ज्यानकै बाजी लगाएर डिजेइङ…

ज्यानकै बाजी लगाएर डिजेइङ
संसारकै अग्लो भन्ज्याङ थोरङ्लामा डिजे गरेर विश्व रेकर्ड बनाएका छेवाङलाई गिनिज बुक अफ द वर्ल्ड रेकर्डसले इमेल पठाएर भनेको छ, ‘तिम्रो प्रमाणपत्र बनिसक्यो, अब कुरियर हुन्छ।’

अर्जुन गिरी / एचकेनेपाल डट कम –

पोखरा, १८ चैत। हिउँ जमेर चट्टानै बनेको थियो । हावा मुटु नै छुने चिसो । तापक्रम माइनस १० डिग्री सेल्सियस थियो । चिसोले सबै जमेको थियो । तर, २३ मिनेट त्यहाँको माहोल तात्यो । यो सन्दर्भ ५ हजार ४ सय १६ मिटर अग्लो थोरङ्ला भन्ज्याङको हो । सन् २०१६ अक्टुबर २७ तारिख । डिजे छेवाङ शेर्पाको आँखाले देखेको त्यो दृश्य अझै पनि दिमागको सफ्टवेयरमा कैद छ । त्यो हिउँको बस्तीमा सबै कुरा चिसोले जमेको बेला डिजे छेवाङले आफ्नो कला देखाए । चिसोलाई चिर्दै उनका औंला जब डिजे पेल्यरमा पर्यो तब त्यहाँ जाडोले कठ्याङ्ग्रिएका पर्यटक तङ्ग्रिएर नाच्न थाले।

त्यो ठाउँमा नाच्ने त के पुग्ने कल्पना पनि जो कोहीले आँट गर्दैनन् । अन्नपूर्ण सेन्चुरी ट्रेकिङ रुटमा पर्ने थोरङ्ला संसारकै सबैभन्दा अग्लो भन्ज्याङ हो । यो मनाङ हुँदै मुस्ताङ आउने पैदल मार्गमा पर्छ।

डिजेको दुनियाँमा रमाएका शेर्पालाई थोरङ्लाको उचाइले यतिकै तानेको थिएन । उनी डिजेको मार्फत गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाएर नेपाललाई चिनाउन ज्यानको बाजी राखेर त्यहाँ पुगेका हुन् । उनले आँटेको काम पूरा गरे । उनले संसारकै सबैभन्दा अग्लो ठाउँमा डिजे गरेर कीर्तिमानी राखे । लेकसाइडको माउन्ट कैलाश रिसोर्टमा हालै भेटिएका डिजे छेवाङले त्यो खुसी यसरी व्यक्त गरे, ‘बेलायतबाट गिनिज बुकको प्रमाणपत्र आउँदै छ । प्रिन्ट भइसक्यो भनेर मेल पनि आएको छ, यही महिनाभित्र हात पर्छ होला।’

देशमा भूकम्प गएको बेला उनलाई थोरङ्लामा डिजे गर्ने सोच आएको थियो । ‘भूकम्पले पर्यटन क्षेत्रमा असर गर्दा पर्यटक आउन पनि डराएका थिए,’ उनले भने, ‘त्यही बेला थोरङ्लामै गएर डिजे गरेर विश्वलाई नेपाल सुरक्षित छ भनेर सन्देश दिनु थियो ।’ जब कि अरु सामान्य बेला पनि लेक लाग्ने डर थोरङ्लामा हुन्छ । कतिपयले ज्यान गुमाएका छन् पनि।

वर्ल्ड रेकर्ड ब्रेक गरेको व्यक्तिगत स्वार्थका लागि नभएको उनले प्रष्ट्याए । ‘मलाई आफूभन्दा पनि देश चिनाउनु थियो,’ उनले भने, ‘यसअघि पनि म मिरापिकमा गएर डिजे गरेँ तर गिनिज बुकमा नाम लेखाउन असफल भएँ।’

सोलखुम्बु केरुङ घर भएका छेवाङ काठमाडौंमा नाम चलेका डिजे हुन् । २१ वर्षको उमेरदेखि डिजेको क्षेत्रमा पाइला चालेका छेवाङले अहिले डिजेकै दुनियाँमा नेपालको नाम चम्काएका छन् । हार नमानी आफ्नो लक्ष्य पूरा गरेको उनी बताउँछन् । ‘यसअघि सन् २०१५ मा मिरापिकमा जाँदा हिमपातमा परेर धन्न ज्यान गएन,’ उनले दुई वर्षअघिको त्यो डरलाग्दो घटना सुनाए, ‘हामी सबैको टेन्ट नै हिउँले पुरिदियो, सास फेर्न गाह्रो भयो, धन्न बाचियो ।’ त्यही दुखको फल अहिले पाएको ठान्छन् उनी । ‘आफ्नो ज्यान जोगाउन त गाह्रो प¥यो अब त्यो डिजे गर्न त झनै कठिन हुने,’ उनले भने, ‘यति चिसो थियो कि म बसेको ठाउँबाट उठ्न सकेको थिइनँ।’

‘नेपाल इज सेभ फर टुरिजम’ भन्ने नारा लिएर उनी थोरङ्ला पुगेका थिए । ‘हिमपातले गर्दा अप्ठेरो भए पनि कार्यक्रम गरियो,’ उनले भने, ‘कुनै वास्ता नगरी १० मिनेट जति डिजे गरेँ अनि फर्कियौं ।’ नेपालको टुरिजमका लागि त्यति गरेपछि राज्यबाट केही पाउने आशामा पर्यटन मन्त्रालय धाएका पनि थिए । ‘कहीँ कतैबाट सहयोग भएन,’ उनले भने, ‘बरु त्यहाँ पुगेर कार्यक्रम गरेको भिडियोको फुटेज युटुबमा देखेर अमेरिकामा रहेको रेनुका इन्टरनेसनल कन्सटिङ सर्भिसले सहयोग गर्ने प्रस्ताव आएको छ।’

अमेरिकामा बस्ने भारतीय नागरिक रवि ठाकुरले अमेरिकामा सञ्चालन गरेको उक्त संस्थाले सहयोग गर्ने भनेपछि थोरङ्लामा डिजे गरेर विश्व कीर्तिमान रच्न अवसर दिएको छेवाङले बताए । ‘केही गर्छु भन्नेलाई त राज्यले पनि विश्वास गर्नुुपर्ने होइन ?,’ उनले प्रश्न गरे, ‘राज्यले सहयोग गरेन बरु पराइ मुलुकका नागरिकले विश्वास गरे ।’ डिजेकै क्षेत्रमा अब आफ्नो योगदान रहने ३० वर्षीय छेवाङले सुनाए।

‘यो कीर्तिमानले मलाई यस क्षेत्रमा लाग्न ठूलो प्रेरणा दिएको छ,’ उनले भने, ‘बाँचुन्जेल यही क्षेत्रमा समय दिन्छु ।’ लाक्पा शेर्पा, सुरज राई, पेम्बा तामाङ, दोर्जे शेर्पा, वा शेर्पा लगायतकै सहयोगले सफलता हात पारेको उनले सुनाए।

छेवाङलाई सहयोग गरेका रवि ठाकुर खुसीको खबर सुन्न साथ नेपाल आएका थिए । ‘जब छेवाङले गिनिज बुकमा नाम लेखायो भन्ने सुनें, खुसीको सीमा रहेन,’ उनले हिन्दीमा भने, ‘थाहा पाउनेबित्तिकै छेवाङलाई भेट्न नेपाल आएँ ।’ बालबालिकाको क्षेत्रमा काम गर्ने ठाकुर छेवाङको आत्मविश्वासलाई देखर सहयोग गरेको बताए । ‘छेवाङ आफ्नो ज्यानको बाजी राखेर देशको नाम चिनाउन अघि बढ्छ भने किन सहयोग नगर्ने भन्ने लागेर सहयोग गरें,’ उनले भने, ‘आखिर छेवाङले गरेरै देखाए, मेरो सहयोग र दुख खेर गएन।’





Comments

comments

Leave a Reply

17004