एनआरएन युकेको कार्यकारी अध्यक्षमा कँडेल

अच्युत कोइराला / एचकेनेपाल डट कम –
लण्डन, एनआरएन युकेको कार्यकारी अध्यक्षको जिम्मेवारी महेन्द्र कँडेलले लिएका छन्। पालैपालो नेतृत्वका लागि गत वर्ष गरिएको सम्झौताअनुसार अर्का अध्यक्ष योगेन क्षेत्रीको एक वर्षे कार्यकारी भूमिका पूरा भएपछि कँडेल जिम्मेवारीमा आएका हुन्।

दुई चिरामा विभाजित एनआरएन युकेलाई एक गर्न प्राध्यापक सूर्य सुवेदीको पहलमा गत वर्ष गरिएको सम्झौतामा पहिलो वर्ष क्षेत्री र दोस्रो वर्ष कँडेलले कार्यकारी नेतृत्व लिने सहमति भएको थियो। सहमतिअनुसार, कार्यकारी महासचिव र कोषाध्यक्षको जिम्मेवारी पनि कँडेल समूहकै राजकुमार त्रिपाठी र ठाकुर शर्माले सुरु गरेका छन्। यसअघि कार्यकारी भूमिकामा रहेका अध्यक्ष क्षेत्री अब सहअध्यक्षका रुपमा रहनेछन् भने महासचिव योगकुमार फगामी र कोषाध्यक्ष डांसु पाण्डेको भूमिका पनि अब सहायक नै रहनेछ। कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरु भने यसअघिकै कायम रहनेछन्।

गत वर्ष सेप्टेम्बर २९ मा दूतावासमा गरिएको असाधारण एकता सम्झौताको ठीक एक वर्षपछि सोमबार एक औपचारिक कार्यक्रमबीच सम्झौता कार्यान्वयनको घोषणा गरिएको हो। ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित कार्यक्रममा कार्यसमितिका पदाधिकारी, आइसीसी सदस्य, एनआरएनका सल्लाहकार तथा स्थानीय पत्रकारहरुको उल्लेख्य उपस्थिति थियो।

सोमबारबाट कार्यकारी भूमिका पूरा गरेका अध्यक्ष योगेन क्षेत्री भने कार्यक्रममा उपस्थित भएनन्। पालैपालो नेतृत्वका लागि भएको सम्झौतामा हस्ताक्षरसमेत गरेका क्षेत्रीले सहमतिबाट पछि हटेर कार्यकारी नेतृत्व छोड्न आनाकानी गरेका हुन्। तर उनी नेतृत्वकै समितिमा कार्यकारी भूमिकामा रहेका उपाध्यक्ष हिराधन राई, कोषाध्यक्ष डांसु पाण्डे, फडिन्द्र भट्टराई, अर्जुन कटवाल, मीन रानाभाट लगायतका सदस्य भने सहमति कार्यान्वयनका लागि भन्दै कार्यक्रममा उपस्थित थिए।

कार्यक्रममा नागरिक समाजका डा. चन्द्र लक्सम्बा, पत्रकारहरु चण्डी राई र राजेन्द्र भट्ट, लेखक शिवजी श्रेष्ठ, पत्रकार महासंघका युके अध्यक्ष चिरन शर्मा, एनबीए युके अध्यक्ष नरेन्द्र कँडेल, आदिवासी जनजाति पत्रकार महासंघका किरण लिम्बु, गुल्मी समाजका शिव भण्डारी लगायतले अध्यक्ष कँडेललाई सफल कार्यकालको लागि शुभकामना दिएका थिए। एनआरएन आइसीसी सदस्य विनोद ज्ञवाली र बिजन भट्ट तथा पूर्व सदस्य राजन कँडेल, कांग्रेसका विज्ञान प्रसाईं, एनआरएनएका सल्लाहकार तथा पत्रकार वाचस्पति रेग्मीले पनि कँडेललाई शुभकामना दिंदै एनआरएनलाई एकताबद्ध गरेर अघि बढ्न सुझाव दिए।

कार्यकारी अध्यक्षको जिम्मेवारी लिएपछि अध्यक्ष कँडेलले एनआरएनएलाई सबैको साझा संस्था बनाउन आफ्नो मुख्य प्राथमिकता रहने बताए। सबैले विगतका गल्ती सुधार गर्दै अघि बढ्न सके मात्रै संस्थालाई हित हुने भन्दै उनले सहअध्यक्ष क्षेत्रीसहित सबैलाई सहमतिकै बाटोमा आउन आग्रह पनि गरे।

त्यसअघि एकता सम्झौताका मुख्य सूत्रधार सूर्य सुवेदीले कार्यकारी भूमिका सुरु गर्न लागेको भन्दै अध्यक्ष कँडेललाई शुभकामना सन्देश पठाएका थिए। कामको सिलसिलामा जेनेभा पुगेका सुवेदीले कार्यक्रममा उपस्थित हुन नपाए पनि कार्यकाल सफलताको कामना गर्दै पठाएको इमेल कार्यक्रममा पढेर सुनाइएको थियो। त्यस्तै, पूर्वअध्यक्ष जीवा लामिछानेले पनि कार्यकाल सफलताको कामना गर्दै कँडेललाई इमेलबाटै शुभकामना पठाएका थिए। एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले पनि कँडेललाई टेलिफोन गरेर शुभकामना दिएको जानकारी दिइएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

1856