पिताको नाममा गृहमन्त्रीद्वारा ३ करोड झ्वाम्म

काठमाडौं, १७ फागुन । महेन्द्रनारायण निधि नैतिकवान नेता थिए । तर, मृत्युपछि उनको नाम बेचेर छोरा र कार्यकर्ताहरुले उनलाई बदनाम गराउन थालेका छन् । उनको नाममा महेन्द्रनारायण निधि मेमोरियल अस्पताल खुलेको छ । बसुन्धारामा रहेको उक्त अस्पताल चरम भ्रष्टाचारका कारण राम्रोसँग चल्न सकेको छैन।

उनका छोरा विमलेन्द्र निधिले सरकारबाट करोडौं बजेट दिएर अस्पतालका कर्मचारी पाल्दै आएका छन् ।

गृहमन्त्रीसमेत रहेका बिमलेन्द्र निधिले हालै अस्पताललाई ३ करोड रुपैयाँ दिएका छन् । फागुन ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले अस्पताललाई नियमविपरीत त्यसरी पैसा दिने निर्णय गरेको हो । अचम्म के भने स्वास्थ्यमन्त्री गगन थापाले समेत नियमविपरीत भएको त्यस्तो निर्णयको प्रतिवाद गर्न सकेनन्।

सामुदायिक अस्पताललाई अनुदानसम्बन्धि निर्देशिका २०७३ को प्रावधानविपरीत उक्त अस्पताललाई सरकारी अनुदान दिइएको हो । निर्देशिकामा सहरी क्षेत्र बाहिरका अस्पताललाई मात्र यस्तो अनुदान दिन सकिने प्रावधान छ । जुन निर्देशिकाको धज्जी उडाउँदै मन्त्रिपरिषद्ले महेन्द्रनारायण निधि मेमोरियल अस्पताललाई अनुदान दिएको हो।

गृहमन्त्री निधिले त सात करोड अनुदान दिन प्रस्ताव गरेका थिए । तर, अर्थले दिन मानेन र तीन करोड मात्र दिएको थियो । स्वास्थ्यमन्त्री थापाले आफूलाई थाहा नभएजस्तो गरी यो प्रकरणमा चुप बसेका थिए । जबकी केही महिनाअघि मात्र उनकै मन्त्रालयले त्यससम्बन्धी निर्देशिका बनाएर मन्त्रिपरिषद्बाट पास गराएको खबर दृष्टि साप्ताहिकले छापेको छ।





Comments

comments

Leave a Reply

16547