होला त यिनलाई मृत्युदण्डको सजाय…?

होला त यिनलाई मृत्युदण्डको सजाय…?


किम जोङ नाम हत्याको सुनुवाइ शुरु

क्वालालम्पुर : उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनका सौतेला भाइ किम जोङ नामको हत्याकाण्डका अभियुक्तहरूलाई मलेसियाले न्यायिक अनुसन्धानको दायरामा ल्याउने भएको छ।

हत्याकाण्डको अनुसन्धान र हत्याराहरूको खोजी गर्ने क्रममा मलेसियाली प्रहरीले पक्राउ गरेका दुईजना महिला इन्डोनेसियाकी सिति आइस्याह र भियतनामकी दोन थि ह्वोङलाई सोमबार क्वालम्पुरस्थित मलेसियाली उच्च अदालतमा पेश गरेको छ । विमानस्थलमा जडित सीसीटीभी क्यामेराको सहयोगबाट उनीहरूको पहिचान गरिएको थियो।

घटनालगत्तै बेपत्ता भएका यी दुई महिलालाई भूमिगत भएको लगभग आठ महिनापछि मलेसियाली प्रहरीले पक्राउ गरी सोमबारै अदालत समक्ष पेश गर्न सफल भएको हो । क्वालालम्पुरका सहायक जिल्ला प्रहरी आयुक्त शाफेन मामतको अग्रसरता र प्रयासमा यिनीहरू पक्राउ परेका हुन्।

यिनीहरूलाई पनि अरू सरह नाम हत्याकाण्डको अभियोगमा हदैसम्मको सजाय माग गरिएको छ । प्रहरीको उक्त मागलाई उच्च अदालतले मुनासिब ठहर्याएमा यी दुई महिलालाई मृत्युदण्डको सजाय हुनेछ। गत फेब्रुअरी १३ मा क्वालालम्पुरको व्यस्त विमानस्थलमा भीडभाडका बीच प्रतिबन्धित भिएक्स नर्भ एजेन्ट नामक प्राणघातक बिष प्रयोग गरी किम जोङ नामलाई २० मिनेटभित्रै हत्या गरिएको थियो । उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनले नै पाँच वर्ष लगाएर ठूलो षड्यन्त्र रची आफ्ना सौतेला भाइको हत्या गराएको भन्ने आशंका गरिँदै आएको थियो।

यद्यपि, यी दुई अभियुक्तले भने विमानस्थलको सीसीटीभी क्यामेरामा रेकर्ड भएका बखत विमानको उडान समय कुर्दा कसैलाई हानिनोक्सानी नपुर्याउने सामान्य खेलखेली मनोरञ्जन लिइरहेको र नाम हत्याकाण्डमा आफ्नो कुनै संलग्नता नभएको जिकिर गरेका छन्। थप अनुसन्धान गरी पक्का गरेपछि मात्र कारबाही अघि बढाउनु पर्नेमा त्यसो नगरी प्रहरीले अड्कलको भरमा जबरजस्ती संगीन अभियोग लगाएको उनीहरूका कानुनव्यवसायीको जिकिर छ।

नाम हत्याकाण्ड भएलगत्तै मलेसिया र उत्तर कोरीयाबीचको सम्बन्ध नाटकीय हिसाबले चिसिएको थियो । एक अर्काको मुलुकमा रहेका दुवै देशका नागरिकलाई देश छोड्न नपाउने प्रतिबन्ध लगाइनु, कूटनीतिक कर्मचारीलाई फिर्ता बोलाइनुका साथै यसैलाई लिई दुबै मुलुकमा अन्य थुप्रै प्रतिबन्धात्मक व्यवस्था लागू गरिएका थिए।

यसैबीच मलेसियाले आफ्नो नागरिकलाई हिरासतमा लिई उच्च अदालतमा पेश गरेको र त्यहाँ के कस्तो सुनुवाइ भइरहेको छ भन्ने सम्बन्धमा नजिकबाट नियालिरहेको इन्डोनेसियाले जनाएको छ। इन्डोनेसियाले मलेसियाली ऐन, कानुनको सम्मान गर्ने, उच्च अदालतले कुनै आदेश वा फैसला गरी नसकेको अवस्थामा अहिले नै केही टिप्पणी गरिहाल्ने बेला नभएको भनी मलेसियाका लागि इन्डोनेसियाली राजदूत रुस्दि किरानाले बताएका छन्। अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

19943