एयरपोर्ट सुन तस्करीमा एसएसपीको रेट एक लाख…

काठमाडौं, ८ फागुन । सामान्यतः दुई–दुई वर्षमा कर्मचारीको सरुवा हुन्छ । तर, तथ्यांक अधिकृत श्रीनारायण यादवलाई भने निजामती प्रशासनको यो नियम लागू भएन । १४ वर्षदेखि निरन्तर उनी भन्सार कार्यालय विमानस्थलमा थिए।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत महिना यादवलाई सुन तस्करीको आरोपमा पक्राउ गरेपछि उनी सोर्सफोर्स लगाएर १४ वर्षसम्म एयरपोर्ट भन्सारमा बस्नुको रहस्य खुलेको छ। साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका यादव तस्करहरूको मुख्य विश्वासपात्र व्यक्ति भएको सिआइबीको अनुसन्धानमा खुलेको हो।

निजामती ट्रेड युनियनका नेतासमेत रहेका यादव नेताहरूको सोर्सफोर्सका आधारमा सधैँ एयरपोर्ट भन्सार बस्दै आएका थिए । सिआइबीका अनुसार उनीसहितको सेटिङमा एक वर्षदेखि विमानस्थलबाट सुन तस्करी हुँदै आएको थियो।

पक्राउपछि सिआइबीले लिएको बयानका क्रममा यादवले मिलेमतोमै तस्करी हुने गरेको स्विकारेका छन् । प्रहरीलाई समेत पैसा बुझाई सेटिङ मिलाएर तस्करी हुने गरेको बयान उनले दिएका छन्। उनको लिखित बयानका आधारमा सिआइबीले एसएसपी श्याम खत्रीलाई समेत पक्राउ गरेको छ।

एसएसपीको रेट एक लाख!
साढे ३३ किलो सुन तस्करी हुँदा विमानस्थलका तत्कालीन एसएसपी श्याम खत्रीले हरेकपटक एक लाखका दरले पैसा बुझ्ने गरेको अनुसन्धानमा खुलेको सिआइबीले जनाएको छ । सिआइबीका अनुसार भन्सारका कर्मचारी श्रीनारायण यादवसँग मिलेर उनले पैसा लिने गरेका थिए।

सिआइबीले २३ माघमा खत्रीलाई हिरासतमा राखी संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।

लगेज चेकिङमा प्रहरीको कुनै भूमिका नहुने भए पनि तस्करीमा अप्रत्यक्ष रूपमा सहयोग गर्न खत्रीलाई सेटिङ मिलाइएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । भन्सारका कर्मचारी यादवकै बयानका आधारमा उनलाई सिआइबीले पक्राउ गरेको हो । तर, खत्रीले भने तस्करीमा आफ्नो कुनै संलग्नता नभएको बयान दिएका छन्।

सुन लिन भारत जाने भरियाहरूले डलर तथा दिरामसमेत तस्करी गर्दै आएका थिए । त्यसमा प्रहरीले सहयोग गरेको हुनसक्ने सिआइबीका अधिकारीको आशंका छ । तर, डलर तस्करीको तथ्य प्रहरीले फेला पार्न सकेको छैन।

तस्करीको सुन पक्राउ परे पनि भरिया मात्र पक्राउ पर्ने र आफूहरूको संलग्नता नखुल्ने विश्वासमा एसएसपी र भन्सारका कर्मचारीले तस्करीमा सहयोग गर्दै आएका थिए । प्रहरीले विगतमा सुन बरामद गरेलगत्तै भन्सार र राजस्वमा बुझाउने गरेको थियो । तर, यसपटक प्रहरीले संगठित अपराध मुद्दामा उनीहरूमाथि अनुसन्धान गर्दा भन्सारका ६ कर्मचारी र एसएसपीको संलग्नता खुलेको हो।





Comments

comments

Leave a Reply

16289