बेलायतमा पहिलो पटक नेपाली गायन प्रतिस्पर्धा हुंदै

भूमिराज राई / एचकेनेपाल डट कम –

लण्डन । बेलायतबासी आप्रवासी नेपालीहरुबीच एभरेष्ट आइडल टाइटलको गायन प्रतियोगिता आयोजना हुने भएको छ।

बेलायतमा स्थापित एभरेष्ट इन्टरटेनमेन्ट एन्ड मेडियाहव लिमिटेड (इ-मेडिया हब)ले एक प्रेस टेलिकन्फ्रेन्स आयोजना गरेर सो जानकारी गराएको छ। इमेडिया हब लिमिटेडका चिफ इक्च्युकेटिभ ईश्वर चाम्लिङका अनुसार १३ मे अर्थात आगामी शनिबारदेखि सहभागीहरुको फाराम दर्ता प्रक्रिया शुरु गरिने छ।

किरात राई जातिको साकेला चाडको दिन सोही स्थलमा पहिलो पटक प्रत्यक्ष दर्ता गरिने छ।

सहभागीहरुको सुबिधाको लागि अनलाइन, इमेल, फेसबुक, टेलिफोन लगायतका माध्यमबाट पनि अप्रत्यक्ष दर्ता लिइनेछ।

आगामी मे २८ तारिख आयोजना हुने गोर्खा कपमा पनि प्रत्यक्ष दर्ताको स्टल राखिने साथै कम्पनीले आयेजना गर्ने “एभरेष्ट म्युजिकल ब्लास्ट” कार्यक्रमहरुमा पनि दर्ताको टेबल रहने छ।

बिभिन्न ६ कार्यक्रमहरुबीच छनौट हुदै अक्टोबर २८ तारिख अल्डरसटको एम्पायर हलमा आयोजना हुने ग्रान्ड फिनालेमा उत्कृष्ट “एभरेष्ट आइडल” लाई १ हजार २ सय पाउन्ड (करिब १ लाख पचास हजार रुपैया), दोस्रो हुनेलाई ५ सय पाउण्ड र तेस्रो हुनेलाई २ सय पाउण्ड नगद तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ।

नेपालमा आयोजना भइरहेको नेपाल आइडलको बारेमा पनि केही टिप्पणी गर्दै चाम्लिङले नेपाल आइडलमा सहभागी हुन नसकेका तर बिशेष प्रतिभावान प्रतिभाहरुलाई एभरेष्ट आइडलमा कन्सिडर गर्न सकिने सम्भावना भएको बताए।

एभरेष्ट आइडलको निर्णायकहरुको बारेमा बुझ्न खोज्दा बरिष्ट गायक सङ्गीतकारहरुको भिसाको प्रोसेस शुरु भैसकेको तर भिसा नलागि नाम खुलाउन नमिल्ने जानकारी दिए।

इ-मेडिया हव लिमिटेड युकेले यहि मे २० तारिखदेखि बेलायतको बिभिन्न शहरहरुमा बहुचर्चित गायिका मेलिना राई र रेवत राईलाई नेपालबाट बोलाएर साथै बेलायतको चर्चित र्यापर गोम्जा लामा, युके डान्स अफ बिजेता चर्चित डान्सर जेनी सुनुवारसहित युथ बिशेष कार्यक्रम “एभरेष्ट म्युजिकल ब्लास्ट” को युथ होस्ट लेक्स लिम्बु र निआ देवानको साथमा आयोजना गर्दै छ।





Comments

comments

Leave a Reply

17635