पोखरामा व्यावसायिक फोटो पत्रकारिता प्रशिक्षण सुरु

पोखरा, २४ कात्तिक। राष्ट्रिय फोटो पत्रकार समूह, कास्कीको आयोजनामा पोखरामा व्यावसायिक फोटो पत्रकारिता प्रशिक्षण सुरु भएको छ।

दुई दिनसम्म चल्ने उक्त प्रशिक्षणमा कास्कीसहित छिमेकी जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत करीब ४५ जना पत्रकारको सहभागिता छ।

प्रशिक्षण उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले ज्ञान, सीप र प्रवृत्ति (केएसए) विकासमा तालिमको महत्व हुने भन्दै फोटो पत्रकारिताको व्यावसायिकतामा जोड दिए।

नागरिक पत्रकारिताको विकासको सन्दर्भ जोड्दै संख्यात्मकभन्दा गुणात्मक ख्याल गर्नु अहिलेको चुनौती भएको उनको धारणा थियो।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) का केन्द्रीय अध्यक्ष ध्रुव आलेले फोटो पत्रकारितामा सिक्ने र सिकाउनेबीच तालमेल मिल्न नसकेको उल्लेख गर्दै समूहले पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा व्यावसायिक फोटो पत्रकारिता सुरु गरेको बताए । यस्तै प्रकृतिको तालिम गत भदौमा भक्तपुरमा भएको थियो । उनले स्थानीयस्तरमा घट्ने घटनाक्रम वा विषयवस्तुको तस्वीर स्थानीयबाट आएमा प्रभावकारी हुने बताए।

फोटो पत्रकारितालाई व्यावसायिक बनाउँदै आगामी दिनमा समूहलाई महासंघको अवधारणामा लैजाने उनले जानकारी दिए । उनका अनुसार देशभर ३२ शाखा स्थापना भैसकेका छन्।

समूहका पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्णमणि बरालले दोस्रो जनआन्दोलनपछि पेसागत हित र गुणस्तरसँगै व्यावसायिकता खोजीको लागि पोखरामा फोटो पत्रकार संगठित भएको जानकारी दिए । कास्की शाखा फोटो पत्रकार समूहको पहिलो जिल्ला शाखा हो।

उक्त अवसरमा काठमाडौंमा फोटो अवार्ड विजेता समूहका सल्लाहकार एवं अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित, समूहका पूर्व केन्द्रीय सदस्य एवं समूहका सल्लाहकार संयोजक राम गुरुङ, समूहका पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्णमणि बरालको सम्मानमा सम्मानपत्र हस्तान्तरण गरियो।

पत्रकार रञ्जितले अवार्डमा पाएको २५ हजार रुपैयाँमध्ये १५ हजार थप गरी २० हजार रुपैयाँ समूहको कोषाध्यक्षका लागि र २० पत्रकार महासंघमा स्पिकर खरिदमा सहयोग गरेका थिए । सो अवसरमा उनलाई धन्यवादसहित सम्मान व्यक्त गरियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20505