बेलायतबासी नेपालीको सहयोगमा धम्पुसमा विद्यालय भवन निर्माण

धन बस्नेत / एचकेनेपाल डट कम-

पोखरा, भूकम्पले जीर्ण थियो भवन । वर्षामा टिनबाट कक्षाकोठामै पानी चुहिन्थ्यो । तर अब विद्यालय भवनको मुहार फेरिएको छ । विद्यार्थी भूकम्प प्रतिरोधात्मक भवनभित्र बसेर पढेका छन् । शिक्षकलाई पनि आकास हेरेर पठन पाठन गराउनुपर्ने बाध्यता दीर्घरुपमा हटेको छ।

व्यक्तिविशेषले निर्माण गरेको भवन बनाउन विदेशी र स्थानीयबासिन्दाले सहयोग जुटाए । २०१६ सालमा स्थापित माछापुच्छ्रे गाउँपालिकास्थित धम्पुसमा रहेको उदय मावि नयाँ स्वरुप पाउन युकेको पाहार ट्रष्टले दातृ निकायको भूमिका निर्वाह गर्यो । जुन भवनलाई शनिबार मात्रै ट्रष्ट युकेका अध्यक्ष जे हवाई ग्रेनीले विद्यालय व्यवस्थापन समितिलाई उदघाटनसँगै हस्तान्तरण गरेका हुन्।

ग्रेनीले विद्यालय भवन हस्तान्तरण गर्दै भने–“ बालबालिकाको गुणस्तरीय शिक्षा प्रदान गर्नेछ भन्ने मैले आशा गरेको छु ।” पठन पाठनको लागि भौतिक पुर्वाधार पहिलो सर्त भएको भन्दै उनले भौतिक पुर्वाधार अनुसार नै अब शिक्षामा गुणस्तरीयता ल्याउनुपर्नेमा जोड दिए।

उदय गुरुङले स्थापना गरेको विद्यालयलाई उनकै छोरा कमल गुरुङको पहलमा नयाँ आकार पाएको थियो । युकेमा रहेका कमल गुरुङले पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङसँगको सम्पर्कमा दातृ सहयोग जुटेको थियो।

पाहार ट्रष्ट युकेले धम्पुसको विद्यालय बनाउन ६४ लाख ३९ हजार ५५४ रुपैयाँ सहयोग दियो । स्थानीयले पनि १८ लाख १९ हजा ३८२ रुपैयाँ आर्थिक सहयोग जुटाए । संकलित ८२ लाख ५८ हजार ९३६ रुपैयाँ सहयोगबाट उदय माविको १० कोठे भवन निर्माण गरिएको विद्यालयको प्रधानाध्यापक धनबहादुर क्षत्रीले आयव्यय सार्वजनिक गर्दै सुनाए।

स्थानीय भक्तबहादुर गुरुङले पनि आफनो बावुआमाको स्मृतिमा ८ लाख सहयोग गर्दै कक्षकोठामा नाम लेखाए। “विद्यार्थी अब जीर्ण भवनमा हुदाँ जस्तो त्रासमा पढ्नुपर्ने बाध्यता अब छैन् ।” प्रअ क्षत्रीको भनाई थियो । उनले थपे –“भवनभित्र जिप्सन लगाइएको छ । गर्मीको तातो नहोस र जाडोमा चिसो नहोस भन्न उद्देश्यले जिप्सन राखिएको हो ।” पहिलो तला ढलान र दोस्रो तला भने ट्रस हालिएको छ । हस्तान्तरण समारोहमा विद्यालय निर्माणमा सहयोग भूमिका निर्वाह गरेका एनआरएन युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, मनकाजी गुरुङ लगायतलाई सम्मानित गरिएको थियो।

विद्यालयमा अहिले १५० विद्यार्थी अध्ययनरत छन् । एलकेजी, युकेजी हुदैं १० कक्षासम्म पठन पाठन हुदैं आएको छ । “हाम्रो लक्ष्य अब दशजोड दुई अध्ययन गराउने हो ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम भण्डारीले भने–“हिजो भौतिक पुर्वाधार थिएन । तर अब पुर्वाधारयुक्त भएका छौं । अब विस्तारै उच्च शिक्षाको कक्षा सञ्चालन गर्ने छौं।”

बसाई सराईले विद्यार्थीको संख्या कम छ । यद्यपी विद्यालयले विद्यार्थीलाई बोर्डिङ जानबाट रोक्नुपर्ने चुनौति छ । अधिकांश विद्यार्थी बोर्डिङ जादाँ विद्यालयमै अंगे्रजी माध्यामबाट समेत पढाई शुरु गरिएको अध्यक्ष भण्डारीको भनाई थियो । विद्यालयमा निजी र दरबन्दी गरी १७ शिक्षक शिक्षिकाले अध्यापन गराउँदै आएका छन्।

तस्बिरः सुदर्शन रञ्जित





Comments

comments

Leave a Reply

20660