं।” वास्तवमा उनीहरूले असत्य पनि बोलेका छैनन् । किनभने उनीहरू आफ्नो विवेकबाट एक इन्च पनि हल्लिएका छैनन्।
….

….



.















Comments

comments