कोरियाको दशैं यस्तो रह्यो…

मञ्जु गुरुङ / एचकेनेपाल डट कम-
सोल। नेपालको सबैभन्दा ठूलो पर्व मनिने हिन्दूहरुको महान चाड दशैको महत्व परदेशमा अझ बढी हुन्छ। विषेश गरी रोजगार, व्यवसाय र अध्ययनको शिलशिलामा विदेशमा लामो समयदेखि रहन बाध्य नेपालीहरु यो पर्वमा आफ्नो घर परिवारलाई सम्झन बाध्य हुन्छन्।

अरु बेला काममा व्यस्त भएपनि यो बेला भने आमाबुबा, परिवारका सदस्य र इष्टमित्रलाई सम्झेर पिरोलिन्छन्। त्यसैले ती सम्झनाले भावुक बनाएको मनलाई भुलाउन विदेशमा रहेका नेपालीहरु संगठित हुदै सामूहिक दशै मनाउने क्रम जारी छ।

यसैक्रममा कोरियामा पनि रहेका नेपालीहरुले विभिन्न शहरको आआफ्नो पायक पर्ने ठाउँमा भेला भएर दशैको एक महत्वपूर्ण पक्ष रातो टीका र जमरा ग्रहण गर्दै दशै मनाएका छन्। कोरियामा अनुमानित २५ हजार भन्दा बढी नेपाली रहेको छ। जसमा विषेश गरी इपिएस मार्फत आएका नेपालीहरुको संख्या धेरै छ। त्यसैले काममा बढी व्यस्त हुने र लामो समय काममै खट्नु पर्ने धेरै नेपालीको बाध्यता छ।

त्यसैले पनि कोरियामा रहेका धेरै जसो नेपालीहरुको दशैको मुख्य टीकाको दिन निधार खाली नै रहयो। ठ्याक्कै टिकाको दिन शुक्रबार परेकोले प्राय सबैजना रातिसम्म काममा व्यस्त हुनु पर्ने बाध्यता थियो। त्यसैले पनि धेरै जसोले फेसबुकको भित्तामा आफ्नो भावना पोखे र स्काइप मार्फत परिवारको अनुहार हेर्दै मौखिक टीकाको भरमा चित्त बुझाए। संगै काम गर्ने नेपालीहरु भने काम सकेर फर्केपछि माध्यरातमा भेला भएर खानपिन गर्दै एक अर्काको पीडामा मलहम लगाउन सफल भए।

तर सुवनस्थित स्वयम्भू रेष्टुरेन्टमा भने सोही दिन विशेष गरी कोरियनसंग विवाह गरी आएका नेपाली चेलीहरुलगायत सबै नेपालीहरुलाई आमन्त्रण गरी दशै मनाएका थिए। रेष्टुरेन्टका प्रोपराइटर बुद्धि गुरुङबाट अभिभावकत्व गर्दै आएका सबैलाई टीका र जमरा लगाइदिएका थिए। सोही अवसरमा उपस्थपत भएका युरोपियनहरु र भारतीय मात्र हैन नेपालबाट आएक चित्रकार र मूर्तिकारले पनि टीका ग्रहण गरेका थिए । नेपालीको यो संस्कारलाई सुवनको स्थानीय टेलिभिजनले छायाँकन पनि गरेको थियो।

टीकाको तेस्रो दिन आइतबार विदाको दिन नेपाली राजदूतवास र गैरआवसीय नेपाली संघ कोरियाको संयुक्त आयोजनामा सोलमा भब्य कार्यक्रम गरिएको थियो। सोही अवसरमा यसपाली पहिलो पटक स्थापना गरिएको राजदूत रनिङ शिल्ड कपको पनि टुर्नामेन्ट गरिएको थियो। राजदूत कमानसिंह लामाले विभिन्न सघं संस्थाका प्रतिनिधि, विद्यार्थी, महिला , कलाकार, व्यवसायीलगायत कार्यक्रममा उपस्थित इच्छुक सबैलाई टीका लगाइ आर्शिरवाद दिएका थिए।

इन्छनमा सम्पन्न १७ औ एसियाली खेलकुदको अवलोकन गर्न आएका पाँच महिला सभासदलाई पनि राजदूत लामाले टिका लागइदिएका थिए। जसमा शारदा पौडेल , सुजता परियार , जयन्ती राई , रिता रावल र निशा शाह रहेका थिए। त्सैबेला महिलाका लागि महिलाले सभासद सम्मान र एक मात्र खुट्टा भएकी अपांग गायिका समला राईलाई २ लाख वन सहयोग र सम्मान गर्न पनि भ्याए। त्यसो त पर्वत प्रवासी मञ्च कोरियाको चिट्ठाको नतिजा पनि सार्वजनिक गर्ने मौका यसैबेला जुर्यो।

स्थानीय खुनाखरी साँगीतिक व्यण्ड र नेपालबाट आएका गायक प्रकाश तिमिल्सिना र गायिका तोयाह्याङमा राईले पनि समारोहलाई संगीतमय बनाएका थिए। १८ टिम भिडेका फूटबल टुनामेन्टका प्रथम विजेता लम्जुइङ एफ सिले २५ लाख वन र शिल्ड हात पारे भने दोस्रो हुने धरानले १० लाख र तेस्रो हुने कास्कीले ५ लाख वन हात पारे। खेलाडीहरुले मेडल र प्रमाणपत्र सोही दिन साझ राजदूतकोहतबाट थापेका थिए।

त्यसो त आइतबार नै नेपालीहरुको बाहुल्यता रहेको फेन्तेक माइग्रेन्ट सेन्टरले पनि छुट्टै दशै कार्यक्रम मनायो भने आनसनको काठमाण्डौ रेष्टुरेण्टमा पनि दोइङदुचन नेपाली समाजको नेतृत्वमा भेला भएर टीका लगाउदै दशै मनाए। इपिएस युथ नेपालले पनि सुवनको हिमालयन रेष्टुरेण्टमा दशै डान्स पार्टी भन्दै नाच गानमा रमाए। उता कोरीयाका विश्व प्रशिद्ध पर्यटकीय द्धिप जुजेमा पनि नेपालीहरुले सहजकर्ता सुभद्रा लिम्बूको सक्रियतामा विदेशी र कोरियालीहरुको समेत सहभागितामा दशै मनाए।





Comments

comments

2044