एकल कविता वाचनमा रेखा कवि सम्बाहाङ्फे

काठमाडौँ, रेखा कवि टंक सम्बाहाङ्फेको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। राजधानीको अनामनगरस्थित मण्डला नाटक घरमा उनले पहिलो पटक एकल कविता वाचन गरेका हुन्।

यो कार्यक्रमको आयोजना डिस्कोर्स डबलीले आयोजना गरेको हो।

श्रोताहरुको बाक्लो उपस्थितिमा कवि सम्बाहाङ्फेले विभिन्न विधाका १३ वटा कविताहरु वाचन गरेर सुनाएका थिए । उनका कविता पहिचान, संस्कार र संस्कृति तथा जीवन, जगतमा आधारित थिए । सो समारोहमा ‘जीवन रेखा’, ‘आन्दोलनकालागि आन्दोलन’, ‘टंक सम्बाहाङ्फेसँग जोरी खोज्नेहरु’, ‘मेरो देशको उन्मुक्तिको गीत’, ‘चासोक तङ्नाम र याद’, ‘च्याब्रुङको आलाप र विलाप’, ‘हङकङ, सपना र हामी’, ‘मृत्यु श्रृङ्खला’, ‘नाकाबन्दीले जन्माएको कविता’, ‘नयाँ शक्तिको उदय’, ‘रेखा सम्बन्ध’, ‘भूकम्पको अमूर्त चित्र’, ‘पहिचानको गीत’ शीर्षकका कविताहरु वाचन गरेर सुनाइएको थियो।

केही कविताहरु लिम्बू संस्कार र संस्कृतिसँग सम्बन्धित थिए । उनको ‘चासोक तङ्नाम र याद’ र ‘च्याब्रुङको अलाप र विलाप’ कवितामा श्रोताहरुले निक्कै मनोरञ्जन लिएका थिए।

यता पहिचानसँग सम्बन्धित कविताहरुले पनि पहिचान पक्षधरलाई केही जागरुक गराए पनि सबै किसिमका श्रोताहरुलाई छुन सकेका थिएनन्। राज्यसत्ताको सत्तो सराप गरिएका कविताहरु भने एकेडेमिक र औपचारिक स्थलमा भन्दा पहिचानका आन्दोलनहरुमा झण्डा बोकेर उत्रिएका कार्यकर्ताहरुलाई उर्जा प्रदान गर्न सक्ने किसिमका थिए।

कविता वाचनमा कवि टंक सम्बाहाङ्फेलाई कविहरु विमला तुम्खेवा, गणेशकुमार राई, लक्ष्मी रुम्बा, अनुपम रोशीले साथ दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कवि तथा प्राज्ञ श्रवण मुकारुङले कवि टंक सम्बाहाङ्फे कवि मात्रै नभएर दृष्टिकोणको प्रतिपादक पनि भएको बताए । उनले एउटा दृष्टिकोण बनाएर कविता लेख्ने भएकाले सम्बाहाङ्फेको कविता भन्दा दृष्टिकोण जीवन्त हुने दाबी गरे । कविको पहिचान कविता लेख्नु भए पनि दृष्टिकोण दिनसके त्यो अमर हुने उनको भनाइ थियो । कवि सम्बाहाङ्फेको प्रशंसा गर्दै प्राज्ञ मुकारुङले मोतिराम भट्ट जस्तो उनी पनि अरुलाई दृष्टिकोणमा आधारित भएर कविता लेख्न उत्प्रेरित गर्ने कवि भएको बताए । हङ्कङमा बसेर नेपाली कविता र साहित्यको विकासमा सम्बाहाङ्फेले पुर्याएको योगदान पछिल्लो पुस्ता वा समालोचकहरुले खोजी गर्ने दिन आउने उनले बताए।

पहिलो चरणमा कविता उत्कृष्ट हुनु पर्ने बताउँदै प्राज्ञ मुकारुङले एकल कविता वाचन दोस्रो दर्जामा मात्रै हुने बताए । आफूले पनि प्रारम्भिक चरणमा धेरै पटक कविता वाचन गरेको स्मरण गर्दै उनले पछिल्लो समय यसको महत्व कम लाग्न थालेको बताए।

हङकङमा बसोबास गरिरहेका कवि सम्बाहाङ्फे रेखा कविताका अभियन्ता हुन् । उनीसहितका केही कविहरु जीवन र जगत एक रेखामा आधारित छ भन्ने मान्यता राख्दै त्यही रेखासँग सम्बन्धित भएर कविताहरु सिर्जना गर्ने अभियानमा छन् । त्यसैअन्तर्गत कवि सम्बाहाङ्फेका आज वाचित केही कविताहरु पनि रेखा अभियानसँग सम्बन्धित थिए । रेखा कविता अभियान २०११ देखि हङकङबाट सुरु भएको कवि सम्बाहाङ्फेले जानकारी दिए । यसका छुट्टै मान्यता रहेको बताउँदै उनले समानता, क्षेत्रता, सामयिकता, सहनशिलता, आलंकारिकता र रेखाप्रस्तुती रहेका कवितालाई रेखा कविता भन्न सकिने उनले बताए।





Comments

comments

Leave a Reply

19877