पोर्चुगलमा एक नेपालीको चक्कु प्रहार गरी हत्या गर्ने अर्का नेपाली पक्राउ


वाईवि तमू
/ एचकेनेपाल डट कम –

लिस्वन,२० सेप्टेम्वर। गत हप्ता राजधानी लिस्वनमा पर्वत घर भै बिगत लामो समयसम्म लिस्वन बस्दै आएका हरिबहादुर जिसीमाथि चक्कु प्रहार गरि फरार भएका अभियुक्त अर्जुन सापकोटा पक्राउ परेका छन्।

चक्कु प्रहारबाट मृत्यु भएका जिसकीको कानूनी प्रक्रिया पूरा गरि करीव एक हप्तापछि हिजोमात्र दाह संस्कार गरिएको छ।

कसरी पक्राउ परे सापकोटा?
हिजो करीव अपरान्ह २:३० बजे जिसीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिएर पोर्चुगलका धेरै नेपालीहरुलगायत उनका आफन्तहरु शोक मनाउदै थिए। श्रद्धाञ्जलिसभापछि करिव ४:३० बजे उनको अन्तिम दाहसंस्कार सकियो। दाहसंस्कारपछि सबै घर फर्कने क्रममा करीव ५ बजेतिर गैरआवासीय नेपाली संघ पोर्चुगलका निवर्तमान अध्यक्ष भिम केसी कमलको मोबाईलमा फोन आयो। फोनमा सापकोटा स्थानीय एक नेपाली रेस्टुरेण्ट ब्यबसायीसंग कुराकानी गर्दै गरेको खबर आयो। उक्त खबर दिने व्यक्ति थिए अञ्जु गजुरेल। सापकोटा संग कुरा गर्दै गरेका अर्का सहयोगी थिए बिष्णु वस्ती।

खबर पाउना साथ केसीले तुरुन्त पोर्तुगिज प्रहरीलाई खबर गरे। केसी र गैरआवासीय नेपाली संघ पोर्चुगलका उपाध्यक्ष कमल गुरुङसहितको टोली पोखरा रेष्टुरेण्ट पुगेर अभियुक्त सापकोटालाई पक्रेका थिए। पक्राउपछि सापकोटालाई प्रहरीको जिम्मा लगाइएको छ।

को हुन् अर्जुन सापकोटा?
धादिङ्ग घर भएका अर्जुन सापकोटा पोर्चुगलमा नयाँ हुन्। करीव १ वर्ष अगाडि पोर्चुगल आएका उनी बिगत केही समय मृतक हरिबहादुर जिसीसंगै काम गर्थे। संगै काम गर्दा चिनजान तथा नजिक भएका थिए।

छोटो समय काम गरेता पनि उनीहरुबीच नियमित सम्बन्ध, भेटघाट हुने गर्थ्यो। केहि समय पहिले मृतक जिसीका सहोदर भाई ओमबहादुर जिसीसंगै अर्जुन सापकोटाले काम गरेका थिए। उनीहरुबीचकाम कै बिषयमा आपसी बिबाद भएको कुरा ओम जिसी स्वीकार गर्छन । सापकोटासंग संगत गर्नेहरु उनी मानसिक रुपमा बिरामी थिए।

जिसीमाथि कसरी चक्कु प्रहार गरे?
सेप्टेम्बर १२ तारिख राति करीव ११:३० बजे राजधानी लिस्वनस्थित काम्पो पिकेनो मेट्रो स्टेशन नजिक बीच सडकमा जथाभावी चक्कु प्रहार गरेका सापकोटाले लक्षित व्यक्ति हरिबहादुर जिसीका भाई थिए तर भाइलाई चक्कु प्रहार गर्दा हरिबहादुर जिसीले रोक्न खोज्दा सापकोटा उनीमाथि जाई लाग्दै भाई ओमबहादुर जिसीले बताएका थिए। जथाभावी चक्कु प्रहार गरि सापकोटा फरार भएका थिए।

सापकोटालाई हरि बहादुर जिसीको मृत्युका बारेमा बेखबर रहेको कुरा सूचित व्यक्ति बिष्णु वस्तीसंगको कुराकानीमा बताएको वस्तीले जानकारी दिएका थिएर

‘यतिका दिनसम्म कहाँ बस्यौ ,के खायौ ?’ भन्ने वस्तीको प्रश्नमा कहिले मेट्रो स्टेशन त कहिले सडक किनारामा सुतेको र मागेर खाने गरेको कुरा वस्तीसंगको कुराकानीमा सापकोटाले बताएको वस्तीले जानकारी गराए।

सानो कामको बिबादका कारण उब्जेको क्रोधले दुवैको जिन्दगी बर्बाद भएको छ।





Comments

comments

Leave a Reply

19811