एकै पटक २२ वटा उपन्यास लेखेका गुरुङ सम्मानित

पोखरा गुरुङ साहित्यिक मञ्च नेपालले लेखक एवं सामाजिक अभियन्ता गुरुङ रामप्रकाश समथिङको स्वागत तथा सम्मान गरेको छ।

लेखक समथिङले आफ्नो ४६ औं जन्मोत्सवको अवसर पारेर एकैपटक २२ वटा उपन्यासको हालै सामुहिक विमोचन गरेका थिए। छोटो समयमानै ४६ वटा कृति पाठक समक्ष ल्याउन सफल लेखक गुरुङ रामप्रकाश समथिङलाई गुरुङ साहित्यिक मञ्च नेपालले हालै सम्मान गरेको हो।

सम्मान कार्यक्रममा उनलाई गुरुङ संस्कार अनुसार पोखरेली युवा सांस्कृतिक परिवारका उपाध्यक्ष प्रकाश ज्ञवाली, जिफानका उपाध्यक्ष सु.जस बहादुर गुरुङ, अन्तर्राष्ट्रिय साहित्य समाज गण्डकीका अध्यक्ष दुर्गा शाह बाबा, तमु बौद्ध अर्घौ सदनका अध्यक्ष क्याप्टेन भुवनसिं गुरुङले सेतो टीका, फेटा, भाङ्ग्रा र फूलको माला सहितको मायाको चिनोबाट संयुक्त रुपमा स्वागत तथा सम्मान गरेका थिए।

पाँचथर फिदिमका लेखक गुरुङले हालसम्म खोजमूलक कृति १४ वटा र साहित्यिक कृति ३२ वटा गरि ४६ वटा कृति बजारमा ल्याईसकेका छन्।

लेखक समथिङले सम्मान कार्यक्रममा बोल्दै आजभोलि साहित्यलाई अनावश्यक रुपमा वादसँग जोडिन थालेको भन्दै पाठकलाई वादमा अलमलाउन नहुने र लेखक अनि साहित्यकारहरु वादबाट माथि उठेर सिर्जना कर्ममा लाग्नुपर्ने जोड दिए । मोफसलमा रहेर लेख्नेहरुलाई पनि लेखकको दर्जा दिन र समाचार माध्यमहरुले बिना भेदभाव स्थान दिनुपर्ने बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाज बेलायत च्याप्टरका अध्यक्ष सुमल कुमार गुरुङ,आदर्श समाज राष्ट्रिय दैनिकका रन्जन अधिकारी, गायक रामभक्त जोजिजु, तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी तमु र शिक्षाविद लोचना अधिकारीले लेखक समक्ष आफ्नो जिज्ञासा राखेका थिए । सो अवसरमा लेखक सुमल कुमार गुरुङले मञ्चलाई आफ्नो पाँच साहित्यिक कृतिहरु प्रदान गरेका थिए।

मञ्चका अध्यक्ष गौरी गुरुङले कुनै पनि जातिको जातीय अस्तित्व जिवन्त राख्नका लागि त्यस जातिको भाषा र साहित्यको विकास हुनुपर्ने बताउँदै स्वदेशदेखि विदेशसम्म गुरुङहरुको हजारौं सामाजिक र धार्मिक संस्था भएपनि साहित्यसँग सम्बन्धित संस्था नभएको अवस्थालाई मध्यनजर गरि गुरुङ साहित्यिक मञ्च गठन गरिएको बताईन्। साथै, उनले मञ्चले स्वदेश र विदेशमा रहेर गुरुङ र नेपाली साहित्यमा कलम चलाउने गुरुङहरुलाई एउटै छातामा आवद्ध गरि अगाडि बढ्ने जानकारी दिदै मञ्चको पहिलो कार्यक्रममा गुरुङ रामप्रकाश समथिङलाई स्वागत र सम्मान गर्न पाउँदा मञ्च अत्यन्त आभारी रहेको बताईन्।

कार्यक्रममा सभापतिको आशनग्रहण पूर्वनै पत्रकारहरुको सम्मानस्वरुप पत्रकारको आशन ग्रहण गराउँदै सुरु भएको कार्यक्रममा कलम र लेखनको सम्मान स्वरुप लेखकलाई मञ्चको तर्फबाट पारिश्रमिक सहित सम्मान गरिएको थियो । मञ्चका कोषाध्यक्ष अदृश गुरुङको स्वागत मन्तब्य र सचिव रोशनी गुरुङले सञ्चालन गरेको करिब दुई घन्टाको कार्यक्रममा उत्साहजनक सहभागीता रहेको थियो।





Comments

comments

Leave a Reply

17544