नेपालमै पहिलो पटक मादल प्रतियागिता, बेलायतबाट गुरुङको आर्थिक सहयोग

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा, नेपाली लोक स्रष्टा, साधक, तथा शिल्पी स्वर्गीय कल्याण शेरचनको ७१ औं जन्मजयन्तीको अवसरमा साउन १२ गते नेपाल मै पहिलो पटक राष्ट्रिय खुल्ला मादल बादन प्रतियोगिता २०७४ हुने भएको छ।

स्वर्गीय शेरचनको स्मृतिमा लोक सँस्कृति र लोकबाजाको संरक्षण गर्ने उद्धेश्यले साँस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानद्धारा काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा प्रतियोगिता आयोजना गरिएको कल्याण शेरचन स्मृति प्रतिष्ठानद्धारा पोखरामा शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो।

स्व. कल्याण शेरचन

राष्ट्रिय खुल्ला मादल बादन प्रतियोगिताको विजेताले ५० हजार, द्वितीयले २५ हजार, तृतीयले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुने प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मोले जानकारी दिनुभयो । यसरी नै प्रतियोगितामा विधागत उत्कृष्ठ मौलिकता, सिर्जनात्मक, र लोपोन्मुख पौराणिकतालाई जनही ५ हजार नगदसहित मेडल र प्रमाणपत्रबाट पुरष्कृत गरिने भएको छ।

लोक बाजा मादलको चार शैलीहरु पौराणीक बाद्य शैली(चर्या, सोरठी, पौसारु, सरङ्ङया, सालैजो, टप्पा, कौडा, मारुनी, हुर्रा), मञ्चीय प्रस्तुती बाद्यशैली(दमदार तथा रोचक प्रस्तुती), स्टुडियो रेकर्डिङ्ग बाद्यशैली (सुर, ताल, लय आदि मिसाएर बजाउने) र श्रृजनात्मक बाद्यशैली (आफ्नो छुट्टै श्रृजनात्मक शैलीमा बजाउने) मा प्रतियोगीहरुले १० मिनेट प्रस्तुति राख्न पाउने नियम रहेको प्रतिष्ठानका सचिव सचिव श्रीजङ्ग गुरुङले बताउनुभयो ।

नेपालमै पहिलो पटक आयोजना गरिएको राष्ट्रिय खुल्ला मादल प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीहरुले साउन ७ गते भित्र प्रतियोगिता संयोजक खर्कबहादुर बुढा(काठमाडौं), सहसंयोजक इश्वरी प्रसाद भुषाल(काठमाडौं) र पश्चिमाञ्चल पोखरा क्षेत्रका लागि प्रतिष्ठानका कार्यसमिति सदस्य, दोहोरी गीत राष्ट्रिय प्रतिष्ठानका केन्द्रीय सदस्य जीवन दाहाल(पोखरा)लाई सम्पर्क गर्न सकिने बताइएको छ । पश्चिमाञ्चल पोखरा क्षेत्रका प्रतियोगिताहरुको संख्या अनुसार पोखरामा अडिशन समेत गरिने जीवन दाहालले बताउनुभयो ।

प्रतियोगिताका लागि जुरी निर्णायक खर्कबहादुर बुढा, यसरी नै निर्णायकहरुमा पश्चिम नेपाल प्रेमदेव गिरी, मध्य नेपाल न्युछेमान डंगोल र पूर्व नेपालका तर्फबाट अर्जुन चैनपुरे रहनुभएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो भने प्रतियोगिताको करिब ८० प्रतिशत तयारी सम्पन्न भएको आयोजकले जनाएको छ ।

स्वर्गीय शेरचनको ७१ औं जन्मजयन्ती साउन १२ गते काठमाण्डौं जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगिताकै अवसरमा एक जना नेपालका वरिष्ठ मादल बादकलाई नगद, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने अध्यक्ष क्या.ह्योल्मोले बताउनुभयो।

यसैविच उक्त प्रतियोगिताको सहयोगार्थ रामबजार सोसाइटी युकेले सहयोग गरेको छ। घरबिदामा पोखरा आउनु भएका सोसाइटीका सल्लाहकार दुधराज गुरुङले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुहुदै प्रतिष्ठानका अध्यक्ष क्याप्टेन ह्योल्मोलाई १ लाख ५० हजार २३३ रुपैया सहयोग हस्तान्तरण गर्नुभयो।

स्रष्टाको स्वर्गारोहण पश्चात हिमाली साँस्कृतिक परिवारले विक्रम सम्वत २०६८ सालमा पश्चिमाञ्चल स्तरीय कौरा चुट्का गीतको प्रतियोगिता आयोजना गरी अक्षयकोष स्थापनाका साथै कल्याण शेरचन स्मृति प्रतिष्ठान स्थापना गरेको हो । प्रतिष्ठानले उक्त वर्षदेखि नै साउन १२ गते स्वर्गीय शेरचनको जन्मजयन्ती र माघ २४ गते स्मृति दिवस विविध कार्यक्रम गरी मनाउदै आएको छ।

लोसँस्कृति, शिक्षा र खेलकुदप्रति योगदान पुर्याउनु भएका स्वर्गीय शेरचनको स्मृतिमा हालसम्म बरिष्ठ नृत्य प्रशिक्षक भैरवबहादुर थापा, वरिष्ठ फुटबल प्रशिक्षक डम्बरसिंह गुरुङ, शिक्षाविद बलबीरसिंह नेगी, बरिष्ठ संगीतकार प्रकाश गुरुङ सम्मानित भइसक्नु भएको छ । प्रतिष्ठानले शेरचनकै स्मृतिमा पश्चिमाञ्चलस्तरीय साँस्कृतिक कार्यक्रम, भुकम्पपीडित विद्यालयको पुननिर्माण र सेभेन ए साइड प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ।





Comments

comments

Leave a Reply

18810