अकुपाई सेन्ट्रल | प्रदर्शनकारीहरूको शान्तिपूर्ण गिरफ्तारी

डिसेम्बर १२ – प्रदर्शनकारीहरूको शान्तिपूर्ण गिरफ्तारी

हङकङ, झण्डै २ महिना लामो आन्दोलनमा डटिरहेका प्रदर्शनकारीहरूले प्रहरीसमक्ष पालैपालो शान्तिपूर्ण गिरफ्तारी दिएका छन्। प्रहरीले एडमार्लिटीमा शान्तिपूर्ण धर्नामा बसेका प्रदर्शनकारीहरूलाई सडकबाट हटाएकै दिन विहीवार राति सेन्ट्रलमा रहेका प्रदर्शनकारीहरूलाई पक्राउ गरेको हो। पक्राउको क्रममा प्रदर्रशनकारीहरूले कुनै विरोध र झडपबिना शान्तिपूर्णढंगले पालैपालो गिरफ्तारी दिएका हुन् (हेर्नुहोस् तल हाम्रा फोटोपत्रकार जगतअम्बु गुरूङले खिचेको भिडियो)। सन् २०१७ मा हुने हङकङको कार्यकारी प्रमुखको निर्वाचन पूर्णलोकतान्त्रिक विधिबाट हुनुपर्ने मागसहित लोकतान्त्रिक पक्षधरका विद्यार्थीहरूले अकुपाई सेन्ट्रलको नामबाट शुरू गरेको यो आन्दोलन अहिले अम्ब्रेला मुभमेन्टको नामले चर्चित छ।

भिडियो:

अक्टोबर २१ – तीन साता लामो आन्दोलनपछि सरकार र विद्यार्थीबीच पहिलो पटक वार्ता
हङकङ। तीन साता लामो आन्दोलनपछि सरकार र आन्दोलनरत विद्यार्थी संघका प्रतिनिधिबीच मंगलवार साँझ पहिलो पटक वार्ता भएको छ। करीब २ घण्टासम्म चलेको वार्तापछि सञ्चारकर्मीहरूसंग बोल्दै मुख्य सचिव केरी लामले वार्ता रचनात्मक रहेको बताएकी छन्। उनले वार्ता कुनै मतभेद र टकरावबिना सम्पन्न भएको बताएकी छन्। सरकार र विद्यार्थीबीच वार्तामा भएका प्रतिवेदनलाई केन्द्र सरकारसम्म पुर्याउने लामले बताएकी छन्। वार्तापछि विद्यार्थीहरूले वार्ता शान्तिपूर्ण भएपनि सरकारबाट आफूहरू स्पष्ट हुन नसकेको प्रतिक्रिया दिएका छन्।


Photo: @SCMP_News

वार्ताको प्रत्यक्ष टिभि प्रसारण हेर्दै मंग कोकस्थित सडकमा रहेका प्रदर्शनकारीहरू।
भिडियोः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

अक्टोबर २- सावधान प्रहरीले पक्राउ गर्न सक्छ
हङकङ। पूर्णलोकतान्त्रिक चुनावको मागसहित विश्वविद्यालयमा अध्ययनरत प्रजातन्त्र समर्थित विद्यार्थीहरूबाट शुरू भएको अकुपाई सेन्ट्रल (छाता आन्दोलन)तेस्रो सातामा प्रवेश गरेको छ। प्रदर्शनका कारण विशेष गरी कजवे बे, वान चाई, एडमार्लिटी र मंग कोकका सडकहरू अस्तव्यस्त रहे भने यातायात पूर्णरूपमा अवरूद्ध रहे। प्रहरीले केही ठाउंहरूबाट प्रदर्शनकारीलाई हटाउने प्रयाश गरेपनि सफल हुन सकेन। यसक्रममा पटक पटक झडप, धरपकड र प्रदर्शनकारीहरू घाइतेसमेत भएका छन्। अहिलेसम्मको स्थिति हेर्दा जारी विरोध प्रदर्शन अझै लम्बिने छ। सरकार र विद्यार्थी संघका प्रतिनिधिहरूबीच वार्ता हुने भनिएपनि अहिलेसम्म वार्तामा बस्न सकेको छैन।

यसैबीच, प्रहरीले अनलाइन (सामाजिक सञ्जालहरू)मा पोष्ट गरेर प्रदर्शनमा सहभागी हुन आह्वान गर्नेलाई पक्राउ गर्ने चेतावनी दिएको छ। टिन शुई वाईबाट शनिवार २३ वर्षीय एक युवकलाई पक्राउ गरेपछि प्रहरीले अनलाइन तथा सामाजिक सञ्जालहरूमा निगरानी बढाएको हो। त्यसै गरी, सडक अवरोध पार्ने, भीडमा उत्तेजना फैलाउने तथा प्रहरीमाथि जाइ लाग्न उत्प्रेरित गर्ने / गराउनेलाई पनि प्रहरीले पक्राउ गर्न सक्ने चेतावनी दिएको छ।

अक्टोबर १८- मोङ कोकको सडक फेरि प्रदर्शनकारीको कब्जामा, दुई पक्षबीच झडप, २६ गिरफ्तार
आन्दोलनको अर्को प्रभावपूर्ण क्षेत्र मोङ कोकको सडक फेरि प्रदर्शनकारीहरुले शुक्रवार कब्जामा लिएपछि त्यहाँबाट हटाउन प्रहरीलाई हम्मेहम्मे परेको छ। प्रहरीले प्रदर्शनकारीलाई हटाउन खोज्दा पटक पटक झडप भएको छ भने पेपर स्प्रे प्रयोग गरी प्रदर्शनकारीलाई तितरवितर पार्ने प्रहरीको प्रयाश निरर्थक बनेको छ। प्रहरीले शनिवार बिहानसम्म २६ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ। यसअघि, प्रहरीबाट प्रदर्शनकारीमाथि चरम दमन भएको भिडियो सार्वजनिक भएपछि चर्को आलोचना खेपेको सरकारले वाध्य भएर ७ जना प्रहरीलाई निलम्बित गरेको थियो।


झण्डै पूर्णरूपमा खाली भइसकेको सडकमा फेरि हजारौं प्रदर्शनकारी मोङ यसरी भेला भए।
तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू यहाँ छन्…

अक्टोबर १६- डेमोक्रेटिक पार्टीका १० जिल्ला पार्षदद्वारा संयुक्तरुपमा राजीनामा, ७ प्रहरी निलम्बित
डेमोक्रेटिक पार्टीका १० जना जिल्ला पार्षदहरुले सिभिक पार्टीका कार्यकर्ता केन चाङमाथि प्रहरीले कथित कुटपिट गरेको भन्दै त्यसको विरोधमा विहीवार संयुक्तरूपमा राजीनामा दिएका छन्। विद्यार्थीहरुको जारी प्रदर्शनमा सहभागी केनलाई प्रहरीले पक्राउपछि हत्कडी लगाई सकेको अवस्थामा कुटपिट गरेको थियो। यसैबीच सरकारले घटनामा संलग्न ७ जना प्रहरीलाई निलम्बन गरेको छ। घटनाको चौतर्फी आलोचना भएको थियो। सरकारले सम्भवत: अर्को साता आन्दोलनरत विद्यार्थी संघका प्रतिनिधिहरुसंग वार्तामा बस्न सक्ने संकेत दिएको छ।

अक्टोबर १५ – प्रहरीले यसरी कुटपिट गरेर रिस पोख्यो हेर्नुहोस् भिडियो
प्रदर्शनकारीको अगाडि तैनाथ प्रहरीमाथि दुर्व्यबहार गरेको भन्दै पक्राउपछि हत्कडी लगाएर प्रहरीले एक प्रदर्शनकारीलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा प्रहरीद्वारा पिटाई खाएका प्रदर्शनकारी पछि सिभिक पार्टीको कार्यकर्ता केन चाङ रहेको पहिचान खुलेको छ।

अक्टोबर १५ – हङकङका सर्वाधिक धनाढ्य लि का शिङ पनि झुके विद्यार्थीहरुसंग
हङकङका सर्वाधिक धनि व्यक्ति लि का शिङले बुधवार एक प्रेस विज्ञप्ति जारी गरेर विद्यार्थी प्रदर्शनकारीहरुसंग सडक छोड्न आग्रह गरेका छन्। शिङले विद्यार्थीहरुको आवेग सुनेको भए पनि विद्यार्थीहरु आफ्नै ज्ञानद्वारा निर्देशित हुनुपर्ने सुझाएका छन्। विधिको शासनलाई सबैले पालना नगरे हङकङको लागि त्यो सबैभन्दा ठूलो दु:ख हुने शिङले बताएका छन्।

‘मेरा युवा मित्रहरु। तपाईंका अभिभावक, परिवारका सदस्यहरु, हङकङका सबै जनता र केन्द्र सरकार तपाईहरुको भलाईको लागि चिन्तित छन्। तपाईहरुले सफलतापूर्वक आफ्नो सन्देश अवगत गराई सक्नुभएको छ र हरेकले तपाईलाई सुनिसकेका छन्। प्रेस विज्ञप्ति भनेका छन् आजको जोश भोलिको लागि पश्चताप नबनोस्। त्यसैले म विनम्रतापूर्वक आग्रह गर्छु आफ्नो परिवारमा फर्कनुहोस्।’ अमेरिकी डलर ३०.६ बिलियनका मालिक शिङले हङकङको जीवन र राजनीतिक प्रणाली ‘एक देश दुई प्रणाली ‘अन्तर्गत ५० वर्षको लागि सुरक्षित रहेको बताउंदै त्यो तुरन्त परिवर्तन नहुने आशय व्यक्त गरेका छन्।

अक्टोबर १४ – प्रहरी र प्रदर्शनकारीबीच फेरि झडप, सुरूङ मार्ग अवरूद्ध
प्रहरीले प्रदर्शनकारीद्वारा कब्जामा लिएका अधिकांश सडकका अवरोधहरू हटाएपछि रूष्ट बनेका प्रदर्शनकारीहरूले लुङ वो रोडमा भेला भएर त्यहाँस्थित सुरूङ मार्ग अवरूद्ध पारेका छन्। प्रहरीले प्रदर्शनकारीलाई हटाउने क्रममा झडपसमेत भएको छ। प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न पेपर स्प्रे प्रयोग गरे पनि प्रदर्शनकारी पछि हटेका छैनन्। स्थिति तनावपूर्ण।

अक्टोबर १४ – प्रहरीले सडकका अवरोधहरू हटाएपछि यातायात सुचारू
दुई साताभन्दा लामो प्रदर्शनका कारणमा अवरूद्घ कजवे बे र एडमिराल्टीका सडकका छेकवार र अवरोधहरू प्रहरीले हटाएपछि यातायात सुचारू भएको छ। प्रदर्शनकारीले सडक कब्जामा लिएपछि दुई साताभन्दा लामो समयसम्म त्यस क्षेत्रका यातायात सुचारू हुन सकेको थिएन। प्रहरीले सडकमा प्रदर्शनकारीले राखेका सबै छेकवार र अवरोध हटाउने क्रममा केही तनाव र सामान्य झडप पनि भएका थिए। त्यसैगरी, बेइजिङ समर्थक र प्रदर्शनविरोधी केही मासधारी समूहबाट प्रदर्शनकारीलाई आतंकित पार्ने तथा आक्रमणका प्रयाश भएका थिए। यसैबीच, प्रहरीले प्रदर्शनकारीलाई नभएर सडक रोक्न राखिएका अवरोधहरूमात्र हटाएको जनाएको छ। कजवे बे र एडमिराल्टीका सडकका अवरोध हटाएपछि मोङ कोकका अवरूद्ध सडक खोल्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

अक्टोबर १२ – विद्यार्थीहरुको माग पूरा हुने सम्भावना लगभग शून्य: कार्यकारी प्रमुख सी वाई लिउङ
हङकङका कार्यकारी प्रमुख सी वाई लिउङले पूर्णलोकतान्त्रिक चुनावको माग गर्दै दुई साताभन्दा लामो समय प्रदर्शनरत विद्यार्थीहरुको माग पूरा हुने सम्भावना लगभग शून्य रहेको बताएका छन्। स्थानीय टीभिबी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बोल्दै लिउङले लम्बिदै गएको प्रदर्शनको अन्त्य हुनुपर्ने बताएका छन्। विद्यार्थीहरुले प्रदर्शनको अन्त्य नगरे सरकारले न्यूनतम बल प्रयोग गरेर भएपनि हटाउन सक्ने चेतावनी दिएका छन्। उनले प्रदर्शनकारीको दबावमा राजीनामा नदिने अडान फेरि दोहोराएका छन्।

अक्टोबर ११ -विद्यार्थी नेत्रीद्वारा राजीनामा
हङकङमा जारी प्रदर्शनको नेतृत्व गरेरहेकामध्ये एक विद्यार्थी नेत्री तथा स्कोलरिजम समूहकी प्रवक्ता एग्नेस चाउले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएकी छन्। चाउले आफू १७ वर्षको कलिलो उमेरमै यतिधेरै थकान र तनाव झेल्न नसक्ने बताउँदै जिम्मेवारीबाट मुक्त हुन चाहेको वक्तव्यमा जनाएकी छन्। उनले विद्यार्थीहरुले शुरु गरेको आन्दोलनमा साथ र समर्थन जनाउने सबैप्रति कृतज्ञतासमेत जाहेर गरेकी छन्।

अक्टोबर १० – हङकङमा जारी प्रदर्शनबाट हलिउड स्टार ज्याकी च्याङ असन्तुष्ट
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, हलिउडका एक्सन स्टार ज्याकी च्याङले हङकङमा जारी प्रदर्शनबाट असन्तुष्ट रहेको अभिव्यक्ति दिएका छन्। दुई साता लामो प्रदर्शनबाट खस्किदै गएको हङकङको अर्थतन्त्रबाट चिन्तित च्याङले प्रदर्शनकारीहरूसंग संगै काम गर्न, भविष्यको सामना गर्न र हङकङलाई प्यार गर्न आग्रह गरेका छन्। उनले प्रदर्शनका कारण हङकङलाई करीब ३५० बिलियन आर्थिक घाटा परेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

अक्टोबर १० – आज हुने भनिएको सरकार र विद्यार्थीबीचको वार्ता स्थगित
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, सरकार र विद्यार्थी संघका प्रतिनिधिहरुबीच आज शुक्रवार हुने भनिएको वार्ता स्थगित भएको छ। विद्यार्थीहरुले शक्ति प्रदर्शनको लागि एडमार्लिटीमा सबैलाई भेला हुन आह्वान गरेपछि सरकारले एकतर्फी रुपमा वार्ता स्थगित गरेको हो। सरकारको तर्फबाट मुख्य सचिव केरी लामले वार्ता रद्द भएको जानकारी दिएकी हुन्।

अक्टोबर ९ – मिनीबस चालकहरुद्वारा कजवे बेका सडकहरु खुला गर्न माग
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, मिनीबस चालकहरुले सडक कब्जा गरेर बसेका प्रदर्शनकारीसंग कजवे बे क्षेत्रका सडकहरु खुला गर्न माग गरेका छन्। प्रदर्शनका कारण आफ्ना मिनीबस चलाउन नपाउंदा ७५ प्रतिशत व्यापार घाटामा गएको भन्दै उनीहरुले सडक खोल्न आग्रह गरेका हुन्।

अक्टोबर ९ – अकुपाई सेन्ट्रल १२औं दिनमा
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, हङकङमा पूर्णलोकतान्त्रिक चुनावको माग गर्दै विद्यार्थीहरूले शुरू गरेको प्रदर्शन अकुपाई सेन्ट्रल (अरूले छाता क्रान्ति भनेपनि विद्यार्थी नेताहरू यसलाई छाता क्रान्ति भन्न रूचाउंदैनन्) १२औं दिनमा प्रवेश गरेको छ। झण्डै दुई हप्ता बितिसक्दा प्रदर्शनलाई कसरी टुङ्ग्याउने भन्नेबारे विद्यार्थी संघका प्रतिनिधिहरू नै अलमलमा परेका छन्। उनीहरूले सोच्दै नसोंचेको जनलहर र चर्चा दुबै पाएको यो प्रदर्शनले हङकङको छबिलाई भने त्यति नै असर पुर्याएको यहाँका केही राजनीतिक विश्लेषकहरू बताउंछन्।

अक्टोबर ८ – वार्ता शुक्रवार हुने
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, झण्डै दुई हप्ता लामो प्रदर्शनपछि विद्यार्थी संघका प्रतिनिधिहरू र सरकारबीच शुक्रवार वार्ता हुने मिति तोकिएको छ। सरकारले वार्तामा बोलाए पनि विद्यार्थी प्रतिनिधिहरू पटक पटक विभिन्न कारण देखाउंदै पन्छिदै थियो। वार्ताको मिति शुक्रवार तोकिहाले पनि वार्ता हुने कुरामा अझै शंका हटेको छैन। प्रदर्शनमा शुरूका केही दिन व्यापाकरूपमा जुटेको जनसहभागिता विस्तार फितलो हुंदै गएपछि विद्यार्थीहरू हतास र निराश बनेका छन्। तैपनि कजवे बे, एडमिराल्टी, मंग कोकका केही सडकहरू अझै प्रदर्शनकारीहरूको कब्जामा छन्। थोरै संख्यामा रहेका प्रदर्शनकारीहरूले वेइजिङ समर्थक, प्रदर्शनविरोधी र प्रदर्शनबाट पीडित व्यापारी तथा व्यवसायीहरूबाट पटक पटक सडक छोड्नु पर्ने दबाब झेलिरहेका छन्।

अक्टोबर ७ – अकुपाई सेन्ट्रलका आयोजकविरूद्ध मुद्धा हाल्ने तयारी
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, प्रदर्शनका कारण आफ्नो व्यवसाय ठप्प भएको भन्दै एक युवा रेष्टुरेण्ट व्यवसायी रेमण्ड लियुले अकुपाई सेन्ट्रलका आयोजकविरूद्ध मुद्धा हाल्ने तयारी गरिरहेका छन्। कजवे बे, वान चाई र चिम सा चुईका आफ्ना ४ वटा रेष्टुरेण्टमा झण्डै ५ लाख डलर घाटा भएको लियुले बताएका छन्। वकिलहरूसंग परामर्श लिई पर्याप्त प्रमाणका साथ आयोजकविरूद्ध मुद्धा हाल्ने तयारी गरिरहेको उनले बताएका छन्।

अक्टोबर ७ – खाली हुदै गएको सडक
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, आन्दोलन १० दिनसम्म पुग्दा अझै प्रदर्शनकारीहरूले पूर्णरूपमा सडक छाडेका छैनन्। रातभर जाग्राम बसेर भएपनि प्रदर्शनलाई निरन्तरता दिएका छन्।

अक्टोबर ६ – प्रदर्शन फितलो हुंदै, कर्मचारीहरू काममा फर्किन थाले
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, हङकङमा सन् २०१७ मा हुने चुनाव पूर्णलोकतान्त्रिक हुनु पर्ने माग गर्दै शुरू भएको प्रदर्शन जनसहभागिता कम हुन थालेपछि विस्तारै फितलो हुदै गएको छ। विदाको दिन शनिवार साँझ र आइतवार दिनभर प्रदर्शनमा बाक्लो जनसहभागिता रहेपनि सोमबार बिहानसम्म पातलिदै गएको हो। प्रदर्शनले अस्तव्यस्त सडक खाली हुंदै गएपछि कर्मचारीहरू काममा फर्किन थालेका छन्। यसैबीच, विद्यार्थी संघका प्रतिनिधिहरूले सरकारसंग वार्तामा बस्न स्वीकार गरेका छन्। तर, उनीहरूले प्रदर्शन भने जारी नै राख्ने बताएका छन्। त्यसैगरी, सरकारले सोमबारदेखि विद्यालयहरू खुल्ने भएकोले विद्यार्थीहरूलाई विद्यालय फर्कन अपिल गरेको छ।

अक्टोबर ५ – हाम्फालेर आत्महत्या गर्ने धम्की
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, साताभन्दा बढी लामो प्रदर्शनबाट पीडित एक अभिभावकले प्रदर्शनका कारण बन्द रहेका सम्पूर्ण विद्यालय र सडकहरू खोल्नु पर्ने माग गरेका छन्। उनले प्रदर्शनका कारण आफ्ना र अरू बालबच्चाहरूले पढ्न नपाएकोले बन्द रहेका बिद्यालय र सडकहरू खोल्नु पर्ने मागसहित एडमिराल्टीस्थित सडकमाथिको पुलमा चढेर आत्महत्याको धम्की दिएका हुन्। हेर्नुहोस् हाम्रा फोटोपत्रकार जगतअम्बु गुरूङले खिचेको भिडियो दृश्य।

अपडेटः उनको पछि सकुशल उद्धार गरिएको छ।

अक्टोबर ५ – नारा जुलुसको तनावबीच एक जोडीको विवाहको इन्गेजमेन्ट
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, दिनरात तनावग्रस्त बन्दै गएको मंग कोकमा विहान एक जोडीले विवाहको लागि बाचाबन्धनमा बाँधिएका छन्। २२ वर्षीय याउ चि हाङले प्रेमिका क्रिस्टल च्याङ अगाडि घुँटा टेकेर विवाहको प्रस्ताव राख्दा सबैले ताली बजाएर खुशि बाँडेका थिए।

अक्टोबर ५ – प्रदर्शनकारीसंग व्यवसायीहरू आक्रोशित
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, अकुपाई सेन्ट्रलको प्रदर्शन आठौं दिनसम्म पुग्दा बेजिङ समर्थक, प्रदर्शन विरोधी र व्यवासायीहरूले प्रदर्शनकारीमाथि आक्रोश पोख्न थालेका छन्। नारा जुलुश प्रभावित क्षेत्रका व्यापार व्यवसाय ठप्प नै भएपछि व्यवासायीहरूले सडक खाली गर्न प्रदर्शनकारीसंग आग्रहमात्र गरेका छैनन् जे पनि गर्न सक्ने धम्की दिएका छन्। महिनामा ८० हजार डलर भाडा तिर्नु पर्ने पसलमा दिनमा ८० / ९० डलरको व्यापारमात्र भएको छ। एक पसलेले चिन्ता व्यक्त गर्दै भनेका छन्, अब के गर्ने? उनी एक प्रतिनिधि पात्र हुन्।

जारी प्रदर्शनले धेरै क्षेत्रमा प्रभावित पारेको छ। व्यापार व्यवसाय घटेको छ भने बाहिरबाट आउने पर्यटकको संख्या पनि घटेको छ। प्रदर्शनका कारण केही स्कूल तथा विश्वविद्यालयहरूसमेत बन्द छन्।

अक्टोबर ४ – मंग कोक दिनभर तनावमा, थप प्रदर्शन विरोधीहरू पक्राउ
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, बेइजिङ समर्थक र केही प्रदर्शनबिरोधीहरूले दिनभर जसो मंग कोक क्षेत्रमा सन् २०१७ हुने चुनाव पूर्णलोकतान्त्रिक हुनु पर्ने मागसहित प्रदर्शनमा उत्रेकाहरूलाई आतंकित मात्र गरेन आक्रमण प्रयाश पनि गरे। प्रहरीले प्रदर्शनकारीको सहयोगमा थप प्रदर्शनबिरोधीहरूलाई पक्राउ गरेको छ। हेर्नुहोस् हाम्रा फोटोपत्रकार जगतअम्बु गुरूङले खिचेको भिडियो दृश्य।

अक्टोबर ४ – मंग कोक क्षेत्र तनावग्रस्त, प्रदर्शनकारीमाथि आक्रमण, १८ घाइते, १९ जना पक्राउ
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, हिजो शुक्रवार राति र आज विहान मंग कोक निकै तनावग्रष्त रह्यो। प्रदर्शनविरोधी समूहले प्रदर्शनकारीमाथि धावा बोलेपछि युद्ध क्षेत्रसरह बन्यो मंग कोक। शान्तिपूर्ण धर्नामा बसेका प्रदर्शनकारीमाथि आक्रमण गरेपछि दुई पक्षबीच झडप हुंदा कम्तीमा १८ जना घाइते भएका छन्। प्रहरीले हस्ताक्षेप गरी १९ जना आक्रमणकारीलाई पक्राउ गरेको छ। प्रदर्शनकारीमाथि यसरी भयो आक्रमण हेर्नुहोस् भिडियो…

अक्टोबर ३ – आतंक फैलाउंदै प्रदर्शनकारीमाथि आक्रमण गर्ने भिजिलान्तेहरू प्रहरीको कब्जामा
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, आतंक फैलाउंदै प्रदर्शनकारीमाथि आक्रमण गर्ने भिजिलान्तेहरूलाई प्रहरीले मंग कोकबाट शुक्रवार राति पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ३ जना प्रदर्शनकारीको लछारपछारबाट घाइते भएपछि उपचारको लागि अस्पताल लगिएको छ भने बाँकीलाई हत्कडी लगाएर राखेको छ। उनीहरूको आक्रमणबाट केही प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ। घटनास्थल पुगेका हाम्रा फोटोपत्रकार जगतअम्बु गुरूङले खिचेको भिडियो दृश्य हेर्नुहोस्।


भिडियोमा भिजिलान्ते भनिएका कलिला किशोरहरू हत्कडीमा छन्। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम।

अक्टोबर ३ – मंग कोकमा तनाव, प्रदर्शनकारी र प्रदर्शनविरोधीबीच झडप, प्रहरीद्वारा हस्ताक्षेप
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, मंग कोकमा झण्डै ४०० को संख्यामा आएको प्रदर्शनविरोधी समूहले धर्नामा बसेका प्रदर्शनकारीमाथि करीव ५ बजे आक्रमण प्रयाश हुंदा स्थिति तनावपूर्ण बनेपछि प्रहरी आएर स्थितिलाई नियन्त्रणमा लिएको छ। प्रदर्शनकारीले सडक ठप्प पारेर व्यापार व्यवसाय चौपट्ट पारेपछि सडक छोडर जान गरेको आग्रह नमान्दा दुई पक्षबीच झडप भएको जनाएको छ।

अक्टोबर २ – म राजिनाम दिन्नः हङकङका मुख्य कार्यकारी सी वाई लिउङ
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, हङकङका मुख्य कार्यकारी सी वाई लिउङले विद्यार्थीहरूको दबाबमा आएर आफूले राजिनामा नदिने बताएका छन्। पत्रकार सम्मेलनमा बोल्दै विहीवार राति लिउङले राजिनामा नदिने बताएका हुन्। राजिनामा नदिए पनि विद्यार्थीहरूसंग वार्ता गर्न सरकार तयार रहेको बताए।

उनले विद्यार्थीसंग हुने वार्ता केबल हङकङको आधारभूत कानुनको आधारमा हुने बताए। सरकारी कार्यालय भवन घेराबन्दीमा पारेका प्रदर्शनकारीको कार्यलाई उनले गैरकानुनी बताए। लिउङले हङकङको बेसिक ल (आधारभूत कानुन)लाई सबैले पालना गर्नुपर्ने बताए। राजनितिक सुधारका लागि लिउङले विद्यार्थी संघका प्रतिनिधिहरूसंग वार्ता गर्न उनका सहायक, मुख्य सचिव केरी लामलाई नियुक्त गरेका छन्।

अक्टोबर २ – विद्यार्थी प्रदर्शनकारीहरूले राखेको मुख्य कार्यकारी लिउङको राजिनामासहित ४ माग खारेज
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, एक पूर्वशीर्ष अधिकारीहरूले विद्यार्थी प्रदर्शनकारीहरूले राखेको हङकङको मुख्य कार्यकारी सी वाई लिउङको राजिनामासहित ४ माग खारेज गरिदिएको छ। विद्यार्थीहरूले आज विहीबारसम्म मुख्य कार्यकारी लिउङको राजिनामा हुनुपर्ने मागसहित केन्द्र सरकारले तोकेको चुनाव विधि रद्द हुनु पर्ने या त संशोधन गर्नुपर्ने लगायतका थिए।

अक्टोबर २ – प्रदर्शनकारीहरूले कब्जामा लिएका सडकहरू
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, अकुपाई सेन्ट्रलको नाममा शुरू भएको शान्तिपूर्ण आन्दोलन पाँचौं दिनसम्म आईपुग्दा प्रदर्शनकारीहरूले कहाँ कहाँको सडक कब्जा गरे हेर्नुहोस् नक्शामा। पहेंलाे रंगमा अंकित सडकहरू प्रदर्शनकारीको कब्जामा रहेका छन् भने प्याजी रंग अंकित सडकहरू प्रदर्शनकारीले अवरूद्ध पारेका हुन्। रातो रंग विरोध प्रदर्शन भइरहेको मुख्य क्षेत्रहरू हुन्।

अक्टोबर २ – प्रदर्शन गैरकानुनीः चिनीयाँ विदेशमन्त्री
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, अमेरिका भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले हङकङमा जारी प्रदर्शनलाई गैरकानुनी बताउंदै बन्द गर्न प्रेस विज्ञप्तिमार्फत अपिल गरेका छन्। हङकङमा जारी प्रदर्शन चीनको आन्तरिक मामिला भएकोले कुनै पनि देशले यस्तो गैरकानुनी कार्यको समर्थन गर्न नहुनेसमेत वाङले बताएका छन्।

अक्टोबर १ – आन्दोलनमा नेपालीहरू पनि
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, पूर्णलोकतान्त्रिक चुनावको मागसहित हङकङमा जारी भद्रअबज्ञा आन्दोलन (अकुपाई सेन्ट्रल) मा नेपालीहरूसमेत मिसिएका छन्। धर्ना तथा जुलुसहरूमा नेपालीहरूको सहभागिता देखिन थालेको छ। त्यस्तै विभिन्न ठाउंहरूमा नेपाली अक्षरमा लेखिएका ब्यानारहरूसमेत भेटिन थालेका छन्। तस्वीरहरूः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम


भद्रअबज्ञा आन्दोलनमा सहभागी नेपालीको एक समूह। देब्रेबाट वरिष्ठ संगीतकार दिनेश सुब्बालगायत..


थप तस्वीरहरू…

अक्टोबर १ – भिडियोमा अक्टोबर १
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, ‘अकुपाई सेन्ट्रल’ आन्दोलनको सबैभन्दा प्रभावित क्षेत्र सेन्ट्रल र मंग कोकको अवस्था दिनमा कस्तो रह्यो हेर्नुहोस् हाम्रा फोटो पत्रकार जगतअम्बु गुरूङले क्यामरा कैद गरेको भिडियो दृश्यः

अक्टोबर १ – पहेंलो रिबनको अर्थ
एचकेनेपाल डट कम संवाददाता-
हङकङ,

पहेंलो रिबनको सोझो अर्थ:

पहेंलो रिबन, न प्रहरीको विरूद्ध हो या चीनको विरूद्ध। यो त्यो प्रतीक हो जो हामी चाहिरहेका छौं… लोकतन्त्र।
– स्नेहा रोय @sneroy (अकुपाई सेन्ट्रलका एक समर्थक)

अक्टोबर १ – ‘अकुपाई सेन्ट्रल’ आन्दोलन चर्किरहेको बेला वरिष्ठ प्रहरी इन्सपेक्टरद्वारा आत्महत्या
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, ‘अकुपाई सेन्ट्रल’ आन्दोलन चर्किरहेको बेला एक जना वरिष्ठ प्रहरी इन्सपेक्टरले बुधवार विहान करीब ३ बजे आफ्नै कार्यकक्षमा गोली हानेर आत्महत्या गरेका छन्। हङकङ प्रहरीका अनुसार आत्महत्या गर्ने प्रहरी अधिकृत ५० वर्षीय एन्ड्रेयु फिलिप्स रहेका छन्। उनी नर्थ पोइन्ट पुलिस स्टेशनमा आफ्नै कार्यकक्षमा मृत भेटिएका थिए। फिलिप्सको टाउकोमा दुई गोली प्रहार भएको जनाइएको छ। २७ वर्ष प्रहरीमा सेवा गरेका फिलिप्सको मृत्यु र ‘अकुपाई सेन्ट्रल’ आन्दोलनसंग कुनै सम्बन्ध नरहेको प्रहरीले जनाएको छ। विवाहित फिलिप्सका श्रीमती,१५ वर्षका छोरा र १३ वर्षकी छोरी छन्।

अक्टोबर १ – ‘अकुपाई सेन्ट्रल’ आन्दोलनका कारण आज हुने भनिएको फायरवर्क्स डिस्प्ले स्थगित
एचकेनेपाल डट कम संवाददाता-
हङकङ,’अकुपाई सेन्ट्रल’ आन्दोलनका कारण आज साँझ हुने भनिएको आतिशबाजी (फायरवर्क्स डिस्प्ले) स्थगित भएको छ। हङकङ सरकारले राष्ट्रिय दिवसको अवसरमा हरेक वर्ष अक्टोबर १ तारिख साँझ ८ बजे भिक्टोरिया हारबरमा भव्यरूपमा प्रदर्शन गरिदै आएको आतिशबाजी वर्तमान परिस्थितिका कारण स्थगित गरिएको जनाएको छ। सर्वसाधारणलाई आवतजावतको लागि यातायातको असुविधा हुन सक्ने तथा सुरक्षाको दृष्टिकोणले स्थगित गराइएको जनाएको छ।

सेप्टेम्बर ३० – आन्दोलनकारीलाई पानीले साथ दियो…
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, मुख्य सरकारी भवन बाहिर दशौं हजारको संख्यामा भेला भएका प्रदर्शनकारीहरू केहीबेर पानी झ्यामझ्याम परेपछि झन् उत्साहित भएका छन्। गर्मीले सताइरहेको बेला शितल महसुस गरेका उनीहरूले बेलाबखत नाराबाजी गरिरहेका छन्। पानी बन्द भएको छ। रात छिप्पिदै गएपनि प्रदर्शनकारीहरूले सडक छाडेका छैनन्।

सेप्टेम्बर ३० – रातभार सडकमा सुतेर दिनभर नाराबाजी
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, अक्टोबर १ को पूर्वसन्ध्यामा दशौं हजार प्रदर्शनकारीले हङकङका अधिकत्तर सडकहरूमा कब्जा जमाएका छन्। रातभर सडकमा सुतेर दिनभरी नाराबाजीमा जुटेका छन्। हङकङमा सन् २०१७ मा हुने चुनाव पूर्ण लोकतान्त्रिक पद्धतिअनुसार हुनु पर्ने मागसहित शुरू भएको ‘अकुपाई सेन्ट्रल’मा सहभागी हुनेको संख्या बढ्ने क्रम जारी छ। प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न लाठीचार्ज, अश्रुग्याँस प्रहार गरेको छ भने दर्जनौंलाई पक्राउ गरिसकेको छ। एल्लो रिबन, अम्ब्रेला मुभमेन्टको नाम दिइएको ‘अकुपाई सेन्ट्रल’ आन्दोलनप्रति जनताको आकर्षण ह्वात्तै बढेको छ।

सेप्टेम्बर २९ – नाथान रोड पनि प्रदर्शनकारीको कब्जामा
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २९ सेप्टेम्बर। सेन्ट्रलस्थित मुख्य सरकारी भवन जोड्ने सम्पूर्ण सडक र नाकाहरू कब्जा लिइ सकेपछि प्रदर्शनकारीहरूले सोमबार साँझ कोलुनको नाथान रोडसमेत कब्जामा लिएका छन्। हाम्रा फोटोपत्रकार जगतअम्बु गुरूङका अनुसार मंग कोकदेखि मे फूसम्मका मुख्य सडक प्रदर्शनकारीहरूले कब्जामा लिएका छन्। उनीहरूले शान्तिपूर्ण तरिकाले ‘अकुपाई सेन्ट्रल’को पक्षमा नाराबाजी गरिरहेका छन्।

हेर्नुहोस् भिडियो

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू

सेप्टेम्बर २९ – स्न्स्टाग्राम बन्देज
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २९ सेप्टेम्बर। चीनले केही शहरहरूमा स्न्स्टाग्राम प्रयोग गर्न बन्देज गरेको छ। फोटो शेयर गर्ने सामाजिक सञ्जाल स्न्स्टाग्रामलाई हङकङका प्रदर्शनकारीले बढीमात्रामा प्रयोग गर्न थालेपछि चीन सरकारले बन्देज गरेको हो। हङकङ प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको, बल प्रयोग गरेको, अश्रुग्याँस पहार गरेको र सडकमा हतियार बोकेका सशस्त्र प्रहरीको तस्वीरहरू हङकङबाट चीन तथा बाहिरी दुनियामा फिजिन थालेपछि चीन सरकार अतालिएको हो। आन्दोलनको तरंग चीनका अरू शहरहरूमा फैलिन सक्ने आशंकाले स्न्स्टाग्राममाथि बन्देज लगाएको अनुमान गरिएको छ।

सेप्टेम्बर २९ – लोकतान्त्रिक चुनावको माग गर्दै हङकङमा विशाल प्रदर्शन जारी
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २९ सेप्टेम्बर। सन् २०१७ मा हुने चुनाव पूर्णलोकतान्त्रिक हुनु पर्ने माग गर्दै प्रजातन्त्र समर्थित विद्यार्थीहरूले शुरू गरेको विशाल प्रदर्शन सोमवार पनि जारी छ। यसैबीच हङकङको सबैभन्दा ठूलो संगठन ट्रेड युनियनसमेत ‘अकुपाई सेन्ट्रल’ आन्दोलनप्रति ऐक्यवद्धता जनाउंदै प्रदर्शनमा सरिक भएको छ। आन्दोलनको प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नुहोस्..

सेप्टेम्बर २८ – प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २८ सेप्टेम्बर। सुरक्षा घेरा तोडेर अगाडि बढ्ने प्रयाश गरेका प्रदर्शनकारीलाई प्रहरीले रोकेका छन्। दिनभर जसो प्रहरी र प्रदर्शनकारीबीच पटक पटक सामान्य झडपहरू भए। यसैबीच प्रहरीले अश्रुग्याँस प्रहार गरी प्रदर्शनकारीहरूलाई तितरवितर पार्ने कोशिस गरे पनि सफल हुन सकेको छैन। दिन ढलेर रात परेपनि प्रदर्शनकारीहरू सडक कब्जा गरेर बसेका छन्।

सेप्टेम्बर २८ – LIVE: अकुपाई सेन्ट्रल (भिडियो) | शुरु भो- हङकङमा आन्दोलनको आँधीवेहरी
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २८ सेप्टेम्बर। हङकङमा प्रजातन्त्र समर्थित प्रदर्शनकारीहरूले आन्दोलनलाई तीब्र पारेका छन्। प्रदर्शनकारीहरूले अक्टोबर १ मा ‘अकुपाई सेन्ट्रल’ सफल पार्ने योजना अनुसार आन्दोलनलाई तीब्र पारेका हुन्। मुख्य सरकारी भवन कब्जा गर्ने प्रयाशमा हजारौं प्रदर्शनकारी भवन बाहिर सडकमा उत्रेका छन्। हिजो शनिवार मुख्य सरकारी भवनको कम्पाउन्डभित्र प्रवेश गरेका कम्तीमा सय जना प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। हङकङको कार्यकारी प्रमुखका लागि चीनले उम्मेदवार तोक्ने प्रथा अन्त्य तथा पूर्णलोकतान्त्रिक चुनावको माग गर्दै यहाँका प्रजातन्त्र समर्थित विद्यार्थीहरूले शुरू गरेको अभियानमा ऐक्यवद्धता जनाउंदै हजारौं जनताहरू सडकमा उत्रेका हुन्। सन् २०१७ मा हुने निर्वाचनमा कुन उम्मेदवारले भाग लिने भन्ने विषय हङकङकै बासिन्दाले तय गर्न पाउनुपर्ने उनीहरुको माग छ।

हङककङमा भइ रहेको आन्दोलनबारे तपाईलाई कतिको जानकारी छ? के तपाईले कुनै जारी आन्दोलनको प्रत्यक्ष प्रसारण हेर्नु भएको छ? छैन भने लाईभ भिडियो यहाँ गएर हेर्नुहोस्। more…

Photo: Twitter/ SCMP News





Comments

comments

1765