नाईके मंसिर १९ मा प्रदर्शन हुने

मेन खबर / एचकेनेपाल डट कम-
पोखरा, १३ असोज । आर्यन सिग्देललाई भिन्न लुक्स दिएर निर्माण भएको फिल्म ‘नाईके’ अन्ततः मंसिर १९ मा प्रदर्शनमा आउने भएको छ। निर्माण कम्पनी ‘ब्ल्याक स्याडो प्रोडक्शन’ले प्रदर्शन सो मितिमा हुने जनाएको छ।

यसअघि, असोज ३ मा प्रदर्शनमा आउने भनिएपनि प्राविधिक कारणले फिल्मको प्रदर्शनलाई पछाडि धकेल्नु परेको निर्माणपक्षले जनाएको छ। ‘प्राविधिक रुपमा फिल्मलाई उत्कृष्ट बनाउनका लागि केहि समय बढि लाग्यो। फिल्मका निर्देशक नेत्र गुरुङले भने–‘नाईके अब दर्शकहरुको लागि एउटा प्याकेज खुराक बनेको छ ।’ सबैखाले दर्शकले नाईके हेरेर मनोरञ्जन लिन सक्ने उनले बताए।

चाडवाडको बेलामा फिल्महरुको अस्वस्थ जुधाई पनि रिलिज डेट सर्नुको अर्को कारण भएको निर्माण कम्पनीले जनाएको छ। नाईकेमा आर्यन सिग्देलसँगै रेम बिक, बोधराज रेग्मी, सुरबिना कार्की, विजयराज सेन्चुरी, सारिका केसी लगाएतका कलाकारहरुले अभिनय गरेका छन्।

नाईकेलाई अर्जुन तिवारीले खिचेका हुन्। पोखरा आसपासमै सुटिङ भएको यो फिल्ममा चारवटा गीत समावेश छन्। ताराप्रकाश लिम्बु, योगेश काजी बिसी र रमण गायकको संगीत रहेको गीतहरुमा कोरियोग्राफी भने रोहन नेपालीको छ। फिल्ममा सानुकुमारले द्वन्द निर्देशन गरेका छन्। राजिव श्रेष्ठको निर्माण संयोजनमा बनेको फिल्ममा विष्णु हमाल कार्यकारी निर्माता हुन्। जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली र आनन्द क्षेत्रीको समेत फिल्ममा लगानी रहेको छ। फिल्मको लागि ७० लाख रुपैँया खर्च भएको निर्माणपक्षले जानकारी दिएको छ।





Comments

comments

1813