इल्याको ‘म साँच्चीकै हराइछु’ विमोचित

नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारण सभा काठमाडौँमा एक समारोहबीच सम्पन्न भयो।

साधारण सभामा संस्थाका अध्यक्ष साहित्यकार इल्या भट्टराईको नियात्रा सङ्ग्रह “म साँच्चीकै हराइछु” को पनि विमोचन भएको छ।

समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा. विष्णुविभु घिमिरेले इल्या भट्टराईको कृति बेलायत र नेपालबीच सेतु बन्न सक्नेमा आफू विश्वस्त रहेको बताउनुभयो।

नेपाल च्याप्टरका अध्यक्ष इल्या भट्टराईले संस्थाले गरेका क्रियाकलाप तथा गतिविधिबारे प्रकाश पार्नु भयो । त्यस्तै कृतिमाथि समिक्षा गर्दै समालोचक महेश पौड्यालले नियात्रा कृति उत्कृष्ट रहेको भन्दै नारी नियात्राकार अत्यन्त न्यून रहेको अवस्थामा यस्तो सबल पुस्तक नारी हस्ताक्षरबाट आएकोमा प्रशंसा गर्नुभयो।

समारोहमा अर्का समालोचक डा. गोविन्दराज भट्टराईले नियात्रा कृतिले बेलायतको समाज र संस्कृति नेपाली परिवेशसँग तुलना गर्दे लेखिएकोमा मुक्तकण्ठले प्रशंसा गर्नुभयो । उक्त सभामा डा. माधवी भट्टले आफ्नो मन्तव्य राख्दै साधारण सभाको प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो।

उक्त साधारण सभामा संस्थाका महासचिव हरिशरण लामिछानेले नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरका तर्फबाट आफ्नो प्रतिवेदन पेश गर्नु भएको थियो, यस्तै संस्थाका सल्लाहकार तथा संयोजक वरिष्ठ कवि गोपाल पराजुली, डा. प्रभा कैनी तथा डा. रेणुका थापाले संस्थाको उद्देश्य माथि प्रकाश पार्दै आफ्नो मन्तव्य राख्नुभएको थियो।

साधारण सभाको बन्द सत्रमा संस्थाका कोषाध्यक्ष मुक्ति घिमिरेले आर्थिक वर्षको आय व्ययको विवरण पेश गर्नुभएको थियो।





Comments

comments

Leave a Reply

19148