अमेरिकामा स्व. कविताराम श्रेष्ठको सम्झनामा श्रद्धाञ्जलि सभा

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा स्व. कविताराम श्रेष्ठको सम्झनामा श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ।

नेपाली साहित्यका वरिष्ठ साधक स्व. कविताराम श्रेष्ठको निधनमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले एक श्रद्धाञ्जलि सभाको आयोजना गरेको हो। दिवङ्गत श्रेष्ठको तस्वीरमा पुष्पार्पण गरेपछि एक मिनेट मौन धारण गरिएको थियो।

श्रद्धाञ्जलि सभामा बोल्दै मेरिल्याण्ड तथा पेन्सिलभेनियाका लागि अवैतनिक महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेमराजा महतले स्व. कवितारामसंग अमेरिका भ्रमणको क्रममा पछिल्लो पटक भएको भेटघाटको स्मरण गरेका थिए।

वरिष्ठ साहित्यकार हरि अधिकारीले अस्वीकृत जमातको स्थापना कालमा सँगै साहित्यमा गरेका कामहरुको सम्झना गरे भने वल्र्ड नेवा अर्गनाइजेसन्सका अध्यक्ष सिजन श्रेष्ठले गत वर्ष वाल्टिमोरमा सम्पन्न वल्र्ड नेवा अर्गनाइजेसनको सम्मेलनमा स्व. कवितारामले प्रस्तुत गरेका प्रस्तुतिको सम्झना गर्दै श्रेष्ठको योगदानको कदरस्वरुप सल्लाहकारको रुपमा राखिएको बताए।

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, एएनएसका अध्यक्ष प्रभा देउजा, एनओएका अध्यक्ष वविता प्रधान श्रेष्ठ , एनपिपिएका वरिष्ठ उपाध्यक्ष मनोहर श्रेष्ठ, कवयत्रि विमला निरौला लगायतले श्रद्धासुमन व्यक्त गरे।

अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार गोविन्द गिरी प्रेरणाले अध्यक्षताको आसनवाट वोल्दै कविताराम श्रेष्ठसँगका सम्झनाहरु प्रस्तुत गरेका थिए।

दोवा ढकालले कार्यक्रम सञ्चालनका साथै श्रेष्ठको योगदानबारे चर्चा गरे। कार्यक्रममा साहित्यकार, साहित्य प्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत स्व. श्रेष्ठका भाई वेनु श्रेष्ठको पनि उपस्थिति रहेको थियो।

वि.सं.२००४ सालमा ओखलढुँगामा जन्मेका रामवहादुर श्रेष्ठ नेपाली साहित्यमा कवितारामको नामले ख्याति आर्जन गरेका थिए। क्यान्सरको रोगबाट पीडित श्रेष्ठको गत नोभेम्वर लण्डनस्थित अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। ३० भन्दा वढी कृतिहरु प्रकाशित श्रेष्ठका केही कृतिहरु अँग्रेजीमा समेत अनुवादित र प्रकाशित छन्।





Comments

comments

Leave a Reply

21053