पोखरा रंगशालाभित्र ३ वटा टेनिस कोर्टको उद्घाटन, हङकङबाट राईको सहयोग पनि…

बिनोद लामिछाने / एचकेनेपाल डट कम –
चैत्र ५,पोखरा। कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरा रंगशालाभित्र बनेको विभिन्न टेनिस कोर्टमध्ये शनिबार तीनवटा टेनिस कोर्टको एकै पटक उद्घाटन गरिएको छ।

टेनिस कोर्ट निर्माणमा सहयोग गर्ने दाताहरुले नै टेनिस कोर्टको उद्घाटन गरेका हुन् । टेनिस कम्प्लेक्स हाताभित्र निर्माण भएको कोर्र्ट नम्बर ३ बि एण्ड बि टेनिस कोर्टको बिमल बस्यालले, कोर्ट नम्बर ४ सूर्य–प्रेम टेनिस कोर्टको किरण केसीले तथा कोर्ट नम्बर ५ नेपाली हङकङ् टेनिस कोर्टको हङकङ नेप्लीज टेनिस सोसाइटीका अध्यक्ष मगेन राईले उद्घाटन गरेका हुन्।

सो अबसरमा टेनिस संघ कास्कीले दाताहरुलाई सम्मान पत्रले सम्मान समेत गरेको थियो । त्यसैगरि टेनिस कम्प्लेक्समा भौतिक निर्माणमा सहयोग गरेको भन्दै तमुधी जापानका अध्यक्ष श्री गुरुङ्गलाई पनि संघले सम्मान गर्यो । त्यस्तै टेनिस कम्प्लेक्ससम्म खानेपानीको धारा पुर्याउन सहयोग गरेको भन्दै खानेपानी संस्था पोखराका प्रमुख निरन महर्जनलाई पनि सम्मान गरिएको थियो।

संघ कास्कीका अध्यक्ष विनोद कायस्थ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, सशस्त्र प्रहरी बलका एसएसपी कृष्णभक्त बर्माचार्य लगायतले सम्मान–पत्र प्रदान गरेका थिए।

यसैबिच होली कप पोखरा ओपन डबल्स टेनिस प्रतियोगिताको उपाधि राजन पौडेल र अनिल तुलाचनको जोडीले जितेका छन् । शनिबार भएको फाइनल खेलमा उनीहरुले अनिल शाहि र रामराजा कार्कीको जोडीमाथि २–६, ६–४ र ६–२ को नतिजा निकालेका थिए । विजयी खेलाडीहरुलाई ट्रफि पुरस्कार प्रदान गरिएको थियो ।

संघ कास्कीका सचिव लोक गुरुङ्गले कार्यक्रम सञ्चालन गर्दै टेनिस कोर्ट निर्माणमा सहयोग गर्ने दाताहरुलाई धन्यबाद ज्ञापन गरे । आगामी दिनहरुमा पोखराबाट उत्कृष्ट युवा खेलाडीहरुको उत्पादनमा संघ कास्की लागि पर्ने उनले जनाए।





Comments

comments

Leave a Reply

16814