रामचन्द्र पौडेलको ‘प्रधानमन्त्री’ सपना पूरा होला ?

दमौली बजारको केन्द्रमा चार तलाको घर छ। त्यही घरको छतमा शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रचारमा निस्कने हतारोमा थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार ताप्लेजुङको चुनावी सभामा जान पौडेललाई आग्रह गरेका थिए। तर, आफ्नो क्षेत्रको कार्यक्रम छुटाउन सक्दिनँ भन्दै उनले देउवाको अनुरोध अस्वीकार गरे। र, व्यास नगरपालिकामा मत माग्न हिँडे।

पौडेलमाथि मुलुकभर कांग्रेसलाई जिताउने जिम्मेवारी पनि छ। तर, आफ्नै निर्वाचन क्षेत्रमा थपिएको चुनौतीले उनलाई गाँजेको छ। एकातिर वामपन्थी गठबन्धन, अर्कोतर्फ आफ्नै दलका नेता गोविन्दराज जोशी पक्षको असहयोग। त्यसमाथि ‘पटकपटक एउटै व्यक्ति उम्मेदवार किन ?’ भन्ने प्रश्न पनि झेल्नुपरेको छ। पाँचपटक तनहुँबाट सांसद भइसकेका पौडेल यी चुनौतीका बीच छैटौंपल्ट किन उम्मेदवार बनेका छन् त ? प्रश्नको जवाफ उनले घुमाउरो शैलीमा दिए। जवाफभित्र उनको स्पष्ट संकेत थियो– प्रधानमन्त्री बन्ने चाहना।

‘मेरो केही मिसन छ, त्यो पूरा भएको छैन,’ उनले कान्तिपुरसँग भने, ‘प्रधानमन्त्री मैले आफैं भन्ने कुरा होइन, तर मेरा केही भिजन छन्, आर्थिक योजना छन्, त्यसलाई कार्यान्वयन गर्न मैले पाउनुपर्छ भन्ने मेरो दाबी छ।’

आफूले कांग्रेसमा इमानको राजनीति गरेको र आफ्ना कारण दलको इज्जत र सम्मान बढेको उनको दाबी छ। त्यसैले चुनावपछि दलसँग त्यसको हिसाब माग्ने तयारीमा पौडेल छन्।

‘मैले जिम्मेवारी पाएँ भने पार्टीको प्रतिष्ठा र सम्मान झन् बढ्छ, पार्टी सम्मानित हुन चाहन्छ भने मेरो कदर हुनुपर्छ,’ उनले भने, ‘जसरी पनि जोडघटाउ गरेर आफैंले मात्र सत्ता अँठ्याएर राख्दा पार्टीको विकास कसरी हुन्छ भन्नेतर्फ नेताहरूले अब सोच्न जरुरी छ।’

०४८ सालमा तनहुँ १ बाट चुनाव जितेका पौडेल त्यसयताका चारवटा निर्वाचनमा तनहुँ २ बाट सांसद निर्वाचित भए। निर्वाचन क्षेत्र पुन:संरचनापछि तनहुँका ३ निर्वाचन क्षेत्र घटेर २ वटा भए। यसपटक उनी तनहुँ १ बाट उम्मेदवार छन्। यसपालि निर्वाचित भए आफ्नो मिसन पूरा गर्न सफल हुने ठानेका छन् उनले। त्यसैले युवा पुस्तालाई अवसर नदिएको भन्ने आक्रोशलाई उनले ‘भावी अवसर’ को आश्वासन दिँदै थुमथुम्याइरहेका छन्। ‘राजनीतिमा संन्यास भन्ने हँुदैन तर एक/दुई वर्ष समय पाएँ भने मेरो उद्देश्य पूरा हुन्छ,’ नेता पौडेलले भने, ‘त्यसपछि नयाँ व्यक्तिहरूका लागि अवसर आइहाल्छ, अहिले पनि म उहाँहरूकै प्रतिनिधिका रूपमा उभिएको छु।’

भावी प्रधानमन्त्रीकै रूपमा कार्यकर्ताले पौडेलको प्रचार गरिरहेका छन्। ‘लोकतन्त्र र शान्तिका लागि उहाँ वर्षौंदेखि लड्नुभयो, जे जिम्मेवारी दिइएको छ, त्यो पूरा गर्नुभयो,’ शनिबारको एउटा चुनावी जमघटमा कांग्रेसका जिल्ला सभापति वैकुण्ठ न्यौपानेले भने, ‘अब प्रधानमन्त्रीको पनि हामीले पाउने अवस्था छ, त्यसैले उहाँलाई जिताउनुपर्छ।’

पौडेलमाथि पहिलो तगारो पार्टीभित्रैबाट तेर्सिएको छ। सुरुमा उनलाई उम्मेदवार नै बन्न नदिन पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले जुलुसै निकाले। त्यसरी रोक्न नसकेपछि स्वतन्त्र उम्मेदवारी दिए। जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि पौडेललाई केही सहज त भयो तर आयोगको निर्णय पौडेलकै दबाबमा भएको भन्दै जोशी पक्ष आक्रोशित छ। उम्मेदवारी नै खारेज भएपछि जोशीले खुला रूपमा त केही भनेका छैनन्। तर, जोशीप्रति सहानुभूति राख्नेहरू अझै पौडेलको पक्षमा उभिएका छैनन्।

‘झन्डै ३० वर्षदेखि उहाँले तनहुँमा एकछत्र शासन गर्दै आउनुभएको छ, २/४ जनाको घेरामा मात्र बस्नुभएको छ,,’ शनिबार पौडेलकै चुनावी कार्यक्रमनजिक भेटिएका जोशी पक्षका अगुवा कार्यकर्ता नरनाथ काफ्लेले भने, ‘सबैलाई समेट्ने प्रयास गर्नुभएन भने अहिले उहाँले राम्रो पाठ सिक्नुहुनेछ।’ राष्ट्रिय नेता भए पनि पौडेलले जिल्लामा केही गर्न नसकेको र पार्टीभित्रको सबै पक्षलाई नमिलाएको आक्रोश जोशी पक्षको छ।

मतदानको दिन नजिकिँदै गर्दा पौडेलले जोशी पक्षका कार्यकर्तालाई सन्तुष्ट पारेर आफ्नो पक्षमा ल्याउनुपर्ने चुनौती छ। जोशी पक्षको असन्तुष्टि पौडेलले राम्ररी बुझेका छन्। जोशीको असन्तुष्टिले कति असर गर्छ त ? ‘उम्मेदवारी रद्द भएको छ अबै केही मिलाउनुपर्ने कुरा छन् भने त्यसका लागि मैले पहल गरिरहेको छु,’ पौडेलले भने। पौडेल उपप्रधानमन्त्री, सभामुख, गृह, सञ्चार, कृषि, शान्ति तथा पुनर्निर्माणमन्त्री भइसकेका छन्। पार्टीभित्र संसदीय दलका नेता र उपसभापति पनि भइसकेका हुन्। उनले प्रधानमन्त्री र पार्टी सभापति पदमा भने पराजय बेहोरेका छन्।

कांग्रेसभित्रको यो असन्तुष्टिले वाम गठबन्धनलाई भने उत्साहित पारेको छ। गठबन्धनका तर्फबाट एमालेका कृष्णकुमार श्रेष्ठ उम्मेदवार छन्। अघिल्लो चुनावमा पौडेलसँगै पराजित श्रेष्ठले यसपटक जितको मूल आधार नै गठबन्धनको मत र कांग्रेसको असन्तुष्टिलाई ठानेका छन्। जोशीको उम्मेवारी रद्द गर्ने निर्णयबाट उनी आक्रोशित छन्।

‘२०६४ सालमा पनि मुद्दा यही हैसियतमा थियो तर जोशी उम्मेदवार बन्नुभएको थियो। अहिले पनि मुद्दा त्यही हालतमा छ तर, षड्यन्त्रपूर्वक उहाँको उम्मेदवारी रद्द गरियो,’ श्रेष्ठले भने।

उनले जोशी पक्षका कांग्रेस कार्यकर्ताको सहानुभूति आफूप्रति रहेको सुनाए। जोशी आफैंले सहयोगको वचन त दिएका छैनन् तर उनको पक्षको मत आफूलाई आउनेमा श्रेष्ठ ढुक्क छन्। ‘झन्डै ३० वर्षदेखि एउटै व्यक्ति हुनुहन्छ, कहिले प्रधानमन्त्री त कहिले अन्य के–के आश्वासन दिँदै चुनाव जित्नुभएको छ तर जितेर गएपछि केही गर्न सक्नुभएको छैन,’ श्रेष्ठले भने, ‘त्यसैले यसपटक जनताले परिवर्तन खोजेका छन्। कांग्रेसकै मतदाता पनि वाक्क छन्।’ गत स्थानीय तहको चुनावमा एमाले र माओवादी केन्द्रको मत जोडदा कांग्रेसको भन्दा १ हजार ७ सयले बढी छ। यसपटक पौडेलको किल्ला तोड्न सकिने विश्वास वामपन्थी गठबन्धनमा छ।

तनहुँ १ मा भानु, आँबुखैरेनी, देवघाट र व्यास नगरपालिकाका १२ वटा वडा पर्छन्। स्थानीय तह निर्वाचनमा बन्दीपुर माओवादी केन्द्रले जित्दा कांग्रेस कार्यकर्ताभित्रैको असन्तुष्टिले उम्मेदवारलाई सहयोग भएको सार्वजनिक भएको थियो। देवघाटमा निकै थोरै मतान्तरले प्रमुख एमाले र उपप्रमुख कांग्रेसले जितेको थियो। सदरमुकाम दमौली रहेको व्यास नगरको एउटाबाहेक सबै वडा कांग्रेसले जितेको थियो। निर्वाचन क्षेत्र पुन:संरचनापछि पहिलेकै आकारभन्दा १ र २ नम्बर क्षेत्रका ठाउँ फरक र केही विस्तारित भएका छन्। कांग्रेस कमजोर नभए पनि पार्टीभित्रैको असन्तुष्टि पौडेलका लागि ठूलो चुनौती देखिएको खबर कान्तिपुरमा छापिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20535