पोखरामा पोष्टबहादुर बोगटीको स्मृतिमा श्रद्धाञ्जलि सभा

मनहरि तिमिल्सिना / एचकेनेपाल डट कम-
पोखरा, ५ असोज। एकीकृत माओवादी कास्कीले हृदयघात र मस्तिष्कघातका कारण निधन भएका आफ्ना नेता पोष्टबहादुर बोगटीको स्मृतिमा श्रद्धाञ्जलि सभा गरेको छ।

आइतबार पोखराको शहीदपार्कमा सम्पन्न सभामा वक्ताहरुले बोगटीको त्याग र जीवनीको चर्चा गरे। कार्यक्रममा मूख्य वक्ताका रुपमा निम्त्याइएका एकीकृत माओवादीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बोगटीको अभावमा आन्तरिक र बाह्य समन्वय चुनौतिपूर्ण भएको बताए। श्रद्धाञ्जलि सभामा बोल्दै नेता पौडेलले भने, ‘हामीले सामान्य नेता गुमाएका छैनौं, इतिहासको चुनौतिपूर्ण मोडमा सबैको समन्वय गर्नसक्ने महान् नेता गुमाएका छौं । उहाँको अभाव पार्टीको आन्तरिक जीवनमा मात्र पर्नेछैन, सिंगो राष्ट्रिय राजनीति उहाँको अभाव खट्किनेछ ।’ विचारमा प्रतिवद्ध, व्यवहारमा सरल, मृदुभाषी नेताको रुपमा परिचित नेता गुमाउँदा मर्माहत भएको पौडेलको भनाई थियो। बोगटी ‘पार्टीका शीर्ष नेताहरुका सेतुको भूमिकामा रहेको’ भन्दै पौडेल उनको जीवन कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत भएको बताए। अर्को एक प्रसङ्गमा नेता पौडेलले एकीकृत माओवादी संविधान निर्माणप्रति प्रतिवद्ध भएको भन्दै सत्ताधारी पार्टीबाट राजनीतिक इमान्दारिताको खाँचो रहेको बताए।

कार्यक्रममा विशेष अतिथि नेकपा–माओवादीका केन्द्रीय सदस्य श्रीनाथ अधिकारीले सादगी जीवनका पक्षपाती बोगटीबाट धेरै कुरा सिक्नयोग्य रहेको बताए। आफूले लामो समय बोगटीसँग सहकार्य गरेको भन्दै नेता अधिकारीले ‘बोगटी विचारमा दृढ तर व्यवहारमा निकै सरल नेता’ भएको बताए । ‘उहाँ निकै सरल व्यक्तित्व हुनुहुन्थ्यो, विचारमा दृढ र व्यवहारमा लचकता नै उहाँको परिचय हो।’

कार्यक्रममा एकीकृत माओवादीका केन्द्रीय सदस्य राजकाजी गुरुङले बोगटीको निधन राष्ट्रकै लागि ठूलो क्षति भएको भन्दै संविधान निर्माणजस्तो संवेदनशील चरणमा भएको निधन निकै पीडादायी भएको बताए।

कार्यक्रममा एमाओवादी कास्कीका अभिभावक दीपक कोइरालाले नेपालको माओवादी आन्दोलन एक परिपक्व अभिभावक गुमाएको भन्दै बोगटीको निधन आफ्नो पार्टीका लागि अपूरणीय क्षति भएको बताए।

त्यस्तै अर्का वक्ता नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले पोष्टबहादुर बोगटी सबै पार्टीहरुबीच समन्वय गर्नसक्ने एक कुशल र सरल नेता भएको भन्दै आफू बोगटीबाट प्रभावित हुने गरेको बताए। त्यसै गरि संघीय समाजवादी पार्टी कास्कीका अध्यक्ष दीपक तामाङ्ले परिवर्तन संस्थागत नहुँदै बोगटीको निधन हुँदा नयाँ संविधानमा परिवर्तनका मुद्धा सम्बोधन गर्न चुनौति थपिएको बताए।

२०१० साल साउन ३ गते नुवाकोटमा जन्मिएका बोगटी एकीकृत माओवादीका उपाध्यक्ष थिए। माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धमा उनले पश्चिम क्षेत्रको नेतृत्व गरेका थिए। पहिलो संविधान सभाको निर्वाचनमा नुवाकोट–३ बाट विजयी बोगटी एमाओवादीको प्रमुख सचेतक, सञ्चार, पर्यटन तथा नागरिक उड्डयन र उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। युद्धको क्रममा आफ्ना एक मात्र छोरा रवि बोगटी गुमाएका उनी राजनीतिक संघर्षको क्रममा पटकपटक जेल परेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

1608