पक्राउ परेका भारतीय ‘सुटर’ पूर्वप्रहरी र सरपञ्च

गोली चलाएको आरोपमा तीन साताअघि कमलादीमा पक्राउ परेका दुई भारतीय नागरिक पूर्वप्रहरी र पूर्वसरपञ्च भएको खुलेको छ । गत १५ कात्तिकमा पक्राउ परेका जसवन्त सिंह पूर्वप्रहरी तथा पूर्वसरपञ्च भएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उनले आफू प्रहरीको जागिर छाडेर राजनीतिमा लागेको बताएका छन् । उनी पञ्जाबको लुधियाना जिल्लामा सरपञ्चमा विजयी भएको तथ्य खुलेको हो । सिंहको कार्यकाल गत वर्ष मात्र सकिएको थियो । सरपञ्च नेपालमा गाउँपालिका प्रमुखजस्तै पद हो । उनी भाजपाबाट चुनाव लडेका थिए।

पक्राउ परेका अर्का भारतीय नागरिक हरदेवेन्द्र सिंह भारतको केन्द्रीय विद्युत् प्राधिकरणका सहायकस्तरका कर्मचारी हुन् । दुवैजनालाई ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौैंका डिएसपी बेलबहादुर पाण्डेले बताए ।

नेपाल आउनुको कारण खुलेन
पक्राउ परेलगत्तै प्रहरीले उनीहरू ‘हाई प्रोफाइल मर्डर’को उद्देश्यले काठमाडौं आएको अनुमान गरेको थियो । तर, तीन साता लामो अनुसन्धानमा उनीहरू हतियारसहित आउनुको कुनै उद्देश्य खुलेको छैन । आफूहरू घुम्नकै लागि नेपाल आएको उनीहरूले बताएका छन् ।

तर्साउन गोली
कमलादीको हेरिटेज प्लाजामा रहेको ‘ज्याक डेनियसल्स रेस्ट्रो वुथ डान्सबार’ मा बिलको विषयलाई लिएर गोली चलाउँदा उनीहरू गत १५ कात्तिकमा पक्राउ परेका थिए । ठमेलको एक होटेलमा बसेका उनीहरू युवती खोज्दै सो डान्सबार पुगेका थिए । डान्सबारमा २२ हजारको बिल उठेपछि उनीहरूले कर्मचारीसँग झगडा गरेका थिए । आफूहरूमाथि कुटपिट हुन लागेपछि तर्साउन गोली चलाउनुपरेको उनीहरूले बयान दिएका छन्। नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

20709