‘डेञ्जर जोन’ मा देउवादेखि बाबुरामसम्म

आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र पाँच जना पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा हुनुहुन्छ।

निरन्तर राजनीतिमा सक्रिय पूर्वप्रधानमन्त्री केही आफ्नै पूर्ववत् निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने केहीले नयाँ क्षेत्र रोज्नुभएको छ । यसअघिका चुनावी परिणाम र हालैको स्थानीय निर्वाचनको मत परिणामले पूर्वप्रधानमन्त्रीहरूको ‘सेफ’ र ‘डेन्जर जोन’ भने मिश्रित छ।

प्रधानमन्त्री देउवा आफ्नो नियमित निर्वाचन क्षेत्र डडेलधुराबाट चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । देउवासँग वाम गठबन्धनका तर्फबाट (माओवादी केन्द्र)का उम्मेदवार खगराज भट्ट तेस्रोपटक चुनावी मैदानमा हुनुहुन्छ । भट्ट २०६४ र २०७० को संविधानसभा निर्वाचनमा देउवासँग पराजित हुनुभएको थियो । दोस्रो संविधानसभा २०७० को मतान्तर ११ हजारभन्दा बढी थियो।

तर, हालैको स्थानीय निर्वाचनको नतिजाअनुसार देउवालाई सजिलो नभएको पनि आकलन गरिँदै छ । यसपटक वाम गठबन्धन एकै ठाउँमा रहेका कारण प्रधानमन्त्री देउवाका लागि चुनावी परिणाम यसअघिको जस्तो सहज नदेखिएको हो । अङ्क गणितका हिसाबले स्थानीय निर्वाचनमा वाम दल काँग्रेसभन्दा आठ हजार मतले अघि छन् ।
अहिलेसम्मका पाँचवटा संसदीय निर्वाचनमा अविजित देउवा अङ्क गणितमा योपटक ‘डेन्जर जोन’मा देखिनुहुन्छ । भट्टलाई दुई पटकको हारपछि जित हासिल गर्ने अवसर पनि छ । डडेलधुरामा प्रतिनिधिसभामा छ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौँ–२ बाट प्रतिस्पर्धामा हुनुहुन्छ । नेता नेपालको मुख्य प्रतिस्पर्धी काँग्रेसका दीपक कुइँकेल हुनुहुन्छ । दोस्रो संविधानसभा उपनिर्वाचनमा पाँच हजारभन्दा बढी मतले कुइँकेल यही क्षेत्रबाट निर्वाचित हुनुभएको हो । संविधानसभा सदस्यमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित नेता नेपालले उक्त क्षेत्र छाड्नुभएको थियो ।
पहिलो संविधानसभा (२०६४) मा दुई क्षेत्रबाट अनपेक्षित हार बेहोर्नुभएका नेता नेपाल २०७० को निर्वाचनमा रौतहट–१ र काठमाडौँ–२ बाट निर्वाचित हुनुभएको थियो । दुई क्षेत्रबाट निर्वाचित नेपालले कानुनी व्यवस्थाअनुसार काठमाडौँ–२ छाड्नुभएको थियो । उक्त स्थानमा भएको उपनिर्वाचनमा काँग्रेसका कुइँकेल विजयी हुनुभएको थियो । स्थानीय तहको अङ्क गणित र २०७० मा आठ हजारभन्दा बढीको मतान्तर नेपालको पक्षमा भए पनि निर्वाचित क्षेत्र छोड्नुले नेपालमाथि मतदाताले प्रश्न उठाएका छन् । काठमाडौँ–२ मा प्रतिनिधिसभाका लागि २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल वि.सं. २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा इलाम–१ बाट निर्वाचित हुनुभएको थियो । योपटक पनि खनाल त्यही क्षेत्रबाट प्रतिस्पर्धामा हुनुहुन्छ । खनालका मुख्य प्रतिस्पर्धी काँग्रेसका भूपेन्द्र कट्टेल हुनुुहुन्छ । लगातार दुईपटक सोही क्षेत्रबाट निर्वाचित खनाल ह्याट्रिकको दौडमा हुनुहुन्छ भने कट्टेल पहिलो जितको दौडमा हुनुहुन्छ । यसअघिको मतपरिणाम र स्थानीय तहको नतिजा भने खनालको पक्षमा छ । प्रतिनिधिसभामा त्यस क्षेत्रबाट आठ जना प्रतिस्पर्धी हुनुहुन्छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०६४ को संविधानसभा सदस्य निर्वाचनमा झापा–७ बाट तत्कालीन एमाओवादीका युवानेता विश्वदीप लिङ्देनसँग पराजय बेहोर्नुभएको थियो । २०७० को निर्वाचनमा भने ओली विजयी हुनुभयो ।
तुलनात्मक रूपमा ओली सुरक्षित निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा हुनुहुन्छ । ओलीका मुख्य प्रतिस्पर्धीमा काँग्रेसका डा. खगेन्द्र अधिकारी हुनुहुन्छ । शिक्षण पेसामा संलग्न अधिकारी उम्मेदवार बन्न त्रिभुवन विश्वविद्यालयको जागिर छाडेर झापा पुग्नुभएको हो । झापा–५ बाट प्रतिनिधिसभामा ओलीसहित १४ प्रतिस्पर्धी हुनुहुन्छ।

जन्मथलो चितवनमा पहिलोपटक उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसामु कडा चुनौती छ । काँग्रेसको बलियो क्षेत्र मानिएको चितवन–३ मा काँग्रेसकै समर्थनमा उम्मेदवार बन्नुभएका राप्रपा (प्रजातान्त्रिक)का विक्रम पाण्डे प्रचण्डका लागि चुनौती हुनुहुन्छ।

सशस्त्र सङ्घर्षपछिको पहिलो संविधानसभा सदस्य निर्वाचनमा प्रचण्ड रोल्पा–१ र काठमाडौँ–१० बाट निर्वाचित हुनुभएको थियो । दोस्रो संविधानसभामा रोल्पा छोड्नुभएका प्रचण्डलाई काठमाडौँका मतदाताले अस्वीकार गरे पनि सिरहा–५ का मतदाताले जनप्रतिनिधि चुने । योपटक प्रचण्ड पुरानो निर्वाचित क्षेत्र सिरहा पनि छोडेर जन्मथलो चितवन पुग्नुभएको छ । एमालेको सहयोगमा उम्मेदवार बन्नुभएका प्रचण्डलाई लोकतान्त्रिक गठबन्धनको चुनौती कमजोर नहुँदा ‘डेन्जर जोन’का रूपमा हेरिएको छ।

शान्तिपूर्ण राजनीतिमा रूपान्तरण भएपछि पहिलोपटक गोरखा–२ का मतदाताले डा. बाबुराम भट्टराईलाई दुई तिहाइ मत दिएका थिए । गोर्खाली जनताको मतमा भट्टराई अर्थमन्त्री हुँदै प्रधानमन्त्री बन्नुभयो । दोस्रो संविधानसभा निर्वाचनमा उहाँले दुई क्षेत्र रोज्नुभयो । रूपन्देही–४ का मतदाताले पराजित गर्दा उहाँ गोरखाबाट पुनः बहुमत मतका साथ विजयी हुनुभयो।

संविधान जारीपछि भट्टराईले राजनीतिक दिशा परिवर्तन गर्दैै संसद्बाट पनि बाहिर आएपछि नयाँ दल गठन गर्नुभयो। अहिले उहाँ नयाँ शक्ति पार्टीका नामबाट पुनः गोर्खाली जनताको घरदैलोमा हुनुहुन्छ । भट्टराईको प्रतिस्पर्धीमा उहाँकै मूल पार्टीका नेता नारायणकाजी श्रेष्ठ हुनुहुन्छ।

भट्टराईका लागि श्रेष्ठ कडा चुनौती हुनुहुन्छ । एमालेको सहयोगमा उम्मेदवार बन्नुभएका श्रेष्ठ पछिल्लो अङ्क गणितमा केही अघि हुनुहुन्छ । भट्टराईलाई काँग्रेसको बलियो साथ छ । पहिलो चरणमा निर्वाचन हुने ३७ क्षेत्रमध्ये अत्यन्तै रोचक निर्वाचन क्षेत्रका रूपमा गोरखा–२ लाई हेरिएको खबर गोरखापत्रमा छ।





Comments

comments

Leave a Reply

20567