समानुपातिकले उक्सियो कांग्रेस

काठमाडौं : गत १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा नराम्रोसँग पराजय भोगेको कांग्रेसले समानुपातिकमा भने सकारात्मक ‘पोजिसन’ बनाएको छ।

प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १ सय ६८ स्थान जितेको एमालेले समानुपातिकमा ३१ लाख ७३ हजार ४ सय ९५ मत पाएको छ भने प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २३ र प्रदेशसभामा ४१ सिट जितेको कांग्रेसले समानुपातिकमा ३१ लाख तीन हजार ७ सय २१ मत ल्याएको छ। कांग्रेसले एमालेलेभन्दा ४५ हजार १ सय ५ मत मात्रै कम पाएको हो। समानुपातिक मत परिणामअनुसार एमालेले ४१ र कांग्रेसले ४० स्थान प्राप्त गर्नसक्ने देखिएको छ।

एमालेले प्रत्यक्षतर्फ कांग्रेसभन्दा प्रतिनिधिसभामा ५७, प्रदेशसभामा १२७ र समानुपातिकमा एक सिट बढी पाउने भएको छ। पपुलर मतमा कांग्रेस-एमाले हाराहारीकै अवस्थामा रहेको समानुपातिक परिणामले देखाएको छ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको पदप्राप्ति र त्यसलाई जोगाउने कार्यले पार्टी जोगिन नसकेको बताए। ‘कांग्रेसलाई मतदान गर्नेको संख्या बढ्यो, मत बढ्यो र कांग्रेस सकिएको छैन भन्ने सन्देश जनता जनार्दनबाटै प्राप्त भयो’, पौडेलले भने, ‘तर प्रधानमन्त्रीको पदकै लागि मरिहत्ते गर्दा प्रत्यक्षतर्फ पार्टी जोगिएन।’

कांग्रेस किनारा लागेको नभई आन्तरिक व्यवस्थापन र वैचारिकताको कार्यान्वयनका कारण प्रत्यक्षतर्फ असफल भएको उनले बताए। प्रत्यक्षमा भएको पराजयको जिम्मेवारी कसले लिनुपर्छ भन्ने जिज्ञासामा पौडेलले भने, ‘यसको जिम्मेवारी नेतृत्वले लिनुपर्छ, त्यसमा म पनि पर्छु।’ कांग्रेसलाई अबका दिनमा बचाउन कांग्रेसी भन्नेहरूको त्याग र बलिदानीपूर्ण सहभागिता अपरिहार्य रहेकोमा उनले जोड दिए।

एमाले नेता सुवास नेम्बाङले यसअघिका दुई चुनावमा पहिलो स्थानमा रहेको कांग्रेस अहिले समानुपातिक मतमा दोस्रो हुनु नै उसको पराजय भएको धारणा राखे। नेम्बाङले अन्नपूर्णसँग भने, ‘दोस्रो स्थानमा झरेको कांग्रेस सकारात्मक रूपमा अर्को चुनावको तयारीमा लाग्नुपर्‍यो’, उनले भने, ‘राष्ट्रियसभा गठनलगायत बखेडा झिकेर सरकार गठनमा अवरोध सिर्जना गर्नुभएन।’ यो वा त्यो विन्दुमा ताजा जनादेशलाई कसैले रोक्न नहुने धारणा संविधानसभाका अध्यक्षसमेत रहेका नेम्बाङले राखे।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले प्रत्यक्षमा हारेको कांग्रेसले उत्साहजनक रूपमा पपुलर मत पाउनुमा जनताको कांग्रेसप्रतिको प्रेम कारण रहेको बताए। ‘सर्वसाधारणले देख्ने र बुझ्नेगरी अनैतिक, भ्रष्टाचार र पदीय दुरुपयोग गरेकाले कांग्रेसले प्रत्यक्षमा हार बेहोर्नुपर्‍यो,’ उनले भने, ‘तर कांग्रेसप्रतिको प्रेमका कारण जनताले समानुपातिकमा उसलाई मत दिए।’

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनु, भारतमा पुगेर नाकाबन्दी होइन भन्नु र अख्तियारका भ्रष्ट लोकमानको संरक्षण गर्नु उसको पराजयको मूल कारण भएको उनले बताए। ‘सातचोटि प्रधानमन्त्री हुन्छु’ भन्दै जनमतको उपहास गर्ने उट्पट्याङे प्रधानमन्त्रीलाई जनताले राम्रै शिक्षा दिएको धारणा उनले राखे।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नरायणमान बिजुक्छे (रोहित) ले कांग्रेस र एमालेले पाएको मत परिणामलाई असन्तुलित लेनदेनको परिणामका रूपमा लिएको बताए। उनले भने, ‘यी दुवै शक्तिका लागि चुनौती भनेको शत्रु र मित्र नचिन्नु, परिवर्तनका वाहकलाई भन्दा यथास्थिति र परिवर्तनविरोधीको पक्षमा उभिनु नै हो।’ एमाले र माओवादीबीचको सम्भावित पार्टी एकतालाई उनले ‘भाइ कांग्रेस’ को संज्ञा दिए। एमाले-माओवादी मिलनलाई वामपन्थी गठबन्धनका रूपमा लिनै नसकिने उनले बताए।

नेकपा (माले) का महासचिव चन्द्रप्रकाश मैनालीले यस पटकको चुनावी परिणाम अमिल्दो रूपमा आएको धारणा राखे। ‘प्रत्यक्षमा मत नपाउनेले समानुपातिकमा दोब्बर मत ल्याउने। प्रत्यक्षमा दोब्बर मतले जित्नेले समानुपातिकमा मत नै नपाउने भएकाले यसबारेमा विशेषज्ञहरूको विश्लेषण अपरिहार्य छ’, उनले भने।

जनताले समानुपातिकमा सम्मानजनक मत दिएकाले आगामी दिनमा कांग्रेस राष्ट्र र जनताप्रति बढी जिम्मेवार हुनुपर्ने पूर्वउपप्रधानमन्त्री मैनालीको सुझाव छ। संविधानसभाका पूर्वसांसद खिमलाल देवकोटाले प्रत्यक्षमा चुनावी रणनीति नै नरहेको कांग्रेसको जनमत समानुपातिकमा लुज नहुनुलाई सकारात्मक रूपमा बुझ्नुपर्ने बताए। उनले भने, ‘कांग्रेसको केन्द्रदेखि स्थानीय इकाइसम्म नेतृत्व, सैद्धान्तिक र वैचारिकतामा पुनर्संरचना गर्ने कार्य अपरिहार्य छ।’ पार्टीको आन्तरिक व्यवस्थापनका साथै राज्य सञ्चालनको नीतिमा समेत परिवर्तन कांग्रेसका लागि राम्रो हुने धारणा उनले राखे। अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

21164