वामपन्थीलाई गठबन्धन फाप्यो

तालमेल त ६ महिनाअघि स्थानीय चुनावमा पनि भएको थियो तर संघ÷प्रदेशको चुनावमा एमाले-माओवादी मोर्चा जनमत खिच्न पूरापूर प्रभावी बनेको छ।

शुक्रबार रातिसम्म वाम गठबन्धनले प्रतिनिधिसभामा ८ सिट जित र ८९ सिटमा अग्रता हासिल गरेको छ। त्यस्तै, प्रदेशसभामा २१ सिट जित र १०८ सिटमा अग्रता छ। त्यसको तुलनामा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन रक्षात्मक देखिएको छ। लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले शुक्रबार रातिसम्म संघमा कुनै सिट हात पारेका छैनन्, १७ सिटमा अग्रता तथा प्रदेशसभामा तीन सिट जित र २४ सिटमा अग्रता हासिल गरेका छन्।

कांग्रेसले हात लिएका राप्रपा प्रजातान्त्रिकलगायत पार्टी कुनै क्षेत्रमा पनि जितको बाटोमा अग्रसर छैनन्। यही अवस्था गणनाको अन्त्यसम्म कायम रहे वाम गठबन्धनले संघ र प्रदेश दुवैमा सुविधाजनक बहुमत पाउनेछ।
संविधानमा यस्तो निर्वाचन प्रणाली व्यवस्था गरियो, जसमा कोही एक्लै बहुमत ल्याउनै नसक्ने, ठूला पार्टीलाई सत्तामा जानु छ भने गठबन्धन गर्नैपर्ने। साना पार्टीका लागि थ्रेसहोल्डको मारबाट जोगिन भए पनि गठबन्धनमा मिसिनै पर्ने। तैपनि, यो चुनावमा फरक दृश्यावली किन त ? प्राध्यापक पीताम्बर शर्माको भनाइमा पहिलेका गठबन्धनभन्दा यो आधारभूत रूपमै भिन्न थियो। ‘स्थानीय चुनावको कांग्रेस-माओवादी गठबन्धन सुविधाको सहकार्य थियो, प्रचण्डले छोरी जिताउन बनाएको गठबन्धन,’ शर्माले भने, ‘यसपल्ट वैचारिक जगमा उभिएर गठबन्धन बन्यो, जसले जनमुखी नारामार्फत मतदातालाई आकर्षित गर्‍यो।’

शर्माले भनेजस्तै स्थानीय चुनावमा कांग्रेस-माओवादी गठबन्धन बने पनि एमाले पहिलो ठूलो दल बन्न सक्यो। यसपल्ट भने असोज १७ गते दुई ठूला वाम घटकले पार्टी एकताको लक्ष्य राखेर चुनावी गठबन्धन घोषणा गरेका थिए। पहिलो चरणको मतगणनाले देखाइसक्यो, माओवादी केन्द्रका उच्च तहका नेतालाई एमालेसँग गठबन्धन खुबै फाप्यो। शीर्षस्थ तहका प्रायः सबै नेता चुनाव जितिरहेका छन्, अनि अध्यक्ष पुष्पकमल दाहाल छाड्ने हो भने बाँकीलाई सुविधाजनक अग्रता मिलिरहेको छ।

उता, लोकतान्त्रिक गठबन्धनअन्तर्गत कांग्रेस, राप्रपा प्रजातान्त्रिकलगायत दललाई भने जनमत खिच्न सहज देखिएको छैन। राजनीतिशास्त्री भास्कर गौतमको भनाइमा वामपन्थीहरूले फरक किसिमको तालमेल गरेर फरक किसिमकै नतिजा निकाले, जुन सहजता कांग्रेसलाई उपलब्ध भएन। ‘वामपन्थीले आइडियोलोजी, राजनीतिक स्थिरता र एकताको साझा नारा दिएर जनतालाई प्रभावित गरे, यो नारा चुनावमा पूरै सफल देखियो,’ गौतमले भने, ‘उनीहरूको उम्मेदवार चयनमा यसअघि देखिने गरेका विवाद यो चुनावमा कतै देखिएन। त्यसैले तालमेलको प्रभाव मतदातामा कति परेको छ भनी स्थापित गर्न सक्यो।’ अन्नपूर्ण पोस्टमा खबर छ।





Comments

comments

Leave a Reply

20968