कोलोराडोमा यसरी मनाइयो ‘नेपाल परेड डे’


नातिबाबु भट्ट
/ एचकेनेपाल डट कम –

कोलोराडो, १६ अप्रिल। नयां बर्ष २०७४ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले “नेपाल डे परेड” आयोजना गरि एक आपसमा शुभकामना साटासाट गरेका छन्।

रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल आयोजनामा तथा हेल्पिङ ह्याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा विशेष अतिथिको रुपमा महाबाणिज्यदूत तथा बरिष्ठ गायक प्रेमराजा महत र बोल्डर नगरका मेयर सुजेन जोन्सको उपस्थिति रहेको थियो। त्यस्तै कार्यक्रममा हेल्पिङ ह्याण्डका अध्यक्ष तथा नेपाल परेड डे परेडका संस्थापक नारायण श्रेष्ठ, गायक नरेन्द्र प्यासी, हास्य कलाकार नारायण त्रीपाठी, स्थानीय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धिजीवी, कलाकार, पत्रकार, व्यवसायी तथा सर्बसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

भौगोलिक हिसावले नेपालसंग मिल्दो जुल्दो सुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरुले नेपाल र अमेरिकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी लाखे नाचेको तालमा नेपाली गीत गाउंदै हर्सोउल्लास तथा मनोरन्जनका साथ नगर परिक्रमा गरेका थिए।

स्थानीय खुल्लामञ्चबाट सुरु भएको परेडमा सहभागी कतिपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, साडी चोलो लगाएर आएका थिए भने कोही आफ्नो जातीय भेषभूषा संस्कृति झल्कने पहिरहन लगाएर आएका थिए । अमेरिकी भूमिमा नेपालीहरुले नेपालको झण्डा हल्लाउंदै हिड्दा गौरबले छाती फुलेको महसुस हुन्थ्यो।

बालक बृद्ध सबै उमेर समूहका नेपालीको उपस्थित रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृतिप्रति माया र सद्भाव राख्ने अमेरिकी नागरिकहरुको पनि सहभागीता रहेको थियो। बाटाका छेउछाउका दर्शकहरुले भने हेप्पी न्यु एयर, नमस्ते भन्दै ताली पिटेर स्वागत गरेका थिए।

कार्यक्रममा सहभागी सबै उमेरका नेपालीहरुले आ– आफ्नो दौतरीसंग आफ्नो रिती र परंपरा अनुसार शुभकामना साटासाट गरिरहेका थिए।

नगर परिक्रमा गर्नु अगाडि बरिष्ठ गायक प्रेमराजा महत र गायक नरेन्द्र प्यासीले राष्ट्रिय गीत गाएर कार्यक्रमको सुरुआत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै हेल्पिङ्ग हेण्डका अध्यक्ष नारायण श्रेष्ठले बोल्डर शहरमा नेपालीहरुको बसोबास बाक्लो हुदै गएपछि यहाँका स्थानीयलाई नेपाली भाषा संस्कृति पहिचान गराउन “नेपाल डे परेड”को सुरुआत गरिएको बताए। बिशेष अथिति महतले नेपाल र नेपालीको शिर उच्चा पार्ने यस्तो महत्व पूर्ण तथा सुन्दर कार्यक्रममा सहभागी हुनपाएकोमा आफू धेरै हर्षित भएको बताए।

त्यस्तैगरी बोल्डर शहरका मेयर सुजेन जोन्सले सबैलाई ह्याप्पी न्यू इयर भन्दै, बोल्डर शहरमा सबैलाई स्वागत छ भनिन् । उनले यति धेरै नेपालीहरु जम्मा भएर जन्मभूमिको पहिचाहनको लागि जुटेको देख्दा ज्यादै खुशी लागेको भन्दै यो कार्यक्रम हरेक बर्ष निरन्तर रहिरहने बताईन्।

त्यस्तै आयोजक संस्थाका अध्यक्ष बिनोद त्रीपाठीले नेपाल र नेपालीको पहिचाहन दिने यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए । सोही समारोहमा कोलोराडोबासीको निमन्त्रणालाई स्वीकार गरि कार्यक्रममा उपस्थित भई शोभा बढाई दिएको भन्दै बरिष्ठ गायक तथा महाबाणिज्यदूत प्रेमराजा महत , गायक नरेन्द्र प्यासी र हास्य कलाकार नारायण त्रिपाठीलाई सम्मान पत्र प्रदान गरिएको थियो।

कोलोराडोस्थित बोल्डर सिटी एण्ड काउन्टिको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो आईतबार नेपालीहरुको नया बर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गर्न थालिएको हो। नेपालीहरुको दिवस भनेर अमेरिकी सरकारबाट स्वीकृत भएको यो पहिलो सूचीकृत कार्यक्रम हो।

फोटोहरु: नातिबाबु भट्ट

थप फोटोहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

17370