दुगडका सञ्चालकविरुद्ध २३ करोडको ठगी मुद्दा : श्रीमती र छोरीछोरीविरुद्ध पनि मुद्दा

म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा अघि बढाएको छ।

कम्पनीका ११ जनाविरुद्ध २३ करोड ठगी तथा कालोबजारी गरेको मुद्दामा प्रहरीले आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको छ।

कम्पनीबाट २३ करोड रुपैयाँ बराबरको म्याद गुज्रिएको फ्रुटी तथा कच्चा पदार्थ बरामद भएकाले सोहीअनुसारको बिगो बनाई रायसहित सरकारी वकिल कार्यालयमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले बताए । कम्पनीका मुख्य सञ्चालक मालचन दुगडसहितलाई ठगी र कालोबजारी ऐनअनुसार मुद्दा चलाउन प्रहरीले रायसहित अनुसन्धान प्रतिवेदन बुझाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा १२ भदौमा कम्पनीको सतंगुलस्थित कार्यालयमा ठूलो परिणाममा म्याद गुज्रिएका कच्चा पदार्थबाट बनाइएको फ्रुटी बरामद गरेको थियो । मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने गरी कम्पनीले कुहिएका आ“पको गुदीबाट फ्रुटी बनाउँदै आएको भेटिएको थियो।

श्रीमती र छोरीछोरीविरुद्ध पनि मुद्दा
प्रहरीले कम्पनीका सञ्चालक मालचनकी श्रीमती सुरेन्द्रा, छोरा विवेक र छोरी श्रद्धाविरुद्ध समेत अभियोग अगाडि बढाएको छ । उनीहरू चारैजना फरार छन् । मालचन र सुरेन्द्रा कम्पनी सञ्चालक छन् भने छोरा र छोरीको नाममा पनि कम्पनीको सेयर भएकाले उनीहरूलाई पनि प्रतिवादी बनाइएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए।

कम्पनीका चारजना कर्मचारी भने प्रहरी हिरासतमै छन् । फ्याक्ट्री मेनेजर प्रमोद मेहता, प्रबन्धक मदनबाबु पाण्डे, प्रोडक्ट मेनेजर ग्याप्रियल टिथापन र क्वालिटी मेनेजर शिवराज पोखरेल यसअघि नै पक्राउ परिसकेका छन् । टिथापन भारतीय नागरिक हुन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ऋषि गाडिया फरार छन् । गाडियासहित फ्याक्ट्री मेनेजर रोहती भट्टराई र क्वालिटी अफिसर जगदीश पाण्डेलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरू पनि फरार छन् । जिल्ला अनुगमन समितिका संयोजक रहेका काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल नेतृत्वको टोलीले म्याद नाघेको कच्चा पदार्थबाट जुस बनाएको भेटेपछि उनीहरूलाई पक्राउ गरी कम्पनीमा सिल गरेको थियो।

उनीहरूले एक वर्षअघि नै म्याद नाघेको आँपको गुदीमा चिनी, पानी र फ्लेभर मिसाएर जुस बनाउँदै आएको डएसपी पाण्डेले बताए । प्रहरीले चार सय १८ ड्रम आँपको गुदी सिलबन्दी गरेको छ । एक ड्रममा दुई सय ४० केजी गुदी थियो । भारतबाट ल्याएका कच्चा पदार्थबाट कम्पनीले फ्रुटी जुस बनाई बिक्री गर्दै आएको खबर नागरिक दैनिकमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19771