काठमाडौं–पोखरा रेलमार्ग बनाउन चिनियाँ टोली उत्साहित

नेपाल भ्रमणमा रहेको चिनियाँ रेल नेटवर्कका उच्च अधिकारी सहितको टोलीले बुधबार काठमाडौं–पोखरा रेलमार्गको स्थलगत अध्ययन गरेको छ।

केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउने ठाउँको स्थलगत अध्ययन गर्न नेपाल आएको टोली पोखरा पुगेपछि त्यहाँ रेल पुर्याउन उत्साहित बनेको हो।

नेपाली अधिकारी सहितको संयुक्त टोली बुधबार काठमाडौंबाट पोखराको स्थलगत अध्ययनमा गएको थियो । पोखरा भ्रमणबाट चिनियाँ रेल नेटवर्कका अधिकारीहरू सकारात्मक र उत्साहित बनेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए।

चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा २३ सदस्यीय टोलीले काठमाडौं हुदै पोखरासम्मको रेलमार्गको सम्भावित रेखांकनबारे अध्ययन गरेको थियो । टोलीले पोखरामा रेलवे स्टेसन बनाउने सम्भाव्य ठाउँको अवलोकन गरेको थियो।

टोलीले पोखराको साराङकोट लगायत विभिन्न ठाउँ घुमेको थियो । चिनियाँ टोली पोखराको वातावरण देखेर उत्साहित बनेको नेपाली टोलीले बताएको छ।

टोलीले बुटवलसम्म पु¥याउने रेलमार्गको एलाइनमेन्टबारे पनि सामान्य छलफल गरेको थियो । उनीहरूले काठमाडौंबाट पोखरा हँुदै बुटवल लैजाने कि मुग्लिन क्षेत्रबाट छुटाएर पोखरा र बुटवलका दुई रुट बनाउने भन्ने विषयमा निक्र्यौल गर्न नसकेको उपाध्यायले बताए । ‘उनीहरू बुटवलसम्म लैजाने रुटबारे थप अध्ययन गर्दैछन्,’ उपाध्यायले भने, ‘मुग्लिनबाट छुटाएर पोखरातिर लैजाने कि पोखराबाट बुटवल लैजाने भन्नेमा अध्ययन मै छन्।’

सरकारले काठमाडौं र पोखरालाई रेलमार्गले जोड्ने योजना अघि सारेको छ । पोखरा र लुम्बिनीलाई पनि रेलमार्गले जोड्ने योजना छ।

सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । अध्ययन अनुसार उक्त रेलमार्ग एक सय ८७ किलोमिटर लामो हुनेछ र यसले ६ वटा जिल्लालाई जोड्ने छ । काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहँु हँुदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ । यो रेलमार्गले अहिले गाडीबाट पोखरा पुग्न लाग्ने झन्डै सात घन्टा लामो यात्रालाई दुई घन्टामा झार्ने अध्ययनले देखाएको छ ।
मुग्लिन हँुदै बुटवलतिरको रुट भने झन्डै एक सय ३० किलोमिटर हुनेछ । चिनियाँ टोली बिहीबार बुटबल जाने योजना छ।

उक्त भ्रमणमा नेपालको तर्फबाट मन्त्रालयका सचिव देवेन्द्र कार्की, रेल विभागका महानिर्देशक अनन्त आचार्य, सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकार सहित मन्त्रालयका अन्य अधिकारीको सहभागी थिए।

संयुक्त टोलीले मंगलबार केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययन गरिसकेको छ । चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गको ‘एलाइनमेन्ट’, सम्भाव्य रेखांकनबारे अघिल्लै दिन बताएको थियो । केरुङ–काठमाडौं प्रस्तावित रेलमार्गको लम्बाइ झन्डै सय किलोमिटर हुनेछ।

तिब्बतको केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौंसम्म रेलमार्ग निर्माण गर्ने योजना सरकारले अघि सारेको छ । उक्त रेलमार्ग निर्माण गर्न चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । पूर्वअर्थ मन्त्री कृष्णबहादुर महराले चीन भ्रमणको अवसरमा उक्त रेलमार्ग निर्माण गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चिनियाँ सरकारले गरेको थियो।

बुधबारको बुटवल भ्रमणपछि शुक्रबार अन्तिम चरणको दुई पक्षीय वैठक हुनेछ । तीन ठाउँको भ्रमणपछि उनीहरूले केही न केही निचोड दिन सक्ने नेपाली पक्षले आस गरेको छ।

यो भ्रमणपछि चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गको काम सुरु गर्ने विभागले जनाएको छ । चिनियाँ प्रतिनिधिले नेपालमा रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने प्राविधिक सहयोग गर्ने बताएको छ । उनीहरूले रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न तालिम दिने प्रतिबद्धता जनाएका छन्।

नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीमा चीनको परराष्ट्र र यातायात मन्त्रालय, नेसनल डेभलपमेन्ट कमिसन, नेपालस्थित चिनियाँ राजदूतावासका अधिकारी, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधिसमेत छन्। चिनियाँ टोली शनिबार स्वदेश फर्कने खबर नागरिक दैनिकमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20484