देउराली ब्याण्ड जुर्मुराउंदै, हङकङ यात्राको तयारीमा…

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, ५ चैत्र। केही समय अघि व्याण्डहरुको शहरको रुपमा चर्चा रहेको पोखरामा ब्याण्डहरु सुस्ताइ रहेको बेला देउराली ब्याण्ड जुर्मुराउदैछ।

२०५२ सालमा स्थापना भई ढुंगे साँघुको मेलामा…, लुकी चोरी…, दालभात तरकारी…, सरर हावा चल्यो फेवा तालैमा…, रेशम… जस्ता चर्चित एवं कर्णप्रिय गीतबाट ब्याण्डको पहिचान बनाएको देउरालीले संगीत विद्यालय गितार नोट्स संचालनसँगै चारवटा गीत रेकर्डिङमा जुटेको छ।

महेन्द्रपुल सीता भवन नजिकै दुई महिना अघिदेखि संगीत विद्यालय गितार नोट्स सञ्चालन गर्दै आइरहेको देउराली ब्याण्ड अहिले ‘ढिके नुन…’ बोलको लोकपप, ‘जीवनको …’रक, ‘सघैभरी तिम्रो काखमा… ’ र ‘जुनेली रातैमा…’ पप गीत रेकर्डिङमा रहेको ब्याण्डका बेस गितारिस्ट तेज केसीले जानकारी दिए। उक्त गीतहरु रेकर्डपछि एल्बमको रुपमा देउरालीले श्रोता माझ प्रस्तुत गर्ने व्याण्डका सदस्य किरण बैद्यले जानकारी दिए। हाम्रो सोंच लाइभ कन्सर्ट गर्ने हो, हामी आन्तरिक तयारीमा जुटिरहदा हङकङबाट समेत अफर आएको बैद्यले बताए।

गितार नोट्स सञ्चालनका लागि विशेष जिम्मेवारी बहन गरेका ब्याण्डका किरण बैद्यले संगीत विद्यालयमा १८, १९ जना प्रशिक्षार्थीहरु रहेको जानकारी दिए । आजभोलि काठमाडौंमा नोटेशनबाट संगीत सिकाउने प्रचलन छ, पोखरामा पनि नोटेशनबाट संगीत हामीले सिकाइरहेका छौं भन्दै बैद्यले गितार नोट्समा गितार, पियानो, डारेमीसहित गायन पनि प्रशिक्षण प्रदान गर्दै आइरहेको बताए।

ब्याण्डमा हाल तेज केसी, शान्त बज्राचार्य, किरण बैद्य, तिलक गुरुङ, सुमन तामाङ, गुप्त गुरुङ र रञ्जन नेपाली गरी ७ जना आवद्ध रहेको केसीले जानकारी दिए । देउराली ब्याण्ड सुस्ताएको छैन, आन्तरिक तयारी छ, छिट्टै नै दर्शक श्रोतालाई लाइभ कन्सर्ट प्रस्तुत गर्ने सोंचमा रहेको केसीले बताए।

यसै विच दुवै मिर्गौला पीडित गितकार संगीतकार सुक गुरुङ उपचार सहयोगार्थ चैत्र २३ गते पोखरामा हुने विविध साँस्कृतिक कार्यक्रममा देउराली व्याण्डको पुर्ण सहयोग र प्रस्तुती रहने ब्याण्डका तेज केसीले बताए।





Comments

comments

Leave a Reply

16816