११ वर्षमै ‘डेब्यू’ गरेर यसरी चर्चित बनिन् प्रेक्षा राई

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी आरबीबी-एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगितामा ११ वर्षीया प्रेक्षा राईको ‘डेब्यू’ चर्चित बनेको छ ।

भर्खरै ६ कक्षा सकेर सातमा पुगेकी प्रेक्षा शनिबार जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रविरुद्धको खेलमा न्यु डायमन्ड क्लबका तर्फबाट मैदानमा ओर्लिएकी थिइन्।

टोलीकी प्रमुख खेलाडी पनामिका राईको स्थानमा दोस्रो सेटमा मैदान प्रवेश गरेकी उनले ओपन स्पाइकबाट दुई अंक पनि हासिल गरिन् । उनले हानेको बलले म्याट छुँदा कभर्डहलमा उपस्थित भलिबल प्रेमीले मजैले ताली बजाएर प्रेक्षालाई हौसला दिएका थिए । प्रतियोगितामा प्रेक्षाभन्दा तीन दशक बढी उमेर भएका पाका खेलाडी पनि सहभागी छन् । तर, ती सबै खेलाडीलाई छायामा पार्दै ११ वर्षीया प्रेक्षाले चर्चा बटुलिन् ।

सानै उमेरमा ठूलो प्रतियोगितामा सहभागी गराउँदा आत्मविश्वास बढ्ने भएकाले उनलाई टोलीमा सहभागी गराइएको न्यु डायमन्डका प्रशिक्षक कुमार राईले जानकारी दिए । यसअघि विभिन्न प्रतियोगितामा सहभागी जनाइसकेकी रिया कुँवरको तालिमका क्रममा हात भाँचिएपछि प्रेक्षाले टोलीमा अवसर पाएकी थिइन् । प्रतियोगितामा सहभागी हुनुभन्दा केही दिनअघि रियाको हात भाँचिएपछि उनको स्थानमा प्रेक्षालाई सहभागी गराइएको हो ।

‘ट्रेनिङकै क्रममा रियाको हात भाँचियो । डाक्टरले एक वर्षसम्म खेल्न नसक्ने भनेपछि उनको स्थानमा प्रेक्षालाई सहभागी गराएका हौं’, न्यु डायमन्डका प्रिन्सिपलसमेत रहेका राईले भने । प्रेक्षाले भलिबल खेल्न थालेको भने दुई वर्ष मात्र भयो । कक्षा चारमा अध्ययन गर्दादेखि भलिबल खेल्न थालेकी उनी विभिन्न प्रतियोगितामा टोलीको सदस्य भए पनि अहिलेसम्म कुनै ठूला प्रतियोगिता खेलेकी थिइनन् ।

दुई वर्षको अवधिमा खेलमा निकै प्रगति गरे पनि सोचेअनुरूप उनको उचाइ नबढेको प्रशिक्षक राईले बताए । ‘दुई वर्षको अवधिमा प्रेक्षाले खेलमा निकै प्रगति गरेकी छन् तर सोचेअनुरूप हाइट नबढेकाले भविष्यमा टोलीमा स्थान बनाउन समस्या पर्न सक्छ’, राईले अन्नपूर्णसँग भने । न्यु डायमन्ड एकेडेमीलाई महिला भलिबल खेलाडी उत्पादनको केन्द्रभन्दा फरक पर्दैन । पुरानो नैकापस्थित सामान्य टहरोमा कक्षा सञ्चालन गर्दै आएको यो विद्यालयले नेपाली महिला भलिबलको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको खबर अन्नपूर्णपोस्टमा खबर छ।





Comments

comments

Leave a Reply

17359