प्रेमीको हत्या आरोपमा प्रेमिकालाई ज्यान मुद्दा: यसरी भएको थियो हत्या

प्रेमीको हत्या आरोपमा प्रेमिकासहित तीनजनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । भक्तपुर कोलाछेका २७ वर्षीय रतन्सुन्दर छिङगुतलाको हत्या आरोपमा प्रेमिका रेणुका सुवालसहित तीनजना विरुद्ध प्रहरीले शुक्रबार कर्तव्य ज्यान मुद्दा दायर गरेको हो ।

गत २९ फागुनमा छिङगुतलाको भक्तपुर दरबार स्क्वायरमा कुटपिटबाट हत्या भएको थियो । प्रहरीले भोलिपल्टै प्रेमिका सुवाललाई पक्राउ गरेको थियो । हत्यामा संलग्न भएको अभियोगमा अन्य दुई युवक मनोज कपाली र किशोर दुवालविरुद्धसमेत प्रहरीले मुद्दा दायर गरेको छ । तर, हत्याको कारण र प्रेमिकाको भूमिका भने खुलेको छैन ।

प्रेमिकासँगै हिँडिरहेका वेला हत्या
फागु पूर्णिमाको दिन साँझ छिङगुतलाको हत्या भएको हो । प्रेमिकासँगै हिँडिरहेका वेला दुई युवकले उनीमाथि कुटपिट गरेका थिए । हत्या आरोपी कपाली र दुवाललाई प्रहरीले गत साता मात्र पक्राउ गरेको हो । हत्याका मुख्य आरोपी कपाली भएको प्रहरीले जनाएको छ । मदिराको नशामा उनले कुटपिट गरी हत्या गरेको प्रहरी अभियोगपत्रमा उल्लेख छ ।

हत्यामा प्रेमिका सुवालको संलग्नताको कुनै प्रमाण नभेटिए पनि उनीविरुद्धसमेत मुद्दा दायर गरिएको छ । पक्राउ परेलगत्तै उनले आफूहरू हिँडिरहेका वेला दुई युवकले कुटपिट गरेको बयान दिएकी थिइन् । तर, उनको बयान चित्त बुझ्दो नभएको भन्दै प्रहरीले सुरुदेखि नै थुनामा राखी उनीविरुद्धसमेत कर्तव्य ज्यान मुद्दा दायर गरेको हो । अनुसन्धानका क्रममा उनको कुनै संलग्नता नदेखिएको स्रोत बताउँछ । सरकारी वकिल कार्यालयकै सल्लाहमा आफूहरूले मुद्दा दायर गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी कृष्ण प्रसाई बताउँछन् ।

मदिराले मात्तिएर गाडी र मोटरसाइकल तोडफोड
पक्राउ परेका अभियुक्त कपाली मदिरामा मात्तिएर गाडी र मोटरसाइकलसमेत तोडफोड गर्दै हिँडेका थिए । सोही क्रममा युवकमाथि उनले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । तर, प्रहरीले अनुसनधानका क्रममा हत्याको विस्तृत कारण खुलाउन सकेको छैन । अनुसन्धान राम्रोसँग गर्न नसकेकाले नै प्रहरीले उक्त घटनालाई समेत गोप्य राखेको थियो । महानगरीय अपराध महाशाखाको टोलीले तीन सातापछि दुई अभियुक्तलाई पक्राउ गरेको हो । प्रेमिकासहित तीनै अभियुक्तको प्रहरीले पोलिग्राफ टेस्टसमेत गरेको थियो ।

बानियाँटारमा एकको हत्या
यस्तै, बानियाँटारमा एक पुरुषको हत्या भएको छ । तर, मृतकको नाम खुलेको छैन । गत २० चैतमा उनको हत्या भएको हो । उनलाई प्रहरीले घाइते अवस्थामा भेट्टाएर अस्पताल पु¥याएको थियो । अस्पतालमै उनको मृत्यु भएको थियो । अन्दाजी ४०–४५ वर्षका ती व्यक्तिको हत्या भएको अपराध महाशाखाका डिएसपी दीपक रेग्मीले बताए ।

बर्थडे पार्टीमा हत्या
शुक्रबार बेलुका बौद्धको एक रेस्टुरेन्टमा भएको बर्थडे पार्टीमा झगडा हुँदा एक व्यक्तिको हत्या भएको छ । बौद्ध, रामहिटीको निरभान क्याफेमा बियर पोखिएको विवादमा भएको झगडामा ४५ वर्षीय पेम्बा शेर्पाको हत्या भएको हो । हत्यामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

दुई युवतीबीच भएको सामान्य झगडाले उग्र रूप लिएको हो । महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी विपीन रेग्मीका अनुसार रेस्टुरेन्टमा पुजन तामाङ र इनु शेर्पाबीच सामान्य भनाभन भएको थियो । इनु मृतककी छोरी हुन् । सोही सामान्य झगडामा पुजनतर्फका सत्यजीत लामा गएर कुटपिट गर्न खोजेपछि दुई पक्षबीच झगडा भएको थियो । झगडाका क्रममा पुजनतर्फका व्यक्तिहरूले कुटपिट गरी शेर्पाको हत्या गरेका हुन् । ५–७ जना मिलेर कुटपिट गर्दा गम्भीर घाइते भएका शेर्पाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले क्याफेका सञ्चालक तेन्जिङ ग्याल्छो लामासहित, अनित लामा, सत्यजित रुम्बा, गुम्बे शेर्पा, नन्दु स्याङब्योलगायतलाई पक्राउ गरेको खबर नयाँ पत्रिकाले छापेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

17214