बेलायतमा यसरी मनाईयो साकेला उधौली

भूमिराज राई / एचकेनेपाल डट कम –

युकेमा रहेका राईहरुले साकेला उधौलीको अवसरमा सामूहिक रुपमा आफ्नै किराँत भूमि गेम्बल लेनमा अवस्थित साकेला थानमा साकेला पूजा सम्पन्न गरे। किरात राई यायोक्खा युके केन्द्रिय कार्यसमितिको आयोजनामा आयोजिता शाकेला पूजा उपाध्यक्ष चन्द्र राईको अगुवाईमा नक्छुङ किताबसेर राईले शाकेला पूजा गर्नु भएको थियो।

औपचारिक कार्यक्रमको सुरुवात गर्दै उपाध्यक्ष दिवाकर राईले ब्यक्तिगत ब्यस्तताका कारण अध्यक्ष अनुपस्थित हुनु भएको जानकारी दिनु हुँदै कार्यक्रमको अध्यक्षताका लागि उपाध्यक्ष चन्द्र राईलाई कार्यक्रमको अध्यक्षता गरिदिन अनुरोध गर्नु भएको थियो।

मन्तब्यका क्रममा मुन्धुम अध्धेयता कमलजंग राईले शाकेला पूजाका बारेका प्रकाश पार्नु हुँदै शाकेलाको उत्पति अदभूत तरिकाले माङ सपनामा आफू कहाँ रहेको भन्ने दिएपछि सपना देख्ने नक्छुङ सहित सर्बसाधारण किराँतहरुको समूह त्यो सपनामा देखिएको स्थानमा जाने र बिधि पुर्याएर मुन्धुमले गलाएर शाकेला लुङ शाकेला ढुङालाई पूजा गरेर बिधिपूर्बक स्थापना गरिने कुरा जानकारी दिनु भयो।

शाकेला लुङ पानी मुनी, माटो मुनी वा जमिनमा नै पनि रहन सक्ने भए पनि माङ सपनामा आफू रहेको जानकारी दिने कुरा पनि मुन्धुम अध्धेयता कमल जंग राईले जानकारी दिनु भयो। सपनामा देखिएको शाकेला लुङलाई सजिलो ठाँउ भए जहाँ भेटिएको छ त्यहिं पूजा गर्न सकिने भए पनि भिर अप्ठ्यारो वा खोला नाला जस्तो ठाँउमा रहेको भए मुन्धुमका माध्यमले फकाएर सजिलो ठाउँमा शाकेला लुङलाई लगेर पदास्थापना गरेर पूजा गर्ने चलन रहेको छ।

शाकेला उभौलीका बेला किराँतीहरुले तीनचुलाको अनुमति लिएर स्वास्थ जरा भएको बेर्ना बिउ तीन चुलाको अनुमतिमा शाकेला लुङसँग माग्ने गर्दछन्, स्वास्थ जरा भएको बिउ मज्जाले मलजल गरेर खनजोत गरेको बारीमा रोप्दा सप्रिने र सप्रिएको बेर्नाले फल र उब्जाउ पनि राम्रो हुने भएकाले प्रकृति पूजक किराँतहरुले धेरै अन्न बाली माग्नुको सट्टा स्वास्थ जरा भएको बेर्ना माग्ने गरेका हुन । यसको अर्थ किराँतहरु आँफै परिश्रमी हुन भन्ने पनि हो र त्यो ब्यबहारिक पनि रहेको तर्क थियो मुन्धुम अध्धेयता कमल जंग राईको।

साकेला उधौली बालीनाली पाकेर उठाउने बेलामा मंसिर पूर्णिमाका दिन राम्रो उब्जाउ भएको खुशियाली र जंगली जनावर किरा फट्याङ्राहरुदेखि जोगाई दिएर आफूहरुलाई उठाउन दिएकोमा धन्य भएको साथै उब्जाउ भएको अन्नबालिको सह रहिरहोस, अर्को सालको लागि बिउको पनि सह रहोस र उब्जनीको लागि जोगियोस भन्ने आशिर्बाद प्राप्तिका लागि शाकेला लुङको पूजा गर्ने गरिएको हो। शाकेला उभौली र उधौली दुबैमा साकेला शिली ढोल झ्याम्टासहित मज्जाले नाच्न सकिने भए पनि चिसो मौसम र अन्न बाली उठाउने चटारोका कारण हो वा किन हो शाकेला उधौलीमा नाचेको उति नदेखिनु अस्वाभाबिक भएको भन्दै कमला जंग राईले भबिष्यमा त्यो पनि चलन शुरु हुने आशा ब्यक्त गर्नु भयो।

उपाध्यक्ष चन्द्र राईले नक्छुङ किताबसेर राईको शिर उभ्याउँदै साकेला पूजाका माध्यमबाट पित्रीहरुलाई सम्मान गर्दै सबै युकेबासीलगायत सम्पूर्ण किराँतहरुको सुब्बेफाब्बेको लागि आशिर्बाद मागिदिन र सबै किराँत राईहरुको एकता मेलमिलाप र भाईचारा प्रगाढ बनोस भनेर बल मागिदिन र गेम्बल लेनको सुब्बेफाब्बे होस भनेर बल मागिदिन आग्रह गर्दै शिर उभाउनीसँग फेटा बाँधिदिनु भएको थियो।उपाध्यक्ष दिवाकर राईले यो बर्षदेखि औपचारिक रुपमा शाकेला पूजा साकेला तिथीकै दिन पूजा गर्ने चलन बसाउने अभिप्रायका साथ सुरुवात भएको जानकारी दिनु हुँदै पुर्खाहरु र शाकेला लुङको पूजा आजा नभएकैले किराँतहरुमा मेलमिलाप जस्ता कुराहरुमा असर परिरहेको भन्ने माङ सपना नक्छुङहरुले देखेको कारण औपचारिक रुपमा सबैको भलाईको लागि नियमित रुपमा शाकेला पुज्ने कुरा केन्द्रिय समितिद्वारा पारित गरेरै पूजा गर्ने चलन थालिने जानकारी दिनु भयो।कार्यक्रममा कार्यसमितिका अधिकांश पदाधिकारीहरु सल्लाहकारहरु र अन्य किराँत राईहरुको उपस्थिति रहेको थियो।पूजा सकिएपछि साकेला शिलीसहित कार्यक्रम समापन भएको थियो।





Comments

comments

Leave a Reply

20874