आहा ! रारा गोल्ड कपको लागि हङकङबाट १५ लाख सहयोग


तस्वीरः सुदर्शन रञ्जित

दीननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा १७, मंसिर। मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करण २०७४ आउदो माघ ९ गते देखि पोखरा रंगशालामा संचालन हुने भएको छ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा पोखरा रंङ्गशालाको खेल मैदानमा माघ ९ गतेदेखि २० गतेसम्म संचालन हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

पोखरा रंगशालाको फुटवल मैदान अन्तर्राष्ट्रिय स्तरको निमार्णको लागि हाल टेण्डर आव्हान भए पनि केहि प्रकृयाका कामहरु गरी निर्माण सुरु गर्न अझै केहि दिन लाग्ने भएकोले गर्दा यस बर्षको आहा रारा गोल्ड कप पोखरा रंगशालामै गर्ने गरी आयोजक सहारा क्लवले तयारी सुरु गरेको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए।

सहारा क्लवद्धारा संचालित तेश्रो व्याचको एकेडेमीमा हाल १६ जिल्लाका २८ जना वालकहरु रहेकाछन् । उनीहरुको निःशुल्क स्वास्थ्य, शिक्षा, फुटवल प्रशिक्षण लगायतको सुविधाको मुख्य आयश्रोत नै आहा रारा गोल्ड कपबाट बचत हुन आउने रकम भएकोले गर्दा उक्त प्रतियोगिता क्लवको लागि अनिवार्य रहेको अध्यक्ष थापाले बताए।

फुटवल मैदानको पूर्व र पश्चिम पट्टिको प्याराफिट भत्काउने रकम समेत विनियोजन भएकोले गर्दा यदि प्याराफिट भत्काएको अबस्थामा पनि कृतिम प्याराफिट निमार्ण गरेरै यस बर्ष पोखरा रंगशालामै उक्त प्रतियोगिता हुने भएको अध्यक्ष थापाले बताए।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष याम बहादुर गुरुङले आफूहरुले आहा रारा गोल्ड कपसम्मलाई सकेसम्म प्याराफिट नभत्काउने गरी फुटवल मैदान निमार्णको प्रकृया अघि बढाउने बताए । उनले भने “ यस बर्षको आहा रारा गोल्ड कप पोखरा रंगशालाको हालको मैदानमा हुन्छ, यसमा ९० प्रतिशत म विश्वस्त छु, तर हाम्रो देश नेपाल हो, यहाँ जे पनि हुन सक्छ । ” उक्त प्रतियोगिताबाट एक करोड २१ लाख ८२ हजार आम्दानी गरी ९० लाख ५ हजार ५ सय खर्च गरी बचत भएको रकम सहारा एकेडेमीको भरणपोषणमा खर्चिने भएको क्लवका महासचिव विश्वराज वरालले बताए।

उक्त प्रतियोगिताका मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले आफुहरुले राम्रो हिसावले विवेक प्रयोग गरी यस बर्षको पुरस्कार राषिमा बृद्धि हुने गरी क्लवलाई थप सहयोग गर्ने बताए । उनले हाल नेपाली बजारमा १० वटा चाउचाउको प्रतिष्प्रर्धा भए पनि आफुहरुले धेरै नेपालीलाई रोजगार दिदै रारा चयारी चाउचाउ १५÷१६ मा विक्रि गर्दै आएको बताए । उक्त खेल संचालनको लागि अखिल नेपाल फुटबल संघले समय तालिका उपलब्ध गराएको क्लवका महासचिव विश्वराज वरालले बताए । प्रतियोगितामा विदेशी, विभागिय टिम सहित ए डिभिजनका क्लबहरु, पुर्व र पश्चिम क्षेत्रबाट १÷१ टिम र आयोजक सहारा क्लब पोखरा गरी १२ टिमको सहभागिता हुने क्लवले जनाएको छ । “खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ सहारा क्लबले संचालन गर्दै आएको उक्त प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमीमा रहेका वालकहरुको भरण पोषणमा खर्चिदै आएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । प्रतियोगिताको उद्देश्य पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउँदै नवप्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रर्दशन गर्ने उचित अवसर उपलब्ध गराउँनु रहेको क्लवले जनाएको छ । क्लवका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष हरीराम गुरुङले स्वागत मन्तव्य राखेका थिए।

यसै बिच हङकङ सहारा साँझाबाट यस बर्ष सहारा क्लवलाई १५ लाख रुपैया सहयोग प्राप्त भएको छ । हङकङ सहाराका महासचिव विल तामाङले उक्त रकम बराबरको चेक सहारा क्लवका अध्यक्ष केशव बहादुर थापालाई आईतबार क्लवमै हस्तान्तरण गरेका हुन । १० लाख रुपैया सहारा एकेडेमीको अक्षयकोषमा र ५ लाख क्लवलालाई सहयोग हुने गरी आफुहरुले सहयोग गरेको महासचिव तामाङले बताए । उनका अनुसार यस बर्ष क्लवले भूकम्पबाट प्रभावित भएको सिन्दुपालचोकको हाईपुङ माविको भवन निमार्णको लागि ५ लाख रुपैया आर्थिक सहयोग गरि सकेको छ । हङकङमा हुने सहारा साँझबाट विगतका बर्ष देखि क्लवलाई यसरी नै आर्थिक सहयोग जुट्दै आएको क्लवका निवर्तमान अध्यक्ष विरभद्र आचार्यले बताए । त्यसै गरी यस बर्ष सहारा खेलकुद पत्रकारिता पुरस्कार प्राप्त गरेका सुरज श्रेष्ठले प्राप्त पुरस्कार राशिमा थप गरी २० हजार रुपैया क्लवलाई हस्तान्तरण गरे । सहारा पत्रकारिता पुरस्कारको राशि १५ हजार ५ सय ५५ रहेको थियो।





Comments

comments

Leave a Reply

20860