एउटै विद्यालयका तीन पूर्वविद्यार्थी एकैपल्ट सांसद

भेरी नगरपालिका १ कालेगाउँका शक्तिबहादुर बस्नेत त्रिभुवन मावि खलंगाका पूर्वविद्यार्थी हुन्। बस्नेतले त्यहाँबाट २०४३ का एसएलसी गरेका थिए। उनले सोही विद्यालयमा ७ वर्षसम्म अध्ययन गरे।

त्रिवेणी नलगाड नगरपालिका ५ ऐरारीका गणेशप्रसाद सिंह मावि खलंगाकै पूर्वविद्यार्थी हुन्। मावि खलंगामा ६ वर्षसम्म अध्ययन गरेका सिंह २०४० का एसएलसी उत्तीर्ण हुन्। त्यस्तै शिवालय गाउँपालिका ७ भिउसका करवीर शाही पनि त्रिभुवन मावि खलंगाका पूर्वविद्यार्थी हुन्। २०४२ मा उक्त विद्यालयमा प्रवेश गरेका शाहीले २०४५ मा एसएलसी उत्तीर्ण गरेका थिए।

मावि खलंगाका पूर्वविद्यार्थी बस्नेत, सिंह र शाहीलाई २०७४ को निर्वाचनबाट एकैपटक सांसद बन्ने संयोग नै जुट्यो। कांग्रेसका उम्मेदवारलाई पछि पार्दै वाम गठबन्धनबाट उनीहरू सांसद निर्वाचित भए। पूर्वगृहमन्त्रीसमेत रहेका बस्नेत प्रतिनिधिसभा, सिंह प्रदेशसभा ‘क’ र शाही प्रदेशसभा ‘ख’ बाट सांसद निर्वाचित बनेका हुन्। दोस्रो पटक सांसद बनेका बस्नेत माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन्। सिंह माओवादी केन्द्रकै पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज हुन् भने शाही एमालेका जिल्ला अध्यक्ष हुन्।

जाजरकोटका लागि एउटै विद्यालयका तीन पूर्वविद्यार्थी एकैसाथ सांसद निर्वाचित भएको पहिलो उदाहरण पनि हो। एउटै चुनावबाट ३ जना पूर्वविद्यार्थी सांसद निर्वाचित भएपछि विद्यालय परिवारले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ। विद्यालयले नवनिर्वाचित सांसदहरूको स्वागतमा विभिन्न कार्यक्रमसहित शुक्रबार खुसियाली मनायो। खुसियालीमा विद्यालय परिवारले उनीहरूलाई फूलमाला र अबिरको भारी नै बोकाए। पूर्वविद्यार्थी देशको बागडोर समाल्न पुग्दा विद्यालयको गौरव बढेको प्रधानाध्यापक हेरम्बबहादुर शाहले बताए।

प्रधानाध्यापक शाहले नवनिर्वाचित सांसदहरूलाई जिल्लाको सुशासन, विकास र समृद्धिका लागि निरन्तर अग्रसर हुन सुझाए। जाजरकोटको पछ्यौटेपन अन्त्य र समृद्धिका लागि प्रतिनिधि र प्रदेशसभा सदस्यको अहं भूमिका रहेको उनले बताए। विद्यालयमा अध्ययनका क्रममा देखाएको उत्कृष्ट क्षमतालाई जिल्लाको समृद्धि कसरी गर्ने ? भन्नेमा बदल्ने मौका आएको शाहले बताए। पूर्वगृहमन्त्री एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बस्नेतले जाजरकोटको विकासको अभिभारा बोक्न सक्षम बनाउन मावि खलंगाको महत्त्वपूर्ण योगदान रहेको बताए। जिल्लाको समृद्धिका लागि गुणस्तरीय शिक्षाको विकास र पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बस्नेतले बताए। जाजरकोटको शिक्षा क्षेत्रको जेठो विद्यालय त्रिभुवन मावि खलंगाको चौतर्फी विकासमा अग्रसरता देखाउने उनले बताए। दक्ष जनशक्ति उत्पादनमा मावि खलंगा अब्बल भएको बस्नेतको भनाइ छ।

यसैगरी प्रत्यक्ष निर्वाचनतर्फको मतपरिणाम सार्वजनिक भएको साता बितेको छ। यस अवधिमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई थाप्न भने भ्याइ नभ्याइ छ। नवनिर्वाचित सांसदलाई विद्यालय, क्याम्पस, कर्मचारी संघसंगठन, उद्योग वाणिज्य संघ, नागरिक संगठन, स्थानीय बासिन्दा लगायतले स्वागत र बधाई तथा शुभकामना कार्यक्रममा बोलाउन थालेपछि भ्याइ नभ्याइ भएको हो। उनीहरू स्वागत, बधाई, अबिरजात्रा र विजयसभामै व्यस्त छन्। प्रतिनिधि र प्रदेससभामा निर्वाचित भएलगत्तै वाम गठबन्धनले सदरमुकाम खलंगा, थहबजार र दल्लीमा विजयसभा गरेको छ। ‘जनताले स्वागत गर्न र बधाई दिन बोलाउँदा भ्याउँदिन भन्न मिलेन,’ प्रदेशसभा सदस्य शाहीले भने, ‘भोट हाल्ने जनताले एकपटक आइदिनुपर्‍यो भनेपछि कसरी हुन्न भन्नु ?’ अबको दुई/तीन दिनमै राजधानी सुर्खेत पुगेर जनताका कामकाजमा खट्ने उनले बताए। चुनाव जिते गाउँ नफर्कने र जनताको काममा बेवास्ता गर्ने भन्ने गुनासो आउन नदिने उनले बताए। कान्तिपुरमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

21135