​त्रिमूर्ति पुरस्कार, शताब्दी पदक र ११ ओटा कृति लोकार्पण

एचकेनेपाल डट कम –
काठमाडौं, ३ भदौ। तेह्रौं त्रिमूर्ति दिवसका अवसरमा वाङ्मय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले शनिवार राजधानी काठमाडौमा पाँच जना स्रष्टालाई त्रिमूर्ति पुरस्कार प्रदान गरेका छन्।

त्रिमूर्ति निकेतनद्वारा आयोजित समारोहमा शास्त्रीय छन्दकवि तथा महाकाव्यकार आर.डी.प्रभास चटौतलाई लेखनाथ काव्य पुरस्कार, नेपाली भाषाको चलचित्रका प्रथम अभिनेत्री श्रीमती भुवन थापा चन्दलाई बालकृष्ण सम पुरस्कार र सुप्रसिद्ध कवि तुलसी दिवसलाई देवकोटा काव्य पुरस्कारबाट सम्मान गरिएको हो। ताम्रपत्रका साथ यी पुरस्कारका राशी जनही पचास हजार रूपियाँ रहेका छन्।

निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा जारी विज्ञप्तिका अनुसार समारोहमा वाङ्मय शताब्दी पुरुष डा.जोशीबाट ताम्रपत्रका साथ यादव भट्टराईलाई त्रिमूर्ति पुरस्कार र ललिता दोषीलाई त्रिमूर्ति पदक र प्रशस्तिपत्र प्रदान गरियो। यी दुबै पुरस्कारका राशि जनही पच्चीस हजार रूपिया रहेका छन्।

वाङ्मय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले पूर्वमन्त्री दिलनाथ गिरी, प्राध्यापक डा.प्रेम खत्री, बुद्धिसागर लामिछाने, श्रीमती गङ्गा लिगल, श्रीमती जयन्ती प्रधान श्रेष्ठलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिएको छ। त्रिमूर्ति निकेतनले हालसम्म नेपाल लगायत २५ राष्ट्रका २१७ जना महानुभावलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिसकेको छ।

समारोहमा शताब्दी पुरूष डा.जोशीले त्रिमूर्ति निकेतन र नइ प्रकाशनबाट प्रकाशित ११ ओटा पुस्तकको लोकार्पण गरे । लोकार्पण भएका कृतिहरूमा यादव भट्टराई र ललिता दोषीद्वारा सम्पादित ‘शताब्दी पुरुष गाथा’ नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईद्वारा सम्पादित ‘कवितामा घटराज’ र ‘अविश्रान्त साधक ः घटराज भट्टराई’ तथा सावित्री पोखरेलद्वारा लिखित नाटक ‘कलङ्की समाज’ रहेका छन्।

सोही समारोहमा इन्दिरा प्रसाईद्वारा लिखित खण्डकाव्य ‘हरिमाया’, सुरेन उप्रेतीद्वारा लिखित निबन्धसङ्ग्रह ‘वधशालाको डिस्को धुन’, सावित्री पोखरेलद्वारा लिखित कवितासङ्ग्रह ‘वीर पुरुष’, राधिका दाहालद्वारा लिखित बाल कथासङ्ग्रह ‘आज्ञा’ र इन्दिरा प्रसाईद्वारा लिखित विज्ञान कथासङ्ग्रह ‘मेरो कथा नलेखिदिनू’ नामक कृतिहरूको पनि लोकार्पण गरिएको छ।

यसैगरि नरेन्द्रराज प्रसाईद्वारा लिखित र अणुराज जोशीद्वारा अनुदित Century Person : Satya Mohan Joshi नामक जीवनी कृति र इन्दिरा प्रसाईद्वारा लिखित र प्रा.मोहन सिटौलाद्वारा अनुदित लामोकविता Being of You पनि सोही समारोहमा लोकार्पण गरिएको थियो।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, पूर्वमन्त्री दिलनाथ गिरी, प्रा.राजेन्द्र सुवेदी, प्रा.डा.उषा ठाकुर, प्रा.डा.गार्गी शर्मा, प्रा.डा.महादेव अवस्थी, मदनदास श्रेष्ठ, यादव भट्टराई र त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईलगायत पुरस्कृत स्रष्टाहरूले आआफ्ना मन्तब्य प्रकट गरे । समारोहमा मुक्तक सम्राज्ञी उषा शेरचनले कविता पाठ गरेकी थिइन्।





Comments

comments

Leave a Reply

19365