काठमाडौं, ११ असोज। नेपालबाट दुई सय वर्षदेखि बेलायत तथा ६७ वर्षदेखि भारतीय सेनामा हरेक वर्ष नेपाली भर्ती भइरहेका छन्। विदेशी सेनामा करिब ४४ हजार नेपाली कार्यरत छन्।

हाल बेलायती सेनाको ब्रिगेड अफ गोर्खाजअन्तर्गत तीन हजार ६ सय र सिंगापुर पुलिसमा करिब चार सय नेपाली छन्। भारतीय सेनाका ६ रेजिमेन्ट र अर्धसैनिक बल आसाम राइफल्समा करिब ४० हजार नेपाली कार्यरत छन्। बेलायत र भारतको सेनामा रहेका नेपालीले दुई दर्जनभन्दा बढी युद्ध लडेका छन्।

सन् २०२० सम्म ब्रिटिस सेनाको कुल संख्या ८५ हजार पुर्‍याउने सरकारी योजनाअनुसार गोर्खाहरूको पनि संख्या थप कटौती हुने सम्भावना रहेको समाचार नयाँपत्रिका दैनिकले छापेको छ। बेलायतले वार्षिक ६० जना नेपालीलाई आफैँ छनोट गरेर गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्समा पठाइरहेको छ।

नेपालको सर्वोच्च अदालतले भने ३० असार ०६६ मा नेपाली युवाको सिंगापुर पुलिसमा भर्ती अवैधानिक रहेको फैसला गरेको छ। तर, सर्वोच्चको फैसला कार्यान्वयन भएको छैन।

भारतीय सुरक्षाविद्हरूले एक वर्षअघि गरेको अध्ययनअनुसार भारतीय गोर्खा रेजिमेन्ट तथा आसाम राइफलमा रहेकामध्ये ७० प्रतिशत नेपाली नागरिक छन् । भारतीय सेनामा हरेक वर्ष नेपाली भर्ती हुने गरेका छन्।

भारतीय सेनाको गोर्खा पहिलो, तेस्रो, चौथो, पाँचौँ, आठौँ, नवौँ र ११औँ राइफल्समा नेपाली कार्यरत छन्। यसबाहेक आसाम राइफल्सलगायतका अर्धसैनिक बलमा पनि करिब २० हजार गोर्खा सैनिक कार्यरत छन्। यी सबैमा पाँचदेखि ६ वटा बटालियन छन् । भारतले नेपालीलाई भारतीय सेनासरह सबै सेवा–सुविधा दिएको छ।

भारतीय तथ्यांकअनुसार ८० हजार पूर्वसैनिक, १७ हजार अवकाशप्राप्त आसाम राइफल्सका सैनिक र ११ हजार सैनिकका विधवाले नेपालमा पेन्सन बुझिरहेका छन् । उनीहरू सबैका लागि १२ सय करोड भारतीय रुपैयाँ वार्षिक खर्च गरिरहेको भारतको तथ्यांक छ।

हाल बेलायती सेनामा ब्रिगेड अफ गोर्खाजअन्तर्गत रोयल गोर्खा राइफल्स, क्विन्स गोर्खा सिग्नल्स, क्विन्स ओन गोर्खा लजिस्टक रेजिमेन्ट छन्। पछिल्लोपटक बेलायतका तर्फबाट अमेरिकी नेतृत्वको नेटो सैनिकसँगको समन्वयमा गोर्खालाई अफगानिस्तानमा खटाइएको थियो।

सन् १९४९ देखि सिंगापुर पुलिस फोर्समा गोर्खा कन्टिन्जेन्ट खडा गरिएको छ। सिख युनिटलाई विस्थापन गरी गोर्खा राखिएको यो फोर्स सिंगापुर पुलिसको महत्त्वपूर्ण अंग हो। अहिले गोर्खालाई सडक पेट्रोलियम, सिंगापुर एयरसोका अतिरिक्त सुरक्षाका लागि पनि खटाइएको छ।

हाल पोखरास्थित भर्ती केन्द्रमा गोर्खा सैनिकको अन्तिम छनोट हुने गरेको छ। त्यसपछि ब्रिगेड अफ गोर्खाजको ललितपुर मानभवनस्थित कार्यालयले उनीहरूलाई बेलायत जाने व्यवस्था मिलाउने गरेको छ। ब्रुनाई गोर्खा रिजर्भ युनिट, बु्रनाईका सुल्तानको स्पेसल गार्ड फोर्सका रूपमा गोर्खा कार्यरत छन्। हाल सिंगापुर र ब्रिटिस सेनाबाट अवकाश पाएका करिब चार सयको हाराहारीमा गोर्खा कार्यरत छन्।

कहाँ–कहाँ युद्ध लडे नेपालीले ?
बेलायत र भारतीय सेनामा भर्ती भएका नेपाली दुई दर्जनभन्दा बढी लडाइँमा सहभागी भएका छन्। भारतीय गोर्खाका तर्फबाट नेपालीले सन् १९६२ मा चीनसँग लडेका थिए। पाकिस्तानसँग १९६५ मा र बंगलादेश स्वतन्त्रताका वेला सन् १९७१ मा र १९९९ मा कार्गिलमा युद्ध लडेका छन्।

श्रीलंकाको लिट्टे अपरेसनमा सन् १९८७ मा पनि नेपालीले युद्ध लडेका थिए। गोर्खा सैनिक १९४८ मा हैदरावाद प्रहरी कारबाही, १९९९ मा कार्गिल लडाइँमा योगदान पुर्‍याएको भन्दै भारतको प्रसिद्ध परम वीर चक्र, अशोक चक्र, महावीर चक्रजस्ता सम्मानबाट पनि विभूषित छन्।

बेलायतका तर्फबाट नेपाली युवाले एक दर्जनभन्दा बढी युद्धमा सहभागिता जनाएका छन्। सन् १८८९ मा इजिप्ट, सन् १८९० मा रसिया र मध्य एसियामा नेपालीले लडेका थिए। दुईवटा विश्वयुद्धमा सहभागिता जनाएका गोर्खालीले इरान, इराक, कोसोभो, सियरालियोन, ग्रिस, इटली, जापान, जर्मनी, ककेससमा बेलायतका पक्षमा लडेका थिए। मलेसियाको गुरिल्ला वार, सिंगापुर, इन्डोनेसिया र मलेसियाको सीमा विवाद, ब्रुनाई विद्रोह र अर्जेन्टिनाको फकल्यान्डमा पनि गोर्खालीले बेलायतका तर्फबाट युद्ध लडेका थिए। बेलायतले १२ जना गोर्खालाई भिक्टोरिया क्रसको सम्मान दिए पनि पेन्सन र अन्य सुविधा नपाएरै उनीहरूमध्ये धेरैको मृत्यु भइसकेको छ।



.















Comments

comments