पोखराका अस्पतालको नाममा उठाएको पैसामा दलालहरुको हालीमुहाली

पोखरा । सामाजिक सेवाको भावले स्थापना भएका संस्थाहरुको नाममा रकम उठाएर कुम्ल्याएका घटनाहरु दिन प्रतिदिन बढिरहेकै छन्।

कतै महायज्ञको नाममा पैसा उठाउने त कतै विदेशी संघ संस्थाबाट रकम ल्याएर ब्याजमा लगाउने गरेका समाचारहरु पनि आइरहेका छन् । नेपालमा अहिले महायज्ञ पैसा उठाउने परम्परा जस्तै बनेको छ।

प्राविधिक शिक्षा, वृद्धाश्रम, क्याम्पस तथा अस्पताल बनाउने भन्दै महायज्ञ लगाउने तर उठेको पैसा लक्षित ठाउँमा खर्च नगरी आयोजक मध्यका केहि हर्ताकर्ताको नियन्त्रणमा राख्ने गरिएको घटनाहरु छरपस्ट हुँदै आएका पनि छन् ।

कतिपय महायज्ञका आयोजकहरुले उठेको दानलाई दाताहरुलाई जानकारी समेत नगराई मनोमानी ढंगले विभिन्न व्यक्तिहरुको साझेदारी संस्था झै गरि खाता खोलेर व्याज लगाउने गरेको प्रकरणहरु पनि सतहमा आइरहेका छन्।

तर, अझै सम्म पनि प्रशासनको आँखा भने यतातिर जान सकेको छैन । यसको पछिल्लो उदाहरण बनेको छ, पोखराको बाटुलेचौरमा लगाइएको महायज्ञ।

मध्य पोखरा १६ स्थित वाटुलेचौरमा २०६६ सालमा लगाइएको महायज्ञको आम्दानीमा पनि आयोजक मध्यका केही व्यक्तिहरुको व्यक्तिगत खातामा रकम राखेर लक्षित कार्यमा उपयोग नगरेको बुझिएको छ।

बाटुलेचौर स्वास्थ्य चौकी भएको ठाउँमा व्यवस्थित अस्पताल निर्माण गरी गुणस्तरीय स्वास्थ्य सेवा दिने महान उद्देश्य राखेर महायज्ञ लगाइएको थियो । अस्पताल सञ्चालन गर्ने पवित्र उद्देश्य राखेकै कारण दाताहरुले पनि मन फुकाएरै सहयोग गरेका थिए ।

महायज्ञ लगाएको ९ वर्ष भइसक्यो तर, त्यसको उद्देश्य र लक्ष प्राप्तिमा अझै कठिनाई देखिएको छ।

पैसा नभएर त्यस्तो कठिनाई देखिएको भने पक्कै हैन । भएको पैसाको उपयोग गर्न दाताहरुले मन फुकाएर दान गरेपनि आयोजक मध्येका केहि हर्ताकर्ता भनिने व्यक्तिहरुले आफू अनुकूल खर्च गर्न नपाउने अवस्था आउने भएपछि अस्पताल निर्माण र सञ्चालनको लागि उठेको दान साझेदारी व्यवसायको सम्पत्ति झै गरि राज्यको निकायमा दर्ता नगरिएको मातृशिशु मितेरी अस्पताल नागरिक सहयोग समूहको नाममा प्रभु बैंक र गण्डकी विकास बैंकमा जम्मा गरिएको बुझिन आएको छ।

मातृशिशु मितेरी अस्पतालको नाम जोडेर सहयोग समिति बनाइएपनि स्थानिय निकायमा त्यो संस्था दर्ता गरिएको छैन । एक करोड भन्दा बढी रकम जम्मा गर्न वैंकमा खाता खोल्न पनि उल्लेखत संस्था राज्यको निकायमा दर्ता हुनु पर्ने कानूनी प्रावधान रहेको खबर यूनाइटेड पोष्ट साप्ताहिकले लेखेको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख अधिकारी गुरुदत्त ढकाल संस्था दर्ता ऐन २०३४ वमोजिम विधिवत दर्ता गरेर मात्र आर्थिक कारोवार र खाता सञ्चालन गर्न मिल्ने बताउँछन् ।





Comments

comments

Leave a Reply

20799