उपेन्द्र र बाबुरामले भक्तपुर नगरपालिकामा उम्मेदवार नै नपाएपछि…

काठमाडौं, २० वैशाख । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले स्थानीय तहको निर्वाचनमा मिलेर उम्मेदवारी दिने सम्झौता गरे । तर, भक्तपुर नगरपालिकामा उम्मेदवार नै पाएनन् ।

उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले भक्तपुरमा उम्मेदवार नपाएपछि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे।

भक्तपुरका लागि फोरम नेपाल, नयाँ शक्ति र क्रान्तिकारी माओवादीबीच तालमेल सम्झौता पनि भयो । तर, दुर्भाग्य क्रान्तिकारी माओवादीका तर्फबाट पनि उपमेयरका उम्मेदवार मनोनयन गर्ने व्यक्ति भेटिएन।

फोरम नेपालका केन्द्रीय सदस्य एवं महानगर इन्चार्जसमेत रहेका सानोराजा शाक्यका अनुसार तीन पार्टीबीच तालमेल गर्दासमेत उम्मेदवार नपाएपछि अन्ततः उपमेयरमा उम्मेदवारी दर्ता हुन सकेन।

फोरम नेपाल र नयाँ शक्ति काठमाडौं महानगरपालिकामा संयुक्त प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा फोरम नेपालका तर्फबाट पवित्र बज्राचार्य र उपमेयरमा नयाँ शक्तिकी सविना अर्यालले उम्मेदवारी दर्ता गराएका छन्।

मध्यपुर थिमी नगरपालिकाको मेयरमा नयाँ शक्तिका ज्ञानराम श्रेष्ठ मेयर र फोरम नेपालकी नानीछोरी बाडे उपमेयरका उम्मेदवार भएका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा फोरम नेपाल र नयाँ शक्तिले संयुक्त रूपमै निर्वाचन लडिरहेका छन्।

यी दुई पार्टीबीच एकीकरणको प्रयास भए पनि त्यसले मूर्तरूप लिन सकेको छैन । पार्टी एकीकरण हुन नसकेपछि दुई पार्टीले फोरमको मसाल चुनाव चिह्न लिएर निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेका थिए ।

अन्तिम समयमा निर्वाचनमा जान तयार भएको संघीय फोरमले नया शक्तिसँग सहकार्य गरे पनि अधिकांश स्थानमा उम्मेदवारी मनोनयन गर्न नसकेको पार्टीका नेताहरू नै स्वीकार गर्छन् ।

फोरम नेपाल निर्वाचनमा सहभागी भए पनि उसले घोषणापत्र सार्वजनिक गरेको छैन । उसले नयाँ शक्तिले सार्वजनिक गरेको घोषणापत्रलाई नै आधार बनाएर जनतासँग भोट माग्ने जनाएको छ । फोरम नेपालका महासचिव रामसहाय यादवले पार्टीका तर्फबाट घोषणापत्र सार्वजनिक नगरिएको बताए। राजधानी दैनिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

17559