दुई ठूला नेता भट्टराई र श्रेष्ठको गोरखा-२ मा के हुदैछ?

पूर्वप्रधानमन्त्री र पूर्वउपप्रधानमन्त्री चुनाव लडेर चर्चित बनेको गोरखा-२ को चुनावी गतिविधि सकारात्मक सन्देश दिने खालको बन्न नसकेको गुनासो गरिएको छ।

यो क्षेत्रमा पूर्वसहयोद्धा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्।

राष्ट्रिय स्तरका दुई ठूला नेताले प्रतिस्पर्धा गरेकाले अरू जिल्लाका लागि र दोस्रो चरणको चुनावका लागि समेत प्रेरणादायी बन्ने आशा गरिए पनि त्यस्तो हुन नसकेको स्वतन्त्र टिप्पणीकर्ताको विश्लेषण छ।

‘दुवै प्रतिष्ठित व्यक्तित्व हुन्। त्यसमा पनि दुवै सादगी खालका नेता थिए। भड्किलो प्रचारशैली हुन्न होला भन्ने पूर्वअनुमान थियो’, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष स्थानेश्वर दुवाडी भन्छन्, ‘तर एक महिनाको प्रचारशैली निकै भड्किलो देखियो।’

प्रतिस्पर्धा स्वस्थ नभएको उनको विश्लेषण छ। ‘एकअर्काबीच आरोप/प्रत्यारोप बढी नै भयो। एउटाले अर्काको सकेसम्मको कटाक्ष गरेको देखियो’, उनले भने, ‘प्रचार टोलीका कार्यकर्ता नियन्त्रणमा देखिएन। कुटपिटका घटना पनि भए।’

कडा प्रतिस्पर्धा र दुवैका लागि जित्नै पर्ने अवस्था रहेकाले शक्ति प्रदर्शनको क्रममा जघन्य घटना हुन सक्ने पूर्वअनुमान पनि गरिएको थियो। तर, त्यस्तो अप्रिय घटना भने नभएको केही विश्लेषक बताउँछन्। अन्नपूर्ण पोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

20758