यसरी मिल्यो हिसाब किताब: एमाले ६१, माओवादी ३९ प्रतिशत

एमाले र माओवादीबीच ६१ र ३९ प्रतिशत स्थानमा उम्मेदवारी दिने गरी चुनावी तालमेल भएको छ।

१६५ सदस्यीय प्रतिनिधिसभा र ३३० सदस्यीय प्रदेशसभाका लागि दुई दलबीच बाँडफाँट मिलेको नेताहरूले बताएका छन् । नेताहरूका अनुसार प्रतिनिधिसभामा एमालेले ९७ र माओवादीले ६१ स्थानमा उम्मेदवार उठाउने सहमति भएको छ।

यस्तै प्रदेशसभामा एमालेको भागमा १९६ र माओवादीको भागमा १३० सिट परेको छ । गठबन्धनमा आएका केही दललाई दिने स्थानको टुंगो लाग्न बाँकी रहेकाले दुई दलको भागमा परेका केही क्षेत्रमा तलमाथि हुनसक्ने नेताहरूले बताएका छन् । ‘एमालेको भागमा मोटामोटी ६१ प्रतिशत र माओवादीको भागमा ३९ प्रतिशत जति परेको छ,’ एमाले स्थायी समिति सदस्य केशव बडालले अन्नपूर्णसँग भने, ‘संख्यामा थोरै तलमाथि हुन पनि सक्छ।’

एमाले र माओवादी केन्द्रबीच गठबन्धनमा आउने अन्य दललाई दिएर बाँकी स्थानमा ६० र ४० प्रतिशत उम्मेदवार उठाउने सहमति भएको थियो । मधेसकेन्द्रित दलका हृदयेश त्रिपाठी, वृजेश गुप्तालगायत नेता, भक्तपुर १ मा नेमकिपा, प्युठानमा जनमोर्चा र अन्य केही क्षेत्रमा स्वतन्त्रलाई पनि छोड्नुपर्ने भएकाले एमाले र माओवादी केन्द्रले पाएको भागबण्डामा थोरै तलमाथि हुने अनुमान गरिएको छ । माओवादीसँग भागबण्डा टुंगो लागेपछि एमाले स्थायी समितिको मंगलबार बसेको बैठकले १ नम्बर र ६ नम्बर प्रदेशका केही जिल्लाका उम्मेदवार तय गरेको छ । १ नम्बर प्रदेशका इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम र ६ नम्बर प्रदेशका सुर्खेत र दैलेखमा उम्मेदवार पनि टुंगो लागेको छ।

झापा ३ मा एमालेले राप्रपाका राजेन्द्र लिङदेनलाई सघाउने भएको छ । कांग्रेस र राप्रपाबीच लिङदेनलाई झापा ३ मा उठाउने सहमति भए पनि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले उक्त क्षेत्रमा दाबी नछोडेपछि लिङदेनले राप्रपाबाट चुनाव लड्ने घोषणा गरेका थिए । एमालेले लिङदेनलाई नै समर्थन जनाउने निर्णय गरेपछि उनी वामगठबन्धनसमेतको उम्मेदवार बन्ने भएका छन् । झापा ३ मा लिङदेनलाई सघाउने र झापाका अन्य क्षेत्रमा राप्रपाले वामगठबन्धनलाई सघाउने भित्री सहमति भएको एमाले स्रोतले बताएको छ । एमालेले इलामको १ नम्बरमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र २ नम्बरमा पूर्वसभामुख सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यस्तै मोरङ १ मा घनश्याम खतिवडा र उक्त क्षेत्रको प्रदेश (ख) मा उपेन्द्र घिमिरेलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । झापा ५ बाट प्रनिनिधिसभामा पार्टी अध्यक्ष केपी ओली उम्मेदवार बन्ने भएका छन् । ओलीको क्षेत्रको प्रदेश (क) मा हिक्मत कार्की र प्रदेश (ख) बाट अर्जुन राईलाई उम्मेदवार बनाउने स्थायी समितिले निर्णय गरेको छ । झापा १ माओवादीलाई छोड्ने भएपछि उक्त क्षेत्रका दुईवटै प्रदेशमा क्रमशः श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकीलाई उम्मेदवार बनाइने भएको छ । झापा ४ मा एलपी साँवा तथा प्रदेश (ख) मा हीरा थापालाई उम्मेदवार तोकिएको छ।

मोरङ २ को प्रतिनिधिसभामा ऋषिकेश पोखरेल, प्रदेश (ख) मा लीलाबल्लभ अधिकारी, मोरङ ३ मा भानुभक्त ढकाल तथा प्रदेश (ख) मा दानकुमार ओझालाई उम्मेदवार बनाउने निर्णय भएको छ । ढकाल एमालेका निवर्तमान प्रमुख सचेतक हुन् । यस्तै मोरङ ४ को (ख) प्रदेशमा जीवन घिमिरे तथा ५ को (ख) मा धर्मानन्द सञ्जेललाई उम्मेदवार बनाइएको छ । मोरङ ७ मा लालबाबु पण्डित तथा प्रदेश (ख) मा रमेश पोखरेललाई उम्मेदवार बनाइएको छ।

धनकुटाको प्रतिनिधिसभातर्फ राजेन्द्र राई तथा प्रदेशमा टिका चेम्जोङ र ईन्द्रमणि पराजुलीलाई उम्मेदवार तोकिएको छ । एमालेले तेह्रथुममा निवर्तमान सांसद भवानी खापुङलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । तेह्रथुमको प्रदेश (क) मा लक्ष्मण तिवारी र प्रदेश (ख) मा तेजमान कङदङवालाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ।

त्यसैगरी ६ नम्बर प्रदेशका दैलेख र सुर्खेतका उम्मेदवार पनि एमालेले टुंग्याएको छ । दैलेख १ मा रविन्द्र शर्मा तथा प्रदेश (ख) मा अम्मर थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ । यस्तै दैलेख २ मा प्रतिनिधिसभातर्फ राजबहादुर बुढा तथा प्रदेश (क) मा सुशील थापा र (ख) मा राजबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । सुर्खेत १ बाट ध्रुवकुमार शाही तथा प्रदेश (ख) मा खड्गबहादुर खत्री तथा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा नवराज रावत तथा प्रदेश (क) मा यामलाल कँडेललाई उठाउने भएको छ । एमालेको बुधबार बस्ने बैठकले बाँकी प्रदेशका सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाउने तयारी गरेको खबर अन्नपूर्ण पोष्ट छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20362