एसरी सम्पन्न भयो एनआरएनएको यूरोपियन क्षेत्रीय सम्मेलन

वाईवि तमू / एचकेनेपाल डट कम –

३१ जुलाई, फ्र्यान्कफार्ट। गैरआवासीय नेपाली संघको मिनी सम्मेलनका रुपमा चर्चित १०औँ गैरआवासीय नेपाली संघ यूरोपिएन क्षेत्रीय बैठक तथा आठौँ यूरोपिएन महीला सम्मेलन जर्मनीको फ्र्यान्कफार्टमा सम्पन्न भएको छ।

गत जुलाई २८ देखि ३ दिनसम्म चलेको उक्त सम्मेलनमा गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष भिम केसी कमलद्वारा “पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्नु पर्ने आवश्यकता रहेको र सो कार्यका लागि एनआरएनएले प्रमुख भूमिका खेल्नु पर्यो भन्ने “प्रमुख प्रस्तावलाई सम्मेलनले निर्णयार्थ पहल गर्ने कुरा उक्त सम्मेलनपछि जारी गरिएको बिज्ञप्तिमा जनाईएको छ।

सम्मेलनपछि जारी गरिएको प्रेस-विज्ञप्तिमा जनाइए अनुसार “युरोपका २७ देशका करीव ४५० भन्दा बढी एनआरएनएका नेतृत्व तथा प्रतिनिधिहरुले भाग लिएका थिए।

सम्मेलनलाई गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष डा, शेष घले,जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाल, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, नेपाल परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थराज वाग्ले, परराष्ट्र मन्त्रालयमा एनआरएन डेस्क हेर्ने उपसचिव डा. डमरुबल्लभ पौडेल तथा अर्थ मन्त्रालयका अधिकृत भीमकान्त न्यौपाने, गैरआवासीय नेपाली संघका संस्थापक सदस्य रामप्रताप थापा, संरक्षक दिल गुरुङ आदि वक्ताहरुले सम्बोधन गरेका थिए।

सम्मेलनले युरोपमा क्रियाशील नेपाली भाषी पत्रकारहरुको छाता संगठन,नेपाल पत्रकार महासंघ,युरोप शाखाको तर्फबाट अध्यक्ष केजिन राईद्वारा “पत्रकार अक्षय कोष स्थापनाका” लागि गरिएको सार्वजनिक अनुरोधलाई भने न त गैर आवासीय नेपाली संघका उच्च नेतृत्वहरुले सुने न त राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले नै चासो दिए।

युरोपमा बसेर नेपाली भाषी पत्रकारिता गर्दै आएका दुई दर्जन भन्दा बढि पत्रकारहरुको साझा अपिललाई वेवास्ता गरिनु प्रति पत्रकारहरुले गम्भीर भएर सोच्नु पर्ने बेला भएको छ।

संघको यूरोपियन क्षेत्रीय बैठक तथा महिला सम्मेलन २०१७ को प्रेस विज्ञप्तिको पूर्ण पाठ:
जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. शेष घले, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, नेपालबाट आउनु भएका परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थराज वाग्ले, परराष्ट्र मन्त्रालयमा एनआरएन डेस्क हेर्नुहुने उपसचिव डा. डमरुबल्लभ पौडेल तथा अर्थ मन्त्रालयका अधिकृत भीमकान्त न्यौपाने, गैरआवासीय नेपाली संघका संस्थापक सदस्य रामप्रताप थापा, संरक्षक दिल गुरुंग लगायतका संघका पदाधिकारी एवं २७ देशबाट प्रतितिधित्व गर्नु हुने करिब साढे चारसय गैरआवासीय नेपाली प्रतिनिधिहरुको उपस्थितिमा यस दशौं क्षेत्रीय बैठकमा उठेका समग्र विषहरुलाई समेट्दै निम्न निर्णयहरु भएको जानकारी गराउँदै यो विज्ञप्ति प्रकाशित गरिएको छ।
१) लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको नेपालमा नयाँ संविधानको पूर्ण कार्यान्वयन र समृद्ध नेपालको निर्माणका लागि आर्थिक विकासलाई गति दिन नेपालका प्रमुख राजनीतिक दलहरुका बीचमा सहमति र सहकार्य गर्न यो बैठक अनुरोध गर्दछ।
२) नेपालको संविधानमा उल्लेख भएअनुसार गैरआवासीय नेपाली नागरिकताको मर्म र भावना अनुरुप गैरआवासीय नेपाली संघसंगको निकट सहकार्यमा यथाशिघ्र गैरआवासीय नेपाली संबन्धी ऐन बनाइ गैरआवासीय नेपाली नागरिकता वितरण गर्ने काम शुरु गर्न नेपाल सरकार तथा अन्य संबद्ध निकायहरुलाई अनुरोध गर्दछ।
३) विगतमा जस्तै युरोपस्थित गैरआवासीय नेपाली उद्यमीहरुले नेपालमा सामूहिक लगानी अगाडि बढाउन देखाएको तत्परताको सम्मान गर्दै अन्तर्राष्ट्रिय समन्वय परिषदलाई त्यसकालागि आवश्यक पहल गर्न अनुरोध गर्दछ।
४) गैरआवासीय नेपाली संघद्वारा संचालित लाप्राक नमुना वस्ती लगायत एनआरएन भवन, शंखमूल पार्क, “एक एनसिसि एक परियोजना” लगायतमा तन, मन, धनले सहयोग गर्नुहुने सबै गैरआवासीय मित्रहरुलाई हार्दिक धन्यवाद दिंदै थप आवश्यक सहयोग गर्न पनि यो बैठक प्रतिबद्धता व्यक्त गर्दछ।
५) गैरआवासीय नेपालीहरुको सकृयतामा नेपालका विभिन्न विद्यालयहरुमा ‘विद्युतीय पुस्तकालय’ स्थापना भैरहेको सन्दर्भमा ती पुस्तकालयहरुलाई व्यवस्थित गर्दै गैरआवासीय नेपाली संघको मातहतमा आफुले पढेको विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न सबै गैरआवासीय नेपालीहरुलाई यो बैठक आह्वान गर्दछ।
६) “भिजिट नेपाल युरोप अभियान २०१७” तथा “अतिथि देवो भव:” अभियानलाई सफल बनाउँदै युरोप क्षेत्रबाट अत्यधिक मात्रामा पर्यटकहरु नेपाल भित्र्याउन युरोपस्थित नेपाली दूतावासहरु तथा नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधिहरुसंग समन्वय गर्दै नेपाल सरकारले आह्वान गरेको “भिजिट नेपाल इयर २०१८” लाई सफल बनाउन युरोपस्थित सबै एनसिसिहरुलाई अनुरोध गर्दछ।
७) यस बैठकका प्रायोजकहरुबाट प्राप्त रकम संघको केन्द्रीय कार्यालय भवन निर्माण कोषमा हस्तान्तरण गर्ने निर्णयको स्वागत गर्दै यो बैठक सबै प्रायोजकहरुप्रति धन्यवाद व्यक्त गर्दछ ।
८) गैरआवासीय नेपाली संघको विधानलाई अरु विस्तृत र प्रभावकारी बनाउन बैठकमा प्राप्त सुझावहरुलाई अन्तर्राष्ट्रिय समन्वय परिषदमा पठाउने यो बैठक निर्णय गर्दछ।
९) गैरआवासीय नेपाली संघ महिला फोरमले परोपकारी क्षेत्रमा उल्लेख्य कार्य गरेकोमा सिंगो महिला फोरमलाई धन्यवाद ज्ञापन गर्दै सिंगो गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय परिषदमा यथासम्भव ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गराउन आग्रह गर्दै यस क्षेत्रका यूवा तथा महिलाहरुको उद्यमशिलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने पनि यो बैठक निर्णय गर्दछ । एक युरो परियोजनालाई सबै एनसिसीहरुमा विस्तार गरी सो अभियानमा पुरुष सदस्यहरुको सहभागिता बढाउन पनि यो बैठक अनुरोध गर्दछ
१०) प्रवासमा नेपाली बालबालिकाहरुका निम्ति नेपाली भाषा, लिपि, संस्कार, संस्कृति सिकाउन भिडियो कार्टुन, ट्याबलेट गेम तथा प्रवास सापेक्ष पाठ्यसामग्री निर्माण गर्न पहल गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदलाई यो बैठक अनुरोध गर्दछ।
११) अन्तर्राष्ट्रिय मान्यता अनुसार कुनै पेशा, व्यवसाय वा अध्ययनको सिलसिलामा १८२ दिन भन्दा बढी सार्क मुलुक बाहिर बस्ने विद्यार्थी तथा वैदशिक रोजगारीमा जाने नेपालीहरुलाई पनि गैरआवासीय नेपालीको परिभाषाभित्र समेट्न अन्तर्राष्ट्रिय समन्वय परिषदलाई आवश्यक पहल गर्न यो बैठक अनुरोध गर्दछ।
१२) युरोप क्षेत्रको एघारौं बैठक लक्जेम्वर्गमा गर्ने निर्णय गर्दछ। स्पेनमा नेपाली दूतावास स्थापना गरिएकोमा नेपाल सरकारलाई धन्यवाद दिंदै पोर्चुगलमा नयाँ दूतावास खोल्न पहल गर्न पनि यो बैठक अनुरोध गर्दछ।
१३) साइप्रस निवासी ब्लड क्यान्सरबाट पीडित ५ वर्षीय छोरा सन्चल साहको उपचारकालागि झण्डै बीस हजार युरो सहयोग गर्ने यो बैठकका सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दछ।
१४) स्पेनमा बस्ने नेपालीहरुको समस्याको समाधानकालागि सम्पत्ती मूल्यांकन प्रमाणपत्रमा परराष्ट्र मन्त्रालयको छाप लगाउने व्यवस्थाकालागि पहल गर्न यो बैठक अन्तर्राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गर्दछ।
१४ ५ यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनुहुने एनसीसी जर्मनी, प्रायोजकहरु, स्वयमसेवी, पत्रकार, कलाकार लगायत सबै पक्षलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
मिति : ३० जुलाई २०१७
फ्र्याँकफर्ट, जर्मनी





Comments

comments

Leave a Reply

19092