नेपाली कार्यक्रममा राजकुमार ह्यारी, उनले गोर्खा सैनिकको यसरी खुलेर प्रशंसा गरे…

धर्मराज अधिकारी / एचकेनेपल डट कम –
लण्डन । नेपाल र संयुक्त अधिराज्य बेलायतको दौत्य सम्बन्ध स्थापनाको दुईसय बर्ष गांठका अवसरका नेपाली दूतावास लण्डनले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रमको अन्तिम दिन बेलायतका राजकुमार हेन्री चार्ल्स अल्बर्ट डेबिट (ह्यारी)ले सहभागिता जनाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै राजकुमार ह्यारीले नेपालीहरुको आतिथ्य, सद्भाव र मायां आफूले कहिल्यै नविर्सने बताए । कार्यक्रममा गोर्खा सैनिकको खुलेर प्रशंसा गरेका राजकुमार ह्यारीले गोर्खाको साहस, आत्माविश्वास, व्यवसायिकता अद्धितीय रहेको उल्लेख गरे। उनले गोर्खाहरुसंगको सम्बन्धबाट आफू निकै गौरवान्वित भएको समेत बताए।

नेपालको सुन्दरताको बर्णन गर्दै उनले अन्नपूर्ण क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज र यसको संरक्षणका लागि गरिएको प्रयत्न संसारमा कतै नभएको जिकिर गरे।

भूकम्पले ठूलो क्षति पुर्याएको नेपालको पुर्ननिर्माणमा अझै समय लाग्न सक्ने बताउंदै उनले भने, नेपालको पुनर्निमाणमा साथ दिन बेलायती जनता नेपाली जनताको पक्षमा रहनेछन्। बेलायती महारानीको तर्फबाट कार्यक्रमा सहभागि हुन पाउंदा अति नै खुशी लागेको जनाउंदै उनले नेपाल बेलायत दौत्य सम्बन्ध स्थापित भएको दुईसय बर्ष पुगेको अवसरमा महारानीले समेत सफलताको शुभकामना दिएको जानकारी दिए । सो अवसरमा ह्यारीले दूतावास हाताभित्र भिक्टोरीया क्रस विजेता गोर्खा सैनिकहरुको फोटो अनावरण गरेका थिए।

कार्यक्रममा नेपाल सरकारका उद्योगमन्त्री नविन्द्रराज जोशीले विगत दुईसय बर्षदेखि नेपाल बेलायत ठूलो साझेदार राष्ट्र भएको बताए । हामी एकले अर्कालाई आवश्यक परेको अवस्था साथै उभिएका छौं मन्त्री जोशीले भने, हामी दुई देशका हितमा लागि संगै मिलेर काम गर्न सक्छौं । भूकम्प पछि राजकुमार ह्यारीको नेपाल भ्रमण प्रसंग कोट्याउंदै मन्त्री जोशीले भने- नेपाल र नेपालीका मन मस्तिष्कमा राजकुमारप्रति छुट्टै छाप रहेको छ । गोर्खा सैनिकहरु भिक्टोरीया क्रस विजेता मात्र नभई बेलायत सरकार र राजपरिवारको मन जित्न समेत सफल भएको जोशीको भनाई थियो।

सो अवसरमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीले राजकुमार ह्यारीलाई दूतावासमा स्वागत गर्न पाउंदा अत्यन्तै खुशी लागेको बताए । नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको प्रष्ट्याउंदै सुवेदीले यो सम्बन्ध राजपरिवारदेखि जनस्तरसम्म उत्तिकै प्रगाढ रहेको जिकिर गरे । बेलायत नेपाली जनातको मनमा गहिरो छाप छोड्न सफल भएको छ, र हामीलाई पनि आशा छ, बेलायतको राजमुकुट, सरकार र जनताका मनमा पनि नेपाल र नेपालीहरुको उस्तै छाप छ । बेलायतका उच्च अधिकारीहरुको नेपाल भ्रमणले नेपाल बेलायत सम्बन्धमा अझै महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे।

दूतावासका उपनियोग प्रमुख शरदराज आरनद्धारा सञ्चालित उक्त कार्यक्रममा बेलायती रक्षा मन्त्री मार्क ल्याङक्याष्टर लगायत बेलायतका उच्च अधिकारीहरु र सयौं नेपालीहरु सहभागि थिए।

फोटोः एभरेष्ट गौतम





Comments

comments

Leave a Reply

16877