एमाले-माओवादी एकतामा सन्देहः माओवादीभित्र बढ्यो विवाद

नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने गृहकार्य अगाडि बढिरहेका बेला एमालेसँग पार्टी एकीकरण नगर्न माओवादीका केही नेताले दबाब दिएका छन्।

यद्यपि माओवादी केन्द्रले नयाँ सरकारअघि नै पार्टी एकीकरणको खाका तयार गरेर मात्र सरकार गठन गर्नुपर्ने निर्णय गरेको खबर नेपाल समाचार पत्रले छापेको छ।

तर पार्टीभित्रै एमालेसँग एकता गर्न नहुने भन्दै नेताहरूले असन्तुष्टी जनाउँदै आएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन मार्फत जनताले वाम गठबन्धनलाई मनुमोदन गरेकाले पार्टी एकीकरणमा ढिलाइ गर्न नहुने बताएका छन्।

पार्टी एकताका लागि यसअघिनै दुई पार्टीका शीर्ष नेताबीच एकता संयोजक समितिको गठन भइसकेको छ। तर पार्टी एकताका लागि नेकपा एमालेका केही नेताहरूले दिएको अभिव्यक्तिलाई आधार बनाउँदै माओवादी केन्द्रका नेताहरूले अपमानित भएर पार्टी एकता गर्न नहुने दबाब दिइरहेका छन्।

पार्टी एकीकरणको गृहकार्य अगाडि बढिरहेको बेला माओवादी केन्द्रका नेता विश्वभक्त दाहाल, गोपाल किराती, आहुतीलगायतका नेताले एमालेसँग तत्काल पार्टी एकता गर्न नहुने भन्दै आन्तरिक तयारी थालेका छन्।

चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने माओवादी एमालेबीच ६ बुँदे सहमति भएपछि गोपाल किरातीले पार्टी पुनर्गठन गर्ने धम्की दिएका थिए।

तर दाहालको आग्रहमा किरातीले नोट अफ डिसेन्ट लेख्दै पार्टीमा नै काम गर्दै आएका छन्।





Comments

comments

Leave a Reply

21226