गृहमन्त्रीको आदेशमा २० वर्ष कैद पाएका अपराधी प्रहरीले नै भगाए

बारा, १६ भदौ । अदालतबाट कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भई कैद सजाए भएका माओवादी केन्द्रका एक जना कार्याकर्तालाई बारा प्रहरीले पक्राउ गरी कारागार नपठाएर भगाएको छ।

२० वर्ष कैद सजाए पाएका बिश्रामपुर गाउँपालिका २ बरैनिया गाउँका माओवादी केन्द्रका कार्याकर्ता अशोक कुमार साह कलवारलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार नपठाई भगाइदिएको खबर नागरिक दैनिकले छापेको छ।

अदालतले कैद सजाय गरेको माओवादी कार्याकर्ता साह गाउँमै रहेको सूचना पाएपछि साहलाई छतवा प्रहरी चौकीको टोलीले पक्राउ गरेको थियो। उनलाई पक्राउ गर्न सुरुमा जिल्ला प्रहरी कार्यालयले लिखित पत्र नै काटेको थियो।

जिल्लाको निर्देशनपछि छतवा प्रहरी चौकीले भादौ ५ गते कलवारको घर घेरा हाली बिहानै ४ बजे पक्राउ गर्न सफल भएको थियो । साह पक्राउ गर्ने बेलामा छतवा प्रहरीको टोलीलाई स्थानीयहरुले अवरोध गरेका थिए । पक्राउ गर्न खटिएका प्रहरीहरुकाअनुसार त्यतिबेला झन्डैझन्डै गोली चलाउनु पर्ने अवस्था अाएको थियो।

प्रहरी चौकी छतवाका इन्चार्ज प्रहरी नायब निरिक्षक नन्दकिशोर सिंहसहितको टोलीले जिल्लाको आदेशअनुसार दोषी ठहर कलवारलाई पक्राउ गरेको थियो । पक्राउ परेका कलवारलाई छतवा चौकीले भदौ ५ गते जिल्लाबाट गएको प्रहरी निरिक्षकको टोलीलाई हस्तान्तरण गरेको थियो।

जिल्ला प्रहरीको नियन्त्रणमा आएका उनी कारागार भने चलान भएनन्। स्रोतका अनुसार दश लाख रुपैयाँको आर्थिक प्रलोभन र गृहमन्त्री शर्माको आदेशमा उनलाई छोडिएको हो । ‘सानो पावरले उनलाई भगाइएको होइन । १० लाख रुपैयाँ र गृहमन्त्रीज्यूबाट निर्देशन आएपछि कलवार उम्केका हुन्’, जिल्ला प्रहरीका एक अधिकृत भन्छन्।

बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवार कलवारलाई प्रक्राउ गरी नछोडेको दाबी गर्छन् । उपरीक्षक बैदवारले महिलाहिंसा घटनामा गरेको उजुरी परेपछि कलैया घर भएका अर्का अशोक कुमार साहलाई नियन्त्रणमा लिएर सोध पुछ गरी छोडिएको बताए । प्रहरी चौकी छतवाले कलवारलाई पक्राउ गरेको रेकर्डबारे भने उनले केही बताउन चाहेनन्।

२०५८ सालमा भारत बिहारको सीमावर्ती गाउँ विश्रपुर घर भई बरैनिया ससुरालीमा बस्दै आएका स्थानीय मुन्नी ठाकुरका श्रीमान् लालबाबु लोहार ठाकुरको भएको हत्यामा कलवारलाई तत्कालीन पुनरावेदन अदालत हेटौंडा र सर्वोच्च अदातलले दोषी ठहर गर्दै कैद सजाय हुने फैसला गरेको थियो । कलवारलाई पुनरावेदन अदालत हेटौंडाले ०७१ कार्तिक २४ गते र सर्वोच्च अदालतले ०७३ साउन २८ गते दोषी ठहर गर्दै २० वर्ष सजाय हुने फैसला गरेको थियो

कलवारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारा कलैयामा ल्याएपछि उनलाई छुटाउन माओवादीका केन्द्रीय नेताहरु जिल्ला प्रहरीमा पुगेका थिए । माओवादी नेताहरु क्षेत्रबहादुर श्रेष्ठ अनिल, सुरेश साह, लवकुश बएखा, मनिर देवान, रवीन्द्र यादबसहितका नेताहरुले प्रहरी उपरीक्षक बैदवार र मुद्दा शाखाका प्रहरी निरिक्षक साहलाई ज्यान मुद्दाका दोषी छाड्न दवाब बढाएका थिए।

२० वर्ष कैद सजाय तोकिएका कलवार माओवादीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहको नजिक कार्याकर्ता मानिन्छन् । उनकै योजनामा जिल्लाका माओवादी नेताहरुले प्रहरीमाथि दवाब दिइएको थियो।

प्रहरीबाट छुटेका कलावार हिजाओज बरैनिया पुगेर खुलाआम हिँडडुल गरिरहेको स्थानीयले बताए । कलवारले प्रहरीबाट छुटेपछि आफूलाई पक्राउ गर्न सहयोग गरेको भन्दै स्थानीयलाई समेत धाकधम्की दिइरहेको एक स्थानीयले बताए।





Comments

comments

Leave a Reply

19531