गोर्खा जेलब्रेककी वीरांगना सञ्जु अर्याल सम्मानित, ६ महिना सुरुङ खनेर यसरी भागें…

अोम हमाल / एचकेनेपाल डट कम –

पोखरा, १७ चैत। गरीब, किसान, मजदूर तथा उत्पीडित वर्ग र सर्वहारावर्गको लागि शुरु गरिएको दीर्घकालीन जनयुद्धका क्रममा गोखा जिल्लाको जेल ब्रेक गरेर विश्वको इतिहासमा सुनौलो कीर्तिमानी कायम गरेकी सञ्जु अर्याल जनयुद्धको समाप्तिपछि आफूलाई कसैले वास्ता नगरेकोमा चिन्तित थिइन्।

तर आफूले जेलब्रेक गरेको ठीक १८ वर्षपछि आज पोखरामा एक हुल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले विशेष कार्यक्रमको आयोजना गरेर सम्मान गर्दा उनी प्रफुल्लित बनिन्।

नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो ईञ्चार्ज सावित्री दूरा “आस्था”ले आफूलाई सम्मान गरेपछि उनले अघि भनिन्। “त्यतिबेला हामीलाई त्यो सब गर्ने हिम्मत, आँट र शक्ति मार्क्सवाद, लेनिनवाद र माओवादले नै हो । म मालेमावादबाट कहिल्यै पनि विमुख हुन सक्दिन ।” आफूलाई सेना र प्रहरीले बन्दूक तेर्स्याएर मारिदिने सम्मको धम्की दिंदा पनि आफूले कम्युनिष्ट पाटीको हैसियतले पार्टीका कुनै गोप्य कुरा नखोलेको स्मरण गर्दै उनले त्यो सब आँट, भरोसा र विश्वास मालेमावादले नै दिएको बताइन्।

जनयुद्धमा एकजुट भएर सामन्ती राज्यसत्ताकाविरुद्ध सशस्त्र आन्दोलन गरेको माओवादी पार्टी विभाजित भएकोमा चिन्ता प्रकट गर्दै उनले अघि थपिन्, “कम्युनिष्ट सिद्धान्त बेठीक हैन । यो त गरीब, किसान, मजदूर तथा उत्पीडित वर्ग र सर्वहारावर्गको मुक्तिको सशक्त माध्यम हो । तर केही कम्युनिष्ट पार्टीका नेताहरु महत्वाकाँक्षी भएकाले पार्टी विभाजन भएको हो ।” सबै राष्ट्रवादी, देशभक्त र गणतान्त्रिक शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने कुरामा उनले जोड दिइन्।

उनले आफ्नो मन्तव्यका क्रममा आफूहरुले एउटा रड र ऊनीको कपडा बुन्ने सुइरोले करीब ६ महिना लगाएर सुरुङ खनेर भाग्न सफल भएको घटना बताएकी थिइन्। नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो ईञ्चार्ज सावित्री दूराले तात्कालीन अवस्थामा सामन्ती सत्ताका विरुद्ध लड्दा प्रतिक्रियावादी सत्ताको जेल परेका योद्धाहरुले कडा सुरक्षाकाबीचमा पनि जेलब्रेक गर्न सफल भएकोमा उहाँहरुको अदम्य शाहसलाई सम्मान गर्दै गरीब, किसान, मजदूर तथा उत्पीडित वर्ग र सर्वहारावर्गको मुक्तिका लागि लड्न प्रण गर्नुपर्ने बेला आएको बताइन्।

उनले आसन्न स्थानीय तहको चुनावले गरीब, किसान, मजदूर तथा उत्पीडित वर्ग र सर्वहारावर्गको जीवनस्तर उकास्नमा कुनै योगदान नपुग्ने भएकाले त्यस चुनावलाई सशक्त रुपमा वहिष्कार गर्न आव्हान गरिन्।





Comments

comments

Leave a Reply

17002